नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्गीय अन्तरविरोध इतिहासकै सबभन्दा विकराल अवस्थामा रहेको बताएका छन्।
पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले विज्ञान प्रविधिका आविष्कार पुँजीपतिहरूको नाफा कमाउने साधनका रूपमा प्रयोग भएको उल्लेख गरेका छन्।
'पर्यावरण विनाशले पृथ्वीको तापक्रममा वृद्धि, हिमाल र हिमपात पग्लने र समुद्री सतहमा वृद्धिका कारण पृथ्वीको अस्तित्व नै संकटमा पर्दै गएको छ। जबसम्म विज्ञान प्रविधिका आविष्कार पुँजीपतिहरूको हातमा नाफा कमाउन सहयोग गर्ने साधनका रूपमा प्रयोग हुन्छन्, तिनले प्रकृति, समाज र मानव जातिको हितमा स्वतः काम गर्न सक्दैनन्,' प्रतिवेदनमा भनिएको छ, 'भूमण्डलीकरण, साम्राज्यवाद र वित्तीय पुँजीवादले विज्ञान प्रविधिको प्रयोगबाट उत्पादक शक्तिको विकास गरी अत्यधिक नाफा केन्द्रित गरे पनि उत्पादन सम्बन्धका दृष्टिले धनी र गरिबबीचको खाडल झन् भयानक बन्न गएको तथ्य स्वयं पुँजीवादी अर्थशास्त्रीहरूले नै स्वीकार गरेका छन्।'
उनले विश्वका सय जना धन कुवेरहरू मिलेर खरिद गर्न चाहेमा विश्व नै खरिद गर्न सक्ने भयावह स्थिति बनेको उल्लेख गरेका छन्।
'संसारको कुल जनसंख्याको झन्डै ७० प्रतिशत जनता अल्पविकसित र विकासशील देशहरूमा छन् जसको साथमा संसारको कुल सम्पत्तिको १५ प्रतिशत मात्र छ,' उनले प्रतिवेदनमा भनेका छन्, 'झन्डै ८५ प्रतिशत सम्पत्ति २५ प्रतिशत जनसंख्या रहेका धनी देशहरूमा केन्द्रित छ। त्यो सम्पत्तिको अत्यन्त ठूलो हिस्सा तिनै धनी देशका सीमित धनाढ्यहरूको कब्जामा छ।'