पोखरामा नयाँ विमानस्थल बनाउन २०३० सालमा सर्भे भयो। त्यतिबेलादेखि नै पोखरेलीले यो आयोजना चाँडै बनोस् भनेर कामना गरेका थिए।
आन्तरिक विमानस्थलका लागि भनेर ३१ सय ५० रोपनी जग्गा आवश्यक पर्ने सर्भे रिपोर्ट अएपछि २०३२ सालमा जग्गा अधिग्रहण थालियो।
पञ्चायतकालमै विमानस्थलका लागि जग्गाको जोहो भए पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक थप जग्गा अधिग्रहण अहिले पनि जारी छ।
विमानस्थलमा भविष्यका लागि थप पार्किङ र ट्याक्सी वे बनाउने गरी जग्गा अधिग्रहण गरिएको छ। त्यस्तै विमानस्थललाई घेर्ने गरी सडक बनाउन थप जग्गा अधिग्रहण हुँदैछ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आवतजावतको चापले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको खोजी भइरहेको थियो। यसैक्रममा भैरहवा र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारले निर्णय गर्यो।
यो निर्णय गराउन र लागू गराउन पोखरेलीले पटक-पटक धर्ना, जुलुस, डेलिगेसनलगायतका दौडधुप गरे। पोखरामा आउने नेता र उच्चपदस्थ कर्मचारीलाई मात्र होइन, काठमाडौं र सिंहदरबारसम्म पुगेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग राखे। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निरन्तरको नागरिक खबरदारीले विमानस्थल बनाउने वातावरण बनाएको सम्झन्छन्।
‘पोखरामा नयाँ विमानस्थल बनाउने ४० वर्ष अघिको योजना अब क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पूरा हुँदैछ,’ मुल्मीले भने, ‘यो विमानस्थल सञ्चालनमा आएपछि पोखरा विश्वबजारसँग जोडिनेछ।’
अन्नपूर्ण हिमश्रृङ्खला, माछापुच्छ्रे हिमाल, मनास्लु, धौलागिरिलगायतका हिमश्रृङ्खला प्रष्ट देखिने यो हवाइमैदानमा अन्तर्राष्ट्रिय उडान र अवतरणका लागि रनवे (धावनमार्ग) तयार भइसकेको छ। ३ हजार ५ सय मिटर लामो र ४५ मिटर चौडाइ भएको रनवे ढलान गरेर बनाइएको छ।
विमानस्थल निर्माण गरिरहेको चिनियाँ सरकारी स्वामित्वको कम्पनी चाइना सिएमसीए इन्जिनियरिङका टर्मिनल क्षेत्र इन्चार्ज इञ्जिनियर लिउ झियु (एरिक)का अनुसार रनवेसँगै आन्तरिक र बाह्य उडानका जहाज पार्किङ क्षेत्र एप्रोन,ट्याक्सी वेलगायतका पूर्वाधार पनि तयार भइसकेका छन्।
अहिलेसम्म ५० प्रतिशतभन्दा बढी काम भइसकेको बताउँदै एरिकले भने, ‘विमानस्थल निर्माणको म्याद नसकिँदै विमानस्थल बनाइसक्छौं।’
आयोजना निर्माणमा १ सय ५० जना चिनियाँ र २५० जना नेपालीले काम गरिरहेको उनले जानकारी दिए।
अन्तर्राष्ट्रिय उड्ययन प्राधिकरण आइकाओको फोरडी मोडलमा बनाइएको यो विमानस्थलमा बोइङ ७३७ र एयरबस ३२० जहाजको उडान र अवतरण हुनसक्छ। यी जहाजमा झन्डै २ सय यात्रु अटाउँछन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले निर्माण सकिने समयमा उडानै नै भर्न सुरू हुने दाबी गरे। विमानस्थल बनाउन चिनियाँ कम्पनीलाई २०१७ जुलाई ११ मा कार्यादेश दिएको र २०१७ नोभेम्बर १ देखि विधिवत् रूपमा विमानस्थल निर्माण थालेको मनुकर्मीले बताए।
‘आयोजनाको म्याद २०२१ जुलाई १० सम्म हो, हामी म्यादअगावै सक्छौं,’ उनले भने, ‘डिसेम्बरसम्म टेस्ट फ्लाइट गरेर विमानस्थल सञ्चालन गर्ने गरी अघि बढेका छौं।’
विमानस्थल निर्माणसँगै सञ्चालनका लागि नेपाल टेलिकम, विद्युत प्राधिकरणलगायतसँग कुरा भइरहेको र नेपाल आयल निगमले इन्धन राख्नका लागि काम अघि बढाइसकेको उनले जानकारी दिए।
आयोजनाको टर्मिनल, ह्याङ्गर, ८ तले कन्ट्रोल टावरलगायत संरचना निर्माणको अन्तिम चरणमा रहेको उल्लेख गर्दै उनले फिनिसिङका काम भइरहेको बताए। सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको यो विमानस्थल पुग्न राजमार्गबाट ४ लेन सडक निर्माण पनि सकिन लागेको छ। यो सडक पनि रनवेको जस्तै ढलान गरिनेछ।
चीनको एक्जिम बैँकको ७५ प्रतिशत सहुलिय ऋण र २५ प्रतिशत अनुदानमा २१ अर्ब ६० करोड रुपैयाँ लागतमा यो विमानस्थल निर्माण भइरहेको हो।
हेर्नुहोस् भिडिओ -