प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामबारे समाचार लेख्ने मुटु र मन भएका सम्पादक नभएको बताएका छन्।
बालुवाटार स्थित निवासमा चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामहरुका विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरे। उनले सरकारले सडक मानव मुक्त गराएको, सडकमा सुत्ने बालबालिका हटाएको उल्लेख गरे। ‘हेर्दा यी साना कुरा लाग्छन् तर सामाजिक रुपमा यसले अर्थ लाग्छ । हामीले काम गरेका छौँ । त्यस्ता कामहरुको प्रशंसामा लेख्ने प्रशारण गर्ने टेलिभिजन छैन् । त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन्', ओलीले भने, 'त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । यदि छ्यास्सछुस्स कसैले लेखिहाल्यो भनेपनि गाली खान्छ। राम्रा कुरा पनि गर्न थालिस विग्रिन्छस भन्छन्, सकारात्मक कुरापनि गर्न थालिस भन्ने आउँछन् ।’
उनले सरकारले नेपाललाई भिखारीको देश नभएको सन्देश दिएको बताए।
ओलीले आफुले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रुपमाले लिने गरिएको भएपनि अहिले काम भइरहेको उल्लेख गरे। 'मैले जहाजका कुरा गरे, पूर्व पश्चिम रेलका कुरा गरे, उत्तर दक्षीण रेलका कुरा गरे अहिले त्यसको कामहरु लगभग सकिएर निर्माण भइरहेको छ । पहिले हामीलाई रोडको समस्या थियो । अहिले कोलकत्ता मात्रै होइन् विसखापट्टनम, मुम्बइ, पूर्व—पश्चिम सबै ठाउँबाट रोड छ । चीनसँग पनि हामीले विभिन्न सम्झौत गरेका छौ । धेरै नाकाहरु खुलिसकेका छन्’ उनले भने, ‘हाम्रो समाज छाउपडी र छाउगोठवाला समाज हो । हामी कहाँ छौँ भन्दा छाउपडीवालाहरुको दुनियाँमा छौँ । तर त्यस किसिमबाट बाहिर आउनुपर्छ । सामाजिक जागरणमा अगाडी बढ्नुपर्छ।’