चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणपछि आइतबार दिउँसो स्वदेश फर्केका छन्। सीले नेपालमा २२ घण्टा समय बिताए।
उनी शनिबार अपरान्ह एयर चाइनाको विशेष जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु विमानस्थल पुगे।
सीलाई नेपाली सेनाले गार्ड अफ अनर दिएको थियो। लगत्तै सी होटल सोल्टी प्रस्थान गरे। होटलमा केहीबेर आराम गरेपछि सी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताको लागि शितल निवास पुगे।
त्यसपछि सी फेरी होटल सोल्टी फर्किए। सोल्टीमा सी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भयो। सीले त्यहीबेला राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि छोटो भेटवार्ता गरे।
भेटवार्तापछि सी राष्ट्रपति विद्यादेवी भण्डारीले उनको सम्मानमा आयोजना गरेको रात्रीभोजमा सरिक भए।
आइतबार बिहान सीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग भेटवार्ता गरे। त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय भेटवार्ता गरे। त्यसक्रममा नेपाल-चीनबीच १५ समझदारी र २ लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भयो।
आइतबार दिउँसो साढे १ बजे सी स्वदेश फर्किए।