पश्चिम नेपालको कैलाली,कञ्चनपुर,बाँके, बर्दिया, दाङ र सुर्खेतका थारु समुदायले आज आइतबार अटवारी पर्व मनाएका छन्।
यो पर्व हरेक वर्ष कृष्ण जन्माष्टमी पछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन मनाइन्छ। अटवारी मूलतः थारु समुदायका पुरूषले मनाउने भए पनि महिला पनि अटवारी व्रत बस्ने गर्दछन्।
थारु समुदायको दोस्रो ठूलो पर्वका रूपमा रहेको अटवारी पर्व आज मनाइएको छ। माघी पछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्वका रूपमा थारु समुदायले यो पर्व मनाउने गर्छन्।
अटवारीको अघिल्लो दिन मध्यरातमा दर खाएर यो पर्व सुरू हुन्छ। दोस्रो दिन व्रत बस्ने र साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरी चोखो रूपमा रोटी, पूरी पकाएर अटवारी पूजा गर्ने चलन रहेको थारु समुदायका स्थानीय बताउँछन्।
अटवारी पूजामा रोटी, काँक्रो, दही, केरा, बेलौटी लगायतका अग्रासन झिकेर पूजा गरिन्छ।
५ अथवा ७ प्रकारका गेडागुडीयुक्त तरकारी र भातको पकाउने गर्दछन्। फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन छ। अटवारी पर्व परापूर्वकालदेखि चल्दै आएको थारु समुदायको माघी पछिको ठूलो चाड रहेको स्थानीयहरूको भनाइ छ।
अटवारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाइ र दिदीबहिनीबीच माया प्रेम साट्ने पर्वका रूपमा मनाइने गरिन्छ।
त्यस्तै, अटवारीलाई एकता, विजय तथा भ्रातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रूपमा मनाइने गरेको छ।