तेजाब (एसिड) पीडितहरुले आक्रमण गर्ने व्यक्तिलाई जन्मकैदको माग गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा उनीहरुले कमजोर दण्ड सजायका कारण एसिड प्रहार गर्ने घटनाहरु बढिरहेको बताए ।
एसिड आक्रमणबाट पीडित जेनी खडकाले कानूनमा दण्ड सजायको व्यवस्था कम हुँदा एसिड अक्रमणको घटना नरोकिएको बताइन्। ‘कानून अनुसार ५ वर्षदेखि ८ वर्ष सम्मको सजाय अनुहार नै कुरुप भएकाहरुलाई छ।
के अरु शरिरको कुनै अर्थ नै छैन', समितिमा जेनीले भनिन्, 'मेरो त हातभरी छ, घाँटीभरी छ, अनुहार त मेरो बचेको छ त्यो मेरो भाग्यले बचेको हो । जहाँ परेपनि आखिर पीडा त उस्तै नै हो ।'
उनले क्षतिपूर्ति भन्दा पनि उपचारको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताइन्।
एसिड आक्रमणबाट पीडित भएकी मुस्कान खातुनले एसिड प्रहार गर्ने अपराधीलाई जन्म कैद हुनुपर्ने माग गरिन्।
८ वर्ष सम्म कैद सजाय हुने भएपनि अपराधीले विभिन्न कारणले चार वर्ष मै उन्मुक्ति पाउने भएकाले सजाय कम भएको उनको तर्क थियो। 'हाम्रो यो दाग कहिले पनि जाँदैन । यो दाग हाम्रो जीवन भरिका लागि नै बस्छ', मुस्कानले भनिन्, 'त्यसैले अपराधिलाई जन्म कैद नै हुनुपर्छ ।’
एसिड आक्रमणबाट पीडित संगीता मगरले पनि सजाय कम हुँदा प्रतिशोध लिने बढेको बताइन् ।
समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले कानूनलाई समय सापेक्ष परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
त्यस्तै समन्वयका लागि महिला बालबालिका मन्त्रालयलाई निर्देशन गरेको छ। साथै समितिले एसिड सर्वसुलभ उपलब्ध हुने अवस्था भएकाले प्रतिशोधको हतियार बनेको उल्लेख गर्दै कडाई गर्न निर्देशन दिएको छ।
प्रतिनिधि सभाकै कानून न्याय तथा मानव अधिकार समितिमा नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले एसिड प्रहारको घटनामा परिवारका सदस्य वा नजिकका आफन्त धेरै रहेको बताए। बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तहरुबाटै एसिड आक्रमण बढी हुने गरेको थापाले तथ्याङ्क प्रस्तुत गरे। थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटना मध्ये ८ वटा बदलाको भावनाले घटेको उल्लेख गरे।
त्यस्तै महान्यायाधीवक्ता अग्नि खरेलले एसिड जस्ता रासायनीक पदार्थहरु आयात गर्ने उद्योग प्रतिष्ठान सम्बन्धि ऐन कानून भएपनि विक्रि वितरणका लागि कुनै कानून नभएको बताए। उनले एसिडको बिक्री वितरणका लागि कार्यविधि आवश्यक रहेको बताए।