२०७२ सालमा मेरो निश्चल बस्नेतसँग विवाह भयो। विवाह लगत्तै एकदिन फेसबुक स्क्रोल गरिरहेको थिएँ, न्युज फिडमा ‘स्वस्तिमालाई विवाहपछि ट्वाइलेट जान अफ्ठ्यारो’ भन्ने समाचार देखेँ।
मलाई समाचार देखेर अचम्म लाग्यो। जबकी मैले त्यस्तो कतै बोलेको थिइनँ। खोलेर पढेँ।
समाचारले म झसङ्ग भएँ। विवाह लगत्तै एकजनाले मेरो अन्तर्वार्ता फोनमा रेकर्ड गर्नु भएको थियो।
त्यो अन्तर्वार्तामा मैले स्कुलका दिनमा पाएको सजायबारे कुरा गरेको थिएँ। मैले कक्षा ४ मा पढ्दा पानीले रुझेका कारण टिचरले उठबस गराएको र ट्वाइलेट जानै अफ्ठ्यारो भएको बताएकी थिएँ। तर उहाँले हेडलाइनमा 'विवाहपछि' भन्ने शब्द जोडिदिनु भएछ।
सामाजिक सञ्जाललाई म दर्शकसँग कुराकानी गर्ने प्लाटफर्मको रुपमा बुझ्छु। म कुराकानी गरिरहेकै हुन्छु।
तर अहिले हामी सामाजिक सञ्जालको संक्रमणकालमा छौं। यसलाई हामीले राम्रो वा नराम्रो तरिकाले प्रयोग गरिरहेका छौं। सदुपयोग र दुरुपयोगबारे छुट्याउन सकिरहेका छैनौं।
म दिनमा १३ घण्टासम्म सामाजिक सञ्जालमा भुल्छु। एडिक्सन जस्तै भइसक्यो। खासै केही हुँदैन तर पनि फुर्सद हुनासाथ फेसबुक र इन्स्टाग्राम हेर्नेपर्छ। ट्वीटर चलाउँदिन, इन्स्टाग्राम आफैं चलाउँछु। इन्स्टामा व्यक्तिगत कुराकानी गर्छु। फेसबुक पेजमा अरु पनि एडमिन हुनुहुन्छ।
सामाजिक सञ्जालमा प्राय कामबारे पोस्ट गर्छु, स्टोरी हाल्छु। त्यसले म के गर्दैछु भन्ने कुरा अरुलाई थाहा दिन्छ।
त्यसो त फेसबुक एकपटक डिएक्टिभेट पनि गरेको थिएँ। फेसबुकमा अलिक नकरात्मकता बढ्यो जस्तो लाग्यो। फेरी दर्शकसँग जोडिने माध्यम आवश्यक हुन्छ भन्ने लागेपछि एक्टिभेट गरेँ।
त्यसो त म युट्युब पनि धेरै हेर्छु। मेरो आफ्नै युट्युब च्यालन छैन। नेपाली फिल्म सम्बन्धि कुरा धेरै हेर्छु। बलिउड, हलिउडका अन्तर्वार्ता हेर्छु।
अहिले युट्युब भन्ने वित्तिकै मान्छेहरु मोनिटरी भइसके। पैसा कमाउने, भ्युजको लागि दुष्प्रचार गर्ने ट्रेन्ड छ। पब्लिक फिगरलाई युट्युबको कन्टेन्टमा नचाहिँदो हेडलाईन राखेर दुष्प्रचार गरिएको छ।
मैले युट्युबरहरुलाई पत्रकार मान्दिन पनि भनेकी थिएँ। त्यसको अर्थ युट्युबरहरु आवश्यक छैन भन्ने होइन। तर एउटा क्यामेरा र बुम माइक बोकेर पैसा कमाउने मात्र सोचले आउनुभएकोलाई म पत्रकार मान्दिन। मैले मात्र हैन कसैले पनि मान्नुहुँदैन।
