कर्णाली प्रदेशका दुई जिल्ला जाजरकोट र रूकुम पश्चिमले इतिहासमै पहिलोपटक केन्द्रीय सदस्य पाएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट जाजरकोटका राजिव विक्रम शाह र रूकुम पश्चिमका मानबहादुर नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
शाह र नेपाली दुबैले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए। शाहले भूगोलबाट र नेपालीले दलित खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए।
शाह पहिलो पटक केन्द्रीय सदस्यमा भिडेका हुन भने नेपाली १३औं महाधिवेशनमा पराजित भएका थिए। त्यतिबेला उनी संस्थापन इतरमा थिए।
जितपछि सेतोपाटीसँग कुरा गर्दै शाहले सबैभन्दा पहिला नेपाली कांग्रेसलाई गाउँ फर्काउन जरूरी रहेको तर्क गरे।
उनले नेता केन्द्रित हुन नहुने र गुट हाबी बन्न नहुने सुझाए। पार्टी भित्र नेता कार्यकर्ताबीच मजबुत एकता आवश्यक रहेको शाहले बताए।
‘हिजोसम्म आन्तरिक चुनाव थियो। एक आपसमा प्रतिपर्धा भयो अब