नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले खानपिन र आहारविहारको संस्कृतिले नयाँ नयाँ रोग विकास भएको बताएका छन्।
पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले पर्यावरण विनाश, पृथ्वीको तापक्रममा वृद्धि, जलवायु परिवर्तन, पुँजीवादी उत्पादन प्रणालीले सिर्जना गरेको खानपिन र आहारविहारको संस्कृतिले नयाँ नयाँ रोगको खतरा बढेको उल्लेख गरेका छन्।
'उच्च रक्तचाप, डायबिटिज, क्यान्सर, मुटुरोग, किड्नी फेलजस्ता रोग गुणात्मक र भयावह रूपले विकास भइरहेका छन्।नयाँ नयाँ रूपमा भाइरस आक्रमण हुने प्रक्रिया र अहिलेको कोरोना महामारीसम्म हेर्दा मानव जातिमाथि नै हमला भइरहेको देखिन्छ,' प्रचण्डले भनेका छन्, 'स्वास्थ्य क्षेत्रमा देखा परिरहेका समस्या सामना गर्न वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नुपर्छ। मानिसको दैनिक जीवनचर्या, खानपिन, शारीरिक अभ्यास, खेलकुद, योगासन लगायत स्वास्थ्य जीवनमा आवश्यक चेतना अभिवृद्धिका निम्ति ठोस पहल गर्नुपर्दछ।'
पार्टीका तर्फबाट सबै तहमा स्वस्थ्य जीवनका लागि आवश्यक ठोस नीति, योजना र कार्यक्रम बनाई आमजनतालई प्रशिक्षित गर्न जोड गर्नुपर्ने प्रचण्डले उल्लेख गरेका छन्।