अफ्रिकाको सहारा मरुभूमि हुँदै भारत छिरेको सलह अर्थात 'डेजर्ट लोकस' ले अहिले त्यहाँको अन्नबालीमा ठूलो क्षति पुर्याइरहेको छ। सुरुमा राजस्थानमा देखापरेको यो कीरा बिहारसम्म आइपुग्ने भनिएको छ।
यही कारण बिहार हुँदै सलह नेपाल आउन सक्ने कुराले कृषि क्षेत्रमा चिन्ता थपेको छ। सरकारले सलह नेपाल आउने सम्भावना अध्ययन गर्न प्राविधिक समिति समेत गठन गरेको छ।
फट्याङ्ग्रा प्रजातिको यो कीराले बालीमा ठूलो क्षति पुर्याउँछ। नेपाल कृषि अनुसन्धान परिषद्का किट वैज्ञानिक डा. नरेश डाँगी भन्छन्, 'यो कीराले बालीको सबै कुरा खाएर अस्थिपञ्जर मात्र बाँकी राख्छ।'
विज्ञहरूका अनुसार सलह ठूलो समूहमा आहारा खोज्दै एक ठाउँबाट अर्को ठाउँ उड्ने गर्छ। भारतमा यो कम्तीमा ३ किलोमिटर फैलावटमा उड्दै बालीमा क्षति पुर्याइरहेको छ। यहीँ फैलावटमा सलह नेपाल प्रवेश गरेमा यसले बालीमा ठूलो क्षति पुर्याउने र त्यसले भोकमारीसम्म ल्याउन सक्ने डाँगीको बुझाइ छ।
उनले बिहारसम्म आइपुगे पनि सलह नेपाल प्रवेश गर्ने सम्भावना भने कम रहेको औंल्याए। 'यो कीरा हावाको दिशा अनुसार उड्ने गर्छ। नेपालमा हावाको दिशा भनेको पूर्वदेखि पश्चिम र पश्चिमदेखि पूर्व हो' डाँगीले भन्छन्, 'त्यसैले यो भारतबाट आउनसक्ने सम्भावना कम छ तर सावधानी हुनुपर्छ।'
अर्को कुरा भनेको सलहलाई अण्डा पार्न नेपाल उपयुक्त ठाउँ होइन। यसलाई अण्डा पार्नको लागि आफ्नो पेटलाई दशदेखि पन्ध्र सेन्टिमिटर गाड्न सक्ने बलौटे माटो चाहिन्छ। केहीगरी अण्डा पारीहाले पनि बच्चाको मृत्युदर बढी हुन्छ जसले गर्दा फेरि ठूलो झुण्ड बनाएर बालीमा क्षति गर्ने सम्भावना कम हुन्छ।
प्रतिकुलताकै कारण यो कीरा अण्डा पार्ने बेलामा सकभर आफ्नै पुरानो वासस्थान फर्किने डाँगी बताउँछन्। सन् १९८६/८७ तिर यो कीरा नेपाल आउनसक्ने भनिए पनि पछि आएको पाइएन।
यदि सलह नेपाल प्रवेश गरिहाले यसबाट हुने क्षति कम गर्न किसानहरूले केही विधिहरू अपनाउन सक्ने डाँगी सुझाउँछन्। जस्तै कीरा खाने चराहरूको प्रयोग गर्ने। मैना, हाँस, भंगेरा र चमेरा जस्ता चराहरूको प्रयोग गरेर यसबाट हुने क्षति कम गर्न सकिने उनको सुझाव छ।
अर्को भनेको यसलाई ठूलो आवाज दिएर पनि आफ्नो बाली क्षेत्रबाट भगाउन सकिन्छ। यो कीरा रातको समयमा उड्दैन। बिहान सूर्यको किरण शरीरमा परेको एकदेखि तीन घण्टामा यो सक्रिय हुने गर्छ। त्यही बेलामा कुनै ठूलो आवाज बजाएर यसलाई भगाउन सकिन्छ।
अन्तिम विकल्प भनेको विषादीको प्रयोग गर्ने। डाँगी भन्छन्, 'यो नै अन्तिम विकल्प हो। तर कुन विषादी कति प्रयोग गर्ने भन्ने कुरा सरकारले प्रोटोकल बनाउनुपर्छ।'
उनले यो कीरा नेपाल आइहाले यसलाई कुखुरा वा माछाको आहाराका रुपमा पनि प्रयोग गर्न सकिने बताए। उनी भन्छन्, 'यस्तो कीरामा धेरै प्रोटिन हुन्छ। त्यसैले जाल हानेर यसलाई माछा र कुखुराको आहाराको रुपमा पनि प्रयोग गर्न सकिन्छ।'
सँगै सलह नेपाल आउन सक्ने जोखिमलाई लिएर अहिलेदेखि नै स्थानीय तहहरूले सावधानीको लागि कदम चाल्नुपर्ने उनको सुझाव छ।
'यसले ठूलो क्षति गर्ने भएकाले अहिलेदेखि नै तीन तहकै सरकारले यसबाट हुने जोखिम आँकलन गरेर सावधानीको कदम चाल्नुपर्छ। त्यसको लागि तीन तहबीच राम्रो समन्वय आवश्यक पर्छ,' उनले भने।