काठमाडौंमा दश दिनको अन्तरालमा कोरोना संक्रमितको संख्या झण्डै तेब्बरले वृद्धि भएको छ भने भक्तपुर र ललतिपुरमा दोब्बरले वृद्धि भएको छ।
उपत्यकामा मात्रै झण्डै १५ सय कोरोना भाइरसका केस पहिचान भएका छन्।
तथ्याङ्क अनुसार दश दिनमै उपत्यकामा कोरोनाका संक्रमित दोब्बर पुगेको छ । सरकारले संक्रमितलाई राख्न भन्दै तोकेका अस्पताल भरिएका छन्। लक्षण देखिएका कतिपय बिरामीहरु समेत घरमै आइसोलेशनमा छन् ।
गत साउन १७ गते काठमडौंमा ४ सय २८, भक्तपुरमा ५८ र ललितपुरमा ९५ संक्रमित भेटिएका थिए। तर साउन २८ गतेसम्म आइपुग्दा काठमाडौंमा संक्रमितको संख्या झण्डै तेब्बरले वृद्धि भएर एघार सय ६५ पुगेको छ।
भक्तपुर र ललितपुरमा पनि संक्रमित संख्या दोब्बरले बढेको छ। भकत्पुरमा संक्रमित संख्या १ सय ४ पुगेको छ भने ललितपुरमा १ सय ९० पुगेको छ। तथ्याङ्कमा हेर्नुहोस् -
सरकारले उपत्यका प्रवेशका नाकामा कडाई गरेको भएपनि संक्रमितको संख्यामा कमी आएको छैन। सेतोपाटीलाई प्राप्त तथ्याङ्क अनुसार काठमाडौंमा देखिएका कतिपय संक्रमितको ट्राभल हिस्ट्री उपलब्ध छैन। अर्थात कतै नगएका व्यक्तिमा पनि संक्रमण देखिएको छ।पछिल्लो चरणमा ट्रेस गरिएका बिरामीहरुमा कोरोनाको लक्षण समेत देखिन थालेका छन् । ज्वरो र रुघाखोकीका लक्षण धेरैजसो बिरामीमा पाइएको छ।
उपत्यकामा किराना पसले देखि फलफुल बेच्नेसम्मलाई कोरोना संक्रमण देखिएको छ। यसले समुदायसम्मै कोरोना फैलिएको पुष्टि भएको छ। सरकारले घरबाटै काम लगाउन र आधा कर्मचारीलाई मात्र काममा खटाउन भनेपनि उपत्यकाका कार्यालयहरु निर्वाध सञ्चालन भैरहेका छन्। उपत्यका बजार पूर्णरुपमा खुल्दा त्यसले पनि संक्रमणको जोखिम बढाएको छ।
हेर्नुहोस् भिडिओ -