नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र सुरू भएको छ। बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ ।
सात सदस्यीय अध्यक्षमण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जन राखिएको छ ।
बन्दसत्र हलमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन सबै प्रतिनिधिलाई उपलब्ध गराउने कार्यक्रम छ।
अध्यक्षले आफ्नो प्रतिवेदनमा भएका विषयलाई थप व्याख्यासहित राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्ने कार्यक्रम रहेको छ।
सबैलाई प्रतिवेदन वितरण हुनेछ। त्यसपछि १६ सय जनालाई समूह बनाएर प्रतिवेदनमाथि छलफल हुनेछ। समूहगत छलफलपछि एकीकृत सुझाव पेस गर्ने कार्यक्रम रहेको छ।
यस्तै अध्यक्ष प्रचण्डको प्रतिवेदनले क्रान्तिकारी विचार र पार्टी निर्माण गर्न नसक्ने भन्दै अर्का केन्द्रीय सदस्य राम कार्कीले समेत प्रतिवेदन पेश गर्ने तयारी गरेका छन्। अध्यक्ष प्रचण्डले कार्कीलाई तत्काल प्रतिनिधि समक्ष प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। कार्की भने प्रचण्डको प्रतिवेदन अध्ययन गरेर मात्रै अघि बढ्ने योजनामा छन्।
त्यसैगरी आज स्थायी समिति सदस्य देव गुरुङले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावसमेत पेश गर्ने कार्यसूची रहेको छ।
हेर्नुहोस् तस्बिरहरू