केपी शर्मा ओलीको संसद विघटन निर्णयविरूद्ध माधव नेपालको पक्षमा लागेका र पार्टी फुटपछि उनको साथ छाडेर फेरि ओलीतिरै फर्केका एमाले नेताहरूले जारी दसौं महाधिवेशनमा सर्वाधिक भोट ल्याएका छन्।
पदाधिकारीका तीनवटा पदका लागि भएको निर्वाचनमा उपाध्यक्षतर्फ अष्टलक्ष्मी शाक्यले सबभन्दा बढी १ हजार ९ सय ७६ मत ल्याएकी छन्। उनी एमालेकी पुराना नेतामध्ये एक हुन्। विगतमा माधव नेपाल समूहमा रहँदै आएकी शाक्यलाई ओलीले आफ्नो पक्षमा ल्याएर बागमती प्रदेशको मुख्यमन्त्री बनाएका थिए। उनी दुई महिना मुख्यमन्त्री रहेकी थिइन्।
एमालेमा अहिले भएका महिला नेतामध्ये उनी सम्भवत: सबभन्दा सिनियर हुन्। नवौं महाधिवेशनमा पनि उनी माधव नेपाल समूहबाट उपाध्यक्ष निर्वाचित भएकी थिइन्।
उपाध्यक्षतर्फ दोस्रो बढी मत ल्याउने सुरेन्द्र पाण्डे पनि माधव नेपालको पक्षमा लागेर पार्टी फुटेपछि ओलीतिर आएका नेता हुन्। उनले पाएको मत १ हजार ९ सय २५ छ।
शाक्य र पाण्डेले पाएको मत सुरूदेखि ओली समूहमा रहेका र उनका विश्वासपात्र भनी चिनिएका विष्णु पौडेल र सुवास नेम्वाङभन्दा बढी हो। विष्णु पौडेलले १८५६ र सुवास नेम्वाङले १८६५ मत पाएका छन्।
उपाध्यक्ष जित्नेमा युवराज ज्ञवालीको मत १८४२ छ भने सबभन्दा कम मत माओवादीबाट एमालेतिर आएका रामबहादुर थापाको छ। थापाले १७६८ मत ल्याएका छन्।
ओलीको सर्वसम्मतिको सूचीविरूद्ध उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसालले भने सबभन्दा कम ७२५ मत पाए। उनले पाएको मत कुल महाधिवेशन प्रतिनिधि संख्याको एकतिहाइ हो।
सचिव पदका लागि भएको निर्वाचनमा पनि विगतमा माधव नेपाल समूहमा रहेका र पार्टी फुटपछि नेपालको साथ छाडेर ओलीतिर लागेका गोकर्ण विष्टलाई महाधिवेशन प्रतिनिधिहरूले सबभन्दा बढी मत दिए। विष्टले १ हजार ९ सय ७६ मत ल्याएका छन्।
सचिवतर्फ योगेश भट्टराईले १९६४, पद्मा अर्यालले १८००, छविलाल विश्वकर्माले १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायामाझीले १७०० र रघुवीर महासेठले १५१३ मत ल्याए।
ओलीको सर्वसम्मत सूचीविरूद्ध सचिवमा उम्मेदवारी दिएका भीम आचार्यले १३०० र टंक कार्कीले ५०० मत पाएका छन्।
अष्टलक्ष्मी, सुरेन्द्र र गोकर्णले सर्वाधिक मत ल्याउनुलाई कतिपयले पार्टी फुट्ने क्रममा संस्थापन पक्ष नछाडेको भनी महाधिवेशन प्रतिनिधिहरूले 'पुरस्कृत गरेको' अर्थमा लिएका छन्।