चारपाँच वर्षअघिसम्म बिहानै पत्रिका पढ्ने मेरो बानी थियो। उठ्नासाथ पत्रिकाको स्पोर्टस् पेज हेर्थें। तर अहिले सबै कुरा सामाजिक सञ्जालमा आउँछन्। ब्रेकिङ न्यूजदेखि सबैको नोटिफिकेसन हातमै आउने भइसक्यो।
म फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्रयोग गर्छु। आफूलाई मनपरेको टिम वा क्रिकेटको बारेमा पोष्ट गर्छु। कसैले एकदमै राम्रो काम गरेको महशुस भए सेयर गर्छु।
म मोबाइलमा कुनै एउटा एप्लिकेसनलाई धेरै हेर्ने गर्दिनँ। फुटबल र क्रिकेटका केही एप्स छन्। म आफैं पनि दुई-चार वटा एप्स प्रमोट गर्छु। तर त्यति धेरै चलाउँदिनँ। सन् २०१४/१५ सम्म धेरै फेसबुक चलाउँथे। त्यसपछि ट्वीटर र इन्स्टाग्राम चलाउन थालेँ।
सामाजिक सञ्जाल हाम्रो जीवनको अभिन्न अंग जस्तो भइसक्यो। हामीले स्वीकार गरे पनि नगरे पनि सबै कुरा त्यसमै छ।
सन् २०१४ मा विश्वकपमा छनोट भइसक्दा समेत मेरो फ्यान पेज थिएन। मात्र एउटा व्यक्तिगत प्रोफाइल थियो। मलाई पब्लिकमा धेरै सक्रिय हुन मन पनि थिएन। साथीहरू त्यही प्रोफाइल पेजमा नै अटेका थिए।
तर एकाएक फेसबुकमा मेरा कति फेक अकाउन्ट र पेजहरु बनेछन्। तीन-चारवटा फेक पेजमा लाखौं फलोअर जम्मा भएछन्। त्यस्ता पेजहरु मध्ये एउटामा २० हजार, अर्कोमा ४० हजार र अर्कोमा झण्डै ८० हजार फलोअर्स थिए।
एक दिन मैले त्यस्ता पेजहरु खोलेर हेरेँ। त्यसमा पोष्ट भएका कन्टेन्टहरुमा मान्छेहरुले पारस नै सोचेर जवाफ दिइरहेका थिए। उनीहरुले मेरो फेक अकाउन्टबाट भएका पोस्टहरुलाई विश्वास गरिरहेका थिए।
त्यस्ता पेजहरुमा कसैले हिरोइनको फोटो हाल्दिनु हुन्थ्यो। कसैले राजनीतिक समाचार हाल्दिनु हुन्थ्यो। जसमा धेरै नेगेटिभ कमेन्ट थिए। 'खेल्न छाडेर यस्तोमा लाग्नुभयो भन्ने कमेन्ट हुन्थ्यो,' 'हिरोइनको फोटो देखेर तपाईं उहाँलाई मनपराउनुहुन्छ कि' भनेर कमेन्टमा आउँथ्यो। जबकी मलाई त्यसको बारेमा केही थाहा थिएन।
त्यसपछि नै हो मैले अफिसियल फ्यान पेज बनाएको, किनकि त्यो नबनाइ मान्छेहरूलाई परेको भ्रम चिर्न नसकिने रहेछ। फेरि, त्यो बेला नेपाल विश्वकपमा छनोट भएको बेला थियो। क्रिकेटको क्रेज एउटा हाइपमा पुगेको समय थियो। त्यस्तो अवस्थामा नेपाल क्रिकेट टिमको कप्तानले के भन्ने हो भनेर मान्छेहरू ख्याल गर्थे। मैले दुई-चार जना साथीभाइलाई राखेर एउटा अफिसियल पेज खोलेँ। त्यो पुराना पेजलाई रिप्लेस गर्न दुई-चार वर्षै लाग्यो। अहिले पेजमा ‘ब्लू टिक’ छ त्यसले अफिसियल भन्ने बुझाउँछ।
मेरो फ्यान पेजमा आउने कमेन्टहरूमा गाली धेरै छन्। किनकी मान्छेहरूको आकांक्षा बढी छ। त्यसलाई गाली भन्नु अलिक हतारो हुन्छ कि भन्ने पनि लाग्छ। हामीले खेल हार्दा उहाँहरूले गर्ने कमेन्ट र टिप्पणी भनेको नेपाली क्रिकेटप्रतिको आकांक्षा हो भनेर बुझेको छु। हामी कुनै खेल खेल्न जाँदा सामाजिक सञ्जालमा फ्यानहरूको धेरै कमेन्ट आउँछ। अहिले त सामाजिक सञ्जालमा फ्यानहरूले प्लेइङ ११ मा फलाना-फलाना खेलाडी राख्नुपर्छ, ब्याटिङ अर्डर यस्तो हुनुपर्छ भनेर समेत सुझाव दिनुहुन्छ।
कति मान्छेले सकारात्मक आलोचना गर्नुहुन्छ। 'दाइ, हामीले टस जितेर ब्याटिङ नगरेर फिल्डिङ गरेको भए हुन्थ्यो' भनेर लेख्नुहुन्छ। तर कतिपय मान्छेको कमेन्ट नकरात्मक बढी हुन्छ। 'खेल खत्तम हुनथाल्यो, खेलाडी सबै खत्तम, टिम नै परिवर्तन हुनुपर्छ, त्यो खेलाडी कामै छैन' भनेर टिप्पणी आउँछ, कमेन्ट आउँछ। यस्ता कमेन्टबारे हाम्रो क्रिकेट टिममै पनि छलफल भयो। कति खेलाडीलाई त यस्ता कमेन्टहरुले व्यक्तिगत रुपमै असर पारेको छ।
दुर्भाग्य भन्नुपर्छ नेपालमा खेलकुद अझै पेसा बन्न सकेको छैन। अहिले फुटबल, क्रिकेट र दुई-चार वटा खेलकुदमा अलिकति राम्रो हुन थालेको छ। हामी यसमा खुसी हुनुपर्छ किनकी खेलकुदले हामीलाई धेरै दिएको छ। धेरै खेलाडीहरूले निकै संघर्ष गरेका छन्। आफ्नो पारिवारिक पृष्ठभूमि राम्रो नहुँदा पनि देशको लागि भनेर लडिरहनुभएको छ। त्यसैले हामीले यसलाई प्रोत्साहन गर्नुपर्छ।
खेल हार्दा हामी सबैले गाली खाएका छौं। जित्दा ताली पाएका छौँ। हार्दा गाली खानु स्वाभाविक हो तर त्यो व्यक्तिगत हुनु भएन। म पनि खेल हार्दा सामाजिक सञ्जालबाट अलिकति टाढै बस्न खोज्छु। जित्दा अलिकति चलाउन खोज्छु। टाढा बस्नुको अर्थ ध्यानै नदिने भन्ने होइन। त्यस्तो अवस्थामा पनि आउने टिप्पणीहरु फलो गर्छु। मानवीय स्वभाव नै आफूले राम्रो गरेकोमा कसले के भन्यो भनेर हेर्न मन लाग्ने हुन्छ।
सबैलाई आफ्नो आलोचना लिन पक्कै गाह्रो हुन्छ। तर यो नि एउटा पाटो हो। यदि तपाईं देशको लागि खेल्नुहुन्छ भने त्यहाँ धेरै मान्छेहरु छन् जसले राम्रो कामना गर्छन् भन्ने सोचेर अगाडि बढ्नुपर्छ।
मलाई याद छ, सन् २०१४ मा बंगलादेशमा विश्वकप खेलिसकेपछि धेरै राम्रा राम्रा मेसेज आए। कोही फिनल्यान्डबाट, कोही अमेरिकाबाट त केही साथी अष्ट्रेलियाबाट सन्देश लेखिरहनु भएको थियो। स्टार स्पोर्टसमा नेपाली राष्ट्रिय टिमलाई हेरेर हाम्रो राष्ट्रिय गीत सुन्दा 'आँखाबाट आँशु नै आयो पारस दाइ' भन्ने मेसेजहरु आए।
अन्तर्राष्ट्रिय क्रिकेटको कुरा गर्दा भारतको विराट कोहली सबैभन्दा सफल क्रिकेटर मानिन्छ। उसले जति राम्रो गरे पनि कमेन्ट हेर्न थाल्यौं भने नेगेटिभ बढी नै हुन्छ। किनकी हाम्रो प्रवृत्ति कस्तो छ भने राम्रो कुरा भन्दा नराम्रो कुरा गर्न हामी रूचाउँछौं।
अहिले म सचेत ढंगले पेज चलाउँछु। टिमले राम्रो गर्यो भने केही लेख्छु। आफूलाई व्यक्तिगत कुनै फोटो मन परेको छ भने फ्यान पेजबाट सेयर गर्छु। त्यो बाहेक मैले प्रोमोट गर्ने ब्रान्डहरूलाई पनि ठाउँ दिन्छु।
सामाजिक सञ्जालका प्रयोगकर्ता धेरै बाठा भैसकका छन्। आफूले क्रिकेट खेलेको कुनै फोटो राखेँ भने त्यसमा धेरै लाइक आउँछ। तर फेरि ब्रान्डको फोटो हालेँ भने धेरै लाइक आउँदैन।
म इन्स्टाग्राममा भने बढी आफ्नो पर्सनल फोटो राख्छु।
आजकाल सामाजिक सञ्जाल प्रयोगकर्तासँग समय धेरै कम छ। हेडलाइन हेरेर सामाचार नपढी टिप्पणी गर्ने बानी देख्छु। त्यसो त पुरै कन्टेन्ट पढ्ने मान्छेलाई फुर्सद पनि हुँदैन। तर अहिले युट्युबहरूले गलत हेडलाइन प्रयोग गर्ने गरेका छन्। एउटा डिएसएलआर क्यामेरा हुनुवित्तिकै, फोटोग्राफर भिडिओग्राफर हुने चलन आइसक्यो। सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने केही साधन अहिलेसम्म छैन। कस्ले के लेख्छ, कस्ले के पोष्ट गर्छ हेर्ने निकाय छैन। त्यही भएर युट्युबरहरू अझ उत्तरदायी हुनुपर्छ। किनकी यसले व्यक्तिगत रूपमा कतिलाई असर पनि गरेको छ।
अहिले पपुलारिटी कमाउन जे पनि गर्ने ट्रेन्ड बसेको छ। पपुलारिटी पाउने एउटा कुरा हो तर कसैको व्यक्तिगत कुरालाई उजागर गरेर ल्याउनु राम्रो हुँदैन। व्यक्तिगत तहमा टिप्पणी आउन थालेपछि अहिले हामीले पनि टुर्नामेन्टको बेला सामाजिक सञ्जाल नचलाउनु भनेर खेलाडीलाई भन्ने गरेका छौं।
सामाजिक सञ्जाल प्रयोगकर्ता धेरै राजनीतिक पनि छन्। कुनै नेतासँगको फोटो राख्दा त्यसका कमेन्टमा राजनीतिक रंग देखिन्छ। कुनै राजनितिज्ञको फोटो पोष्ट गरेको छ भने यो त कांग्रेस हो है, यो त माओवादी हो, यो त एमाले भयो है भन्ने खालको सोच छ।
मलाई याद छ,पछिल्लो १४/१५ वर्षको बीचमा म आफैंले कति प्रधानमन्त्रीलाई भेटेको छु, कति खेलकुदमन्त्रीलाई भेटेको छु। अब उहाँहरूले भेट्न बोलाउँदा भेट्न जानु हाम्रो जिम्मेवारी हो। त्यसरी भेटेको फोटोमा पनि यो त कांग्रेस, यो त माओवादीतिर लागेछ भनेर टिप्पणी आउँछन्।
सामाजिक सञ्जालमा कहिलेकाहीँ खेल हारेर आएको बेला ब्रान्ड प्रमोसनको फोटो हाल्यो भने खेल्नुसेल्नु छैन खाली ब्रान्ड प्रमोट गरेको छ भन्ने कमेन्ट आउँछ। म अहिले समय मिलाएर मात्र सामाजिक सञ्जालमा एक्टिभ हुन्छु। दुई चारजना भाइले यस्तो राम्रो वा यस्ता टिप्पणी मेसेजमा आएको छ भनेपछि खोलेर हेर्छु।
सामाजिक सञ्जाल बलियो माध्यम हो। त्यसैले हामी उत्तरदायी हुनुपर्छ। तपाईंले कुनै पोष्ट गर्नुहुन्छ भने त्यसको महत्व होस्। आफ्नो फोटो नै हाल्नुहुन्छ भने त्यसले पनि महत्व राखोस्।
पारस खड्कासँग सोसल मिडिया बहस श्रृंखलाका लागि सीताराम कोइराला र विवेक राईले गरेको कुराकानी।