नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखका लागि सर्वसम्मत भएका छन्। प्रतिनिधिसभामा उनको विरूद्ध प्रतिपक्षी दलहरूले कुनै उम्मेदवार खडा गरेका थिएनन्।
प्रतिनिधिसभाको आइतबारको बैठकले सापकोटालाई सभामुखमा सर्वसम्मत भएको घोषणा गरेलगत्तै उनलाई पूर्वसभामुख ओनसरी घर्तीले खादा लगाइदिइन्,बधाई दिइन्। लगत्तै सुवास नेम्वाङले सापकोटालाई भेटेर बधाई दिए। तर सापकोटाको नजर भने प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ थियो।
सापकोटा प्रधानमन्त्रीलाई भेट्न आतुर थिए।
त्यसबीचमा सत्तापक्षको बेञ्चको पहिलो लहरमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई खादा लगाइदिए। अनि शुभकामना थिए। सापकोटाका वरिपरि सांसदहरू बधाई दिन जम्मा भैसकेका थिए।
तर सापकोटाले सांसदहरूलाई पर्खन आग्रह गर्दै प्रधानमन्त्री भएतिर दौडिए।
प्रधानमन्त्री केपी शर्मा ओली सत्तापक्षकै अन्य सांसद र मन्त्रीहरूसँग कुरा गर्दै थिए। सापकोटाले दौडिएर गएर प्रधानमन्त्रीसँग हात मिलाए। प्रधानमन्त्री ओलीले सापकोटालाई बधाई दिए।
सापकोटाले भने सभामुखका रूपमा आफूलाई चयन गरेकोमा ओलीलाई धन्यवाद भने।