आजदेखि सरकारले धेरै मानिसहरूको भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्जिदहरूमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ।
नेपाली जामे मस्जिद (धार्मिक स्थल) सञ्चालक समितिले संक्रमणबाट बच्न शुक्रबारको विशेष नमाज लगायतका हरेक दिन हुने अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ।
विश्वभरि कोरोना भाइरस (कोभिड—१९) को सन्त्रास फैलिरहेका बेला उपत्यकाका विभिन्न मस्जिदहरूमा कोरोनाभाइरसको जोखिम न्यूनीकण तथा रोकथामका लागि भन्दै नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो।
‘आफू पनि बाँचौं अरुलाई पनि बचाऔं’ भन्ने सन्देशसहित समितिले सरकारले गरेको अनुरोधलाई ध्यानमा राख्दै सक्दो सहयोग गर्न आग्रह गरेको छ।
समितिले आ-आफ्नो ठाउँबाट नमाज पढ्न पनि अनुरोध गरेको छ।
यसअघि सरकारले कोभिड-१९ को जोखिमबाट बच्न २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ।