नेकपा (एमाले) को दसौं महाधिवेशन मंगलबार सकिने भएको छ। नयाँ नेतृत्वका लागि भएको मत परिणाम सार्वजनिक भएसँगै चितवनमा भएको एमालेको महाधिवेशन सकिनेछ।
विद्युतीय भोटिङ मेसिन प्रयोग गरी गरिएको मतदानको परिणाम अब केही घन्टाभित्रै आउने छ।
एमाले महाधिवेशन प्रतिनिधि भने मतपरिणाम सार्वजनिक हुनुअघि नै सौराहाबाट बाहिरिन थालेका छन्। देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले सौराहामा चार रात बिताएका थिए। तीमध्ये तीन रात त उनीहरूले राम्ररी सुत्न पनि पाएनन्।
केही प्रतिनिधिहरू टेम्पो चढेर बाहिरिए भने केही आफ्नै गाडीमा सौराहाबाट बाहिरिएका छन्।
१० गते नारायणी किनारमा उद्घाटन गरिएको महाधिवेशन १२ गते सकिने कार्यतालिका थियो। त्यही बीचमा मतदान पनि सक्ने भनिए पनि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व छान्न प्रयास गरेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको थियो। ओलीले सर्वसम्मतिका लागि तयार पारेको सूचीका विभिन्न पदमा अरूले पनि दाबी गरेपछि मंगलबार बिहानमात्रै मतदान सुरू भएको थियो।
बिहान झन्डै ११ बजे सकिएको मतदानपछि प्रतिनिधिहरू घर फर्किएका हुन्।
राजनीतिक दलहरूले पाँच-पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने कानुनी प्रावधान छ।