काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो। भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे।
प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान पशुपति क्षेत्रमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्थे। यस वर्ष कोरोनाको महामारीका कारण पशुपतिनाथ मन्दिर क्षेत्र सुनसान छ। उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजा बाहेक सबै गतिविधि बन्द गरिएको छ।
पशुपतिनाथको मूल मन्दिर चैतदेखि नै बन्द रहेको र परिसरमा पनि निषेधाज्ञाका कारण भक्तजन आउन नसक्ने भएकाले मेला व्यवस्थापनका लागि यस वर्ष तयारी नगरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउँछन्।
पशुपति क्षेत्रमा तीजको मेला लाग्दा तिलगङ्गाबाट चावहिलसम्मको चक्रपथको मूल सडकसमेत प्रभावित हुने गरेको थियो। चावहिलका ८१ वर्षीय वृद्ध श्यामसुन्दर केसी आफ्नो जीवनकालमा पहिलोपटक तीजको व्रतका दिन पशुपति क्षेत्र सुनसान देखेको बताउँछन्। साउनमा भने धेरै भक्तजनले पशुपतिमा परिसरसम्म पुगेर बाहिरबाटै दर्शन गरी फर्किएका थिए। तर यसपटक पशुपति क्षेत्र सुनसान छ।
नजिकै घर भएका केहि महिलाहरु मात्र मन्दिर पुगेका देखिन्थे। मन्दिरको गेटमा ताला लागेको छ। मन्दिर पुगेकाहरु पनि बाहिरै गेट बाहिरैबाट दर्शन गरेर फर्किएका थिए ।