नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रति आशक्ति बढेको निष्कर्ष निकालेका छन्।
यो स्थिति बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव नहुने उनले उल्लेख गरेका छन्।
पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले जनताले माओवादी र अन्य पार्टीमा खासै भिन्नता नदेखेको बताएका छन्।
'सांस्कृतिक रूपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको अनिवार्य सर्त हो। पार्टीका नेता-कार्यकर्ताको दैनिक आचरण, सम्पर्क सम्बन्ध, जीवन पद्धति, लवाइखुवाइ, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता-कार्यकर्ता र जनताबीचको सम्बन्ध वैयक्तिक, सामूहिक र सार्वजनिक जीवन आदिका रूपमा पार्टीको सांस्कृतिक स्तर र पहिचान व्यक्त भइरहेको छ,' प्रचण्डले भनेका छन्, 'सांस्कृतिक रूपान्तरणको विषयलाई प्रत्येक कमिटीले विचार, राजनीतिक संगठन र आचारणको तहबाट गम्भीर बहस र छलफलसहित साझा निष्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनाबद्ध पहल गर्नुपर्दछ।'