नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले एकपछि अर्को विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा आबद्ध भइरहेका छन्। आइतबार उनी इंग्ल्यान्ड र वेल्समा आयोजना हुने 'द हन्ड्रेड' क्रिकेट प्रतियोगितामा आबद्ध हुन सफल भए। सन्दीपलाई ओभल इन्भिसिबल्सले १ लाख पाउन्ड (१ करोड ४७ लाख २५ हजार रुपैयाँ) मा भित्र्याएको हो। यो सँगै सन्दीपले कमाईमा लाखबाट करोडमा फड्को मारेका छन् ।
सन्दीप विदेशी लिगमा आबद्ध भएको यो सबैभन्दा ठूलो रकम हो। अप्रिल २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्समा २० लाख भारुमा आबद्ध भएपछि सन्दीपको चर्चा चुलिएको थियो। त्यसपछि सन्दीप विदेशी फ्रेन्चाइज लिगमा लगातार रोजाइमा परिरहेका छन्।
सन्दीपले अहिलेसम्म विदेशी लिगका लागि १५ पटक सम्झौता गरिसकेका छन्। सम्झौता रकम ७ लाख अमेरिकी डलर भन्दा माथि पुगिसकेको छ।
भारत, वेस्ट इन्डिज, क्यानडा, अस्ट्रेलिया, युएई, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, हङकङ लगायतका देशका फ्रेन्चाइज लिगमा सन्दीपले आफ्नो जादू देखाइसकेका छन्। आफ्नो खेल कौशलकै कारण सन्दीपको व्यवासायिक यात्रा पनि सफल बनिरहेको छ।
सन्दीप अहिलेसम्म आबद्ध भएका लिगमा उनको आम्दानी
२०१८ अप्रिल – आइपिएल (भारत) – २८ हजार अमेरिकी डलर (२० लाख भारु)
२०१८ जुन – ग्लोबल टी–२० (क्यानडा) – ४० हजार अमेरिकी डलर
२०१८ अगस्ट – क्यारेबियन प्रिमियर लिग (वेस्ट इन्डिज) – ५ हजार अमेरिकी डलर
२०१८ अक्टोबर – अफगानिस्तान प्रिमियर लिग – १५ हजार अमेरिकी डलर
२०१८ नोभेम्बर – टी–१० लिग (युएई) – ३० हजार अमेरिकी डलर
२०१८ डिसेम्बर – बिबिएल (अस्ट्रेलिया) – ६० हजार अमेरिकी डलर
२०१९ जनावरी – बिपिएल (बंगलादेश) – ६० हजार अमेरिकी डलर
२०१९ फेब्रुअरी – पिएसएल (पाकिस्तान) - ५० हजार अमेरिकी डलर
२०१९ मार्च – आइपिएल (भारत) – २८ हजार अमेरिकी डलर (२० लाख भारु)
२०१९ अगस्ट – ग्लोबल टी–२० (क्यानडा) – ६० हजार अमेरिकी डलर
२०१९ सेप्टेम्बर– क्यारेबियन प्रिमियर लिग (वेस्ट इन्डिज) – ७० हजार अमेरिकी डलर
२०१९ नोभेम्बर– टी–१० लिग (युएई) – ४५ हजार अमेरिकी डलर
२०१९ डिसेम्बर– बिबिएल (अस्ट्रेलिया) – ६० हजार अमेरिकी डलर
२०२० अप्रिल– आइपिएल (भारत) – कम्तिमा २८ हजार अमेरिकी डलर (२० लाख भारु)
२०२० जुलाई – द हन्ड्रेड लिग (इंग्ल्यान्ड) – १ लाख २९ हजार (१ करोड ४३ रुपैयाँ)