अहिले म युट्युबरहरुलाई फिल्टर गर्छु। भर्खरै मेरो फिल्म रिलिजमा पाँच वा छ वटा युट्युबलाई मात्र अन्तर्वार्ता दिए। एकवर्ष अघि बीस वटा युट्युबलाई दिन्थेँ।
तर अहिले मैले मात्र हैन सबै कलाकारले फिल्टर गर्न थाल्नुभएको छ। युट्युबमा आउने भ्युजले मेरो लागि अर्थ राख्छ। तर नचाहिँदो हेडलाइन राखेर एक लाखले हेर्नुभन्दा मैले जे बोलेको छु त्यहि कुरा पचास हजारले थाहा पाउनु महत्वपूर्ण लाग्छ।
सेलिब्रेटीबीच पनि सामाजिक सञ्जालमा कुराकानी हुन्छ। फिल्मलाई लिएर एकअर्काको पोस्ट सेयर गरिरहेका हुन्छौं। तर कहिलेकाहीँ घोचपेच पनि भइरहेको हुन्छ। मैले पनि थाहा नभएर कुनैबेला त्यस्तो गरेँ होला।
कुनै विषय मनपर्दैन भने व्यक्तिगत कल वा म्यासेज गरेर भन्दा राम्रो हुन्छ। फेसबुकमा स्टाटस लेखेर घोचपेच गर्ने, व्यङ्ग्य गर्ने कुरा चित्त बुझ्दैन। यो कुरा कलाकारबीच भन्दा पनि फिल्म निर्माणकर्ताबीच बढी छ। मैले छक्कापञ्जामा यस्तै केस भोगेको थिएँ।
मैले १९ वर्षको उमेरमा फिल्म करिअर सुरु गरेँ। त्यतिबेला एकदम राम्रो प्रतिकृया पाएँ। त्यसपछि मेरो निश्चलसँग विवाह हुने कुरा भयो। तर मान्छेहरुले यो कारणले र त्यो कारणले विवाह गर्न लागेको भन्दै नेगेटिभ कमेन्टहरु गरे।
त्यतिबेला धेरै नेगेटिभिटी भोगिसकेकाले होला अहिले त्यस्ता कमेन्ट आउँदा समेत सामान्य मान्न थालेको छु।
सामाजिक सञ्जालमा बिकिनी लगाएको फोटो हाल्छु। कमेन्टमा गाली र अपशब्द आउँछ। तर अहिले मलाई त्यसले कुनै असर गर्दैन। किनकि त्यसले मेरो भन्दा पनि लेख्ने मान्छेको व्यक्तित्व व्याख्या गर्छ। त्यस्तो कमेन्ट गर्ने धेरै अकाउन्टहरु फेक हुन्छन्। त्यस्ता अकाउन्टलाई म ब्लक गरिदिन्छु।
फेसबुकमा म र निश्चल साथी छैनौँ। यसको कारण छ तर अहिले भन्न मिल्दैन। कहिलेकाही जिस्किँदै फ्रेन्ड रिक्वेस्ट पठाउँछु तर उहाँले एसेप्ट गर्नुहुन्न, फेरी क्यान्सल गर्छु। उहाँले पछि छोराछोरीलाई हामी साथी छैनौं भनेर देखाउँछु भन्नुहुन्छ। हामी म्यासेन्जर र ह्वाट्सएपमा कुरा गर्छौं।
हामीले सामाजिक सञ्जालमा कसैलाई नराम्रो भन्नु अगाडि, कसैलाई नराम्रो लेख्नु अगाडि कम्तिमा अरुको स्थानमा आफूलाई राखेर हेर्नुपर्छ। त्यही कुरा मलाई कसैले लेख्यो भने कस्तो हुन्छ भनेर सोच्नुपर्छ।
सामाजिक सञ्जाल मान्छेहरुलाई बाँध्नलाई बनाएको हो तर अहिले त यस्तो लाग्छ यसले त झन मान्छेहरुबीच फाटो ल्याइरहेको छ।
सेतोपाटीका लागि स्वस्तिमा खड्कासँग विवेक राईले गरेको कुराकानीमा आधारित ।