राष्ट्रिय सभा सांसद कोमल वलीले गायिका आस्था राउतलाई पक्राउ गर्नु नै गलत रहेको बताएकी छिन्। सांसद वलीले राउतको पक्राउ प्रकरणले एउटा नागरिकविरूद्ध राज्य नै उत्रिएको चरितार्थ प्रस्तुत भएको बताइन्।
उनले जिल्ला प्रशासन कार्यलय काठमाडौंले राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिनु नै गलत रहेको दाबी गरिन्।
कलाकारले सामान्य वादविवाद भएको विषयलाई सामाजिक सञ्जालमा उठाएकै आधारमा उसलाई थुनामा राखेर अनुसन्धान गर्ने कुरा कानुनको दुरूपयोग भएको उनले बताइन्।
‘मैले पनि भिडिओ हेरें। शरीरको हाउभाउ हेर्दा अलिक रिसाएको जस्तो देखिन्छ। त्यतिकै आधारमा पक्राउ गर्नु गलत निर्णय हो,’ उनले भनिन्।
सांसद वलीले राज्यले नागरिकलाई सधैं आफू सुरक्षित छु भन्ने कुराको प्रत्याभूति दिलाउनुपर्ने बताइन्।
‘राज्य नागरिकविरूद्ध उत्रिनु हुँदैन। सधैं संयम हुनुपर्छ,’ वलीले भनिन्।
उनले मंगलबार नै राष्ट्रियसभामा गायिका राउतबारे विषय उठाएकी थिइन्।
राउतलाई पक्राउ गरेर प्रहरीले कानुनको दुरूपयोग गरेको बैठकमा उनले बताएकी थिइन्।
गायिका राउत मंगलबार हिरासतबाट रिहा भएकी छिन्। राउत ४ हजार धरौटीमा छुटेकी हुन्।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठलाई दुर्व्यवहार गरेको उनीमाथि आरोप थियो।
प्रहरी जवान श्रेष्ठले जाहेरी दिएपछि माघ ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरूद्ध पक्राउ जारी गरेको थियो।
राउत आइतबार आफैं अभिभावकसँग महानगरीय प्रहरी परिसर पुगेकी थिइन्।