नेपालमा सलह किरा प्रवेश गरेको छ। पश्चिम क्षेत्रमा बुटवलमा सलहले बालीमा नोक्सानी समेत पारेको छ। सर्लाहीमा पनि सलह देखिएको छ।
सलह एक प्रकारको फट्याङ्गरा हो। यसले बालीको पात र फल खान्छ।
ठूलो क्षेत्र ओगट्ने गरि बाली नाश गर्ने सलहका कारण भोकमरी समेत आउन सक्छ।
यसलाई नियन्त्रण गर्नु चुनौतीपूर्ण छ। किट वैज्ञानिक नरेश डाँगी स्थानीय तहहरुले मिलेर यसलाई धपाउन सक्ने बताउँछन्।
हावाको दिशा अनुसार उड्ने सहललाई ठूलो आवाज बजाएर र धुवाँ पारेर उडाउन सकिन्छ।
'धपाउँदा एक व्यक्तिको खेत बारीबाट उडाए अर्को व्यक्तिकोमा गएर बस्न सक्छ', डाँगी भन्छन्, 'सबै मिलेर उडाउने हो भने त्यसलाई आकाशबाटै धपाउन सकिन्छ।' उनी विशादीको विकल्प अन्तिम उपाय भएको बताउँछन्। त्यस्तै रातको समय र चिसोमा उड्न नसक्ने भएकाले त्यसलाई जम्मा गरेर कुखरालाई दानाका रुपमा दिन सकिने डाँगीले बताए।
कृषि विभागका पूर्व महानिर्देशक डिल्लीराम शर्मा पनि नेपाल प्रवेश गरेको सहल नियन्त्रण गर्न सकिने अवस्थामा रहेको बताउँछन्। नेपालमा प्रवेश गरेको सहलको झुण्ड तीन लाखसम्मको भएकाले त्यसलाई नियन्त्रण गर्न सम्भव रहेको शर्माले बताए।
'नेपालमा दुई–चार लाखको समूहमा छन्। तर्सिनु पर्ने छैन', शर्माले भने, 'नियन्त्रण गर्न सकिन्छ। सरकारले नियन्त्रण गर्ने भनेको विषादीले हो।'
उनले गत साताको बिहिबार र शुक्रबार नेपालमा उत्तर–दक्षिण हावा चलेका कारण सहल प्रवेश गरेको बताए।
रातको समयमा सलह एकै स्थानमा बस्ने र बिहान घाम लागेपछि मात्रै सक्रिय हुने भएकाले त्यही समयमा सलहलाई मार्न सकिने शर्मा बताउँछन्।
कृषकहरुले अहिले धेरै ठाउँमा धानको बीऊ राखेकाले त्यसलाई जालीले छोप्नु उपयुक्त हुने उनको सुझाव छ।
'आफ्नो खेतमा जानबाट बचाउने उपाय गर्नुपर्छ', शर्माले भने, 'आवाजले तर्सिन्छ ड्रम ठोक्ने, थाल ठोक्ने, सकिन्छ भने म्युजिक बजाउने काम गर्नुपर्छ।'
उनले वयस्क सलह बढीमा दुई साता बाँच्ने बताए। नयाँ सलह जन्माउन गर्मी ठाउँ र मरुभूमी चाहिने भएकाले नेपालमा यसले अण्डा पार्न नसक्ने शर्माको भनाई छ। 'अण्डा पार्न राजस्थान पुग्नुपर्छ। अहिले प्रवेश गरेको सलहमा बच्चा पनि छन्। तिनीहरु बढीमा एक महिना बाँच्छ', शर्माले भने।