बडादसैं सुरू भएसँगै ठूलो संख्यामा यात्रु राजधानीबाट बाहिरिने क्रम सुरू भएको छ।
गएको २४ घण्टामा १ लाख १२ हजार यात्रु राजधानीबाट बाहिरिएको ट्राफिक महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले जानकारी दिए। त्यस्तै, ६० हजार यात्रु राजधानी भित्रिएका छन्।
राजधानीका बसपार्क क्षेत्रमा यात्रुको चाप बढेको छ।
आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने भएको छ। आइतबार लामो दूरीका सवारी चालकलाई फूलमालासहित बिदाइ गरिएको छ।
गीतमार्फत् सुरक्षित यात्राको शुभकामना दिँदै लोक गायक बद्री पंगेनीले चालकलाई नचाएका थिए।
हरेक वर्ष दसैंमा ठूलो संख्यामा मानिसहरू राजधानी बाहिरिने गर्छन्।