अविरल वर्षा पछिको बाढी-पहिरोले काठमाडौंसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको २४ घण्टा बितिसकेको छ।
धादिङ र चितवनको सीमा क्षेत्र बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर-१० स्थित मौवा खोलामा बगेको सडक मंगलबार अपरान्हसम्म मर्मत भएको छैन।
मौवाखोलास्थित सडक बगेको ठाउँ पुगेका धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सेतोपाटीलाई दिएको जानकारीअनुसार आज सडक सुचारू हुन सक्ने अवस्था छैन।
‘मौवाखोलामा करिब १५ मिटर सडक बगेको छ,’ प्रजिअ तामाङले भने, ‘ग्याबियन (तारजालीभित्र ढुंगा भरिएको) भरेर सडक खुलाउन सकिन्छ कि भनेर अध्ययन गरिरहेका छौं। आज सडक खुल्ने सम्भावना छैन।’
प्रजिअ तामाङका अनुसार बाढीले बगाएको सडक मर्मतका लागि ग्याबियन भर्ने र एकतर्फी रूपमा सवारी साधन चल्न सक्ने गरी सडक मर्मतको तयारी गरिएको हो।
‘पृथ्वी राजमार्गको धादिङतर्फ करिब १०/१५ वटा पहिरो हटाउने काम भइरहेको छ,’ उनले भने।
मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला गरी दुई सय भन्दा बढी पहिरो खसेका छन्।
मौवाखोलादेखि जवाङसम्म सडक क्षतविक्षत रहेको स्थानीय पत्रकार दानबहादुर गुरूङले जानकारी दिए।
‘जवाङ खोलामा स्थानीय ढुंगाखानीको टिपर, एक्साभेटरसमेत बाढीले बगाएको छ। घरहरू बगेको, भत्केको छ तर मानवीय क्षति छैन,’ गुरूङले सेतोपाटीसँग भने, ‘फिस्लिङदेखि जवाङखोला सम्मको सडकमा पहिरो नै पहिरो छ।’
पहिरो पन्छाउन मंगलबार दुइटा एक्साभेटर प्रयोग गरिएको छ। पृथ्वी राजमार्गकै तनहुँ खण्डको आँबुखैरेनी ऐनापहरा, विमलनगर, डुम्रे, नाहाला लगायतमा सडक अवरूद्ध रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
‘राजमार्गको सात/आठ ठाउँमा सडक अवरूद्ध छ। कतै सडक भासिएको छ कतै पहिरोले पुरिएको छ,’ उनले भने। बाढीका कारण टिपर पल्टिएका तथा गुडिरहेका मोटरसाइकल बगाएका भिडिओ सामाजिक सञ्जालमा भेटिएका छन्।