प्रहरीले काठमाडौं उपत्यका लगायत देशभरका शहरहरुमा भाडामा बस्नेको विवरण संकलन गर्ने भएको छ। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई घरधनी मार्फत कोठा भाडामा बस्नेहरुको विवरण संकलन गर्न परिपत्र गरेको हो।
मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको निष्कर्ष गृह मन्त्रालयले निकालेको हो।
विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी विध्वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएको गृहले जनाएको छ। गृह मन्त्रालयले कस्तो खालको विवरण संकलन गर्ने भन्ने नमु्ना समेत बनाएर प्रहरीलाई दिएको छ। घरभाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण जानकारी एवम् छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरूको नियमित एवम् अद्यावधिक अभिलेख राख्ने निर्णय भएको गृह प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।
हेर्नुहोस् भिडिओ -