प्रतिनिधी सभामा नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपालबहादुर बमले छाउगोठ भत्काइँदा कर्णालीका महिला स्याउला ओढेर बसेको दावी गरेका छन्। महिलाको अवस्था कस्तो छ भनेर बुझ्न सरकार तथा अधिकारकर्मीसँग उनले आग्रह गरे।
उनले कर्णालीका महिलाहरुले लगाउने कपडाको पनि विष्लेषण गर्नुपर्नेमा जोड दिए। ‘कर्णालीका महिलाले शहरीया महिलालेजस्तो कपडा लगाएर हिँड्दैनन्, नितान्त धोतीचोलो, गुन्यु लगाउँछन् सेनेटरी प्याडलाई सपोर्ट गर्ने कपडा पनि हुँदैन’ उनले भने।
सेनेटरी प्याड किन्ने पैसा त्यहाँका महिलासँग नहुने भन्दै उनले यसको समस्या समाधान गर्न सरकारसँग माग गरे। त्यस क्षेत्रमा एउटै कोठामा मन्दिर, भान्छा राखिने गरेको र चेतनाको कमीले पनि छाउपडी हुने गरेको उनले बताए।
सांसद बमले देशमा कोरोना संक्रमण, ललिता निवास जस्ता विषयले चर्चा पाइरहेका बेला पनि छाउप्रथाले संसद तथा सडकमा चर्चा पाउनु राम्रो रहेको उल्लेख गरे। ‘स्वाभविक रुपमा प्राकृतिक प्रकृया भएकाले महिनावारीका कारण कर्णालीका महिलाले पाएको पीडाको अन्त्य हुनुपर्छ’ उनले भने।
आफू छाउगोठ प्रथा भएको वातावरणमै हुर्केको र त्यहाँको पीडा थाहा भएको उनले बताए। ‘विभिन्न छलफल गोष्ठी भएपनि कर्णालीका महिलाको वास्तविक समस्या बाहिर आएको छैन’ उनले भने ‘बाध्यताले ती छाउगोठ बने, अब ती छाउगोठ भत्किसकेपछि महिलाले के गरिरहेका छन्?’
कर्णालीमा हिन्दु र बौद्ध धर्म मान्नेहरु रहेको भन्दै उनले बुद्ध धर्ममा यस्तो समस्या नभएको बताए। कर्णालीमा प्रायः दुई तले घर हुने गरेको बताउँदै उनले तल्लो तला गोठ र माथिल्लो तलामा मान्छे बस्ने गरेको बताए। कर्णालीबासीको आवश्यकता बुझेर सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए।