पशुपति क्षेत्रको गुरुयोजनाको काम एक महिनालाई रोकिएको छ।
पशुपति नाथको मन्दिर रहेको क्षेत्रका सांसद गगन थापा र प्रदेश सांसद नरोत्तम बैद्य सहित सरोकारवालासँगको छलफलपछि पर्यटन मन्त्रालयले तत्काल गुरुयोजनाको काम रोक्न सहमति जनाएको हो।
पशुपति क्षेत्रका स्थानीयले बस्ती सार्ने र परम्परा मास्ने गरि गुरुयोजना निर्माण गरिएको उल्लेख गर्दै विरोध गर्दै आएका छन्।
संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले गुरुयोजनाको काम रोकेर छलफलका लागि तीन सदस्यीय समिति गठन गरेका छन्।
समितिले इतिहासविद्, स्थानीय र संस्कृतिविद्हरुसँग सल्लाह गर्नेछ।
पशुपति क्षेत्रमा वार्षिक १ करोड पर्यटन ल्याउने भन्दै पशुपति क्षेत्र विकास कोषले गुरुयोजना तयार पारेको हो। जसमा पशुपतिको पश्चिम ढोका भत्काउने, विगतमा राजपरिवारको शव जलाउन प्रयोग हुने घाटको चिता हटाउने लगायतका प्रस्ताव छन्।
पशुपति क्षेत्रको गुरुयोजना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी भैरहेको थियो ।