उपप्रधान एवम् कानुन मन्त्री उपेन्द्र यादवले सोमबार नयाँ मन्त्रालयको जिम्मेवारी सम्हाले। यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका यादवको मन्त्रालय उनी दिल्लीमा रहँदा नै प्रधानमन्त्रीले परिवर्तन गरिदिएका थिए। मन्त्रालय मात्र होइन यादवले प्रयोग गर्दै आएको गाडी समेत स्वास्थ्य मन्त्रलायले नै राख्यो।
सोमबार कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्न यादव आफ्नै गाडीमा सिंहदरबार पुगे। उनले स्वास्थ्य मन्त्रालयले गाडी राखेको तर कानुनले नपठाएका कारण आफूले निजी गाडी प्रयोग गरेको उल्लेख गरे।
'स्वास्थ्यको गाडी लगि हाले, यताको गाडी जान बाँकी छ। यो बीचको समयमा के गर्ने हिँडेर आउने', यादवले हाँस्दै भने, 'हिँडेर आउन पनि हुन्थ्यो हुन त तर ट्याक्सीमा चढेर आउनु भन्दा आफ्नै गाडीमा आएँ।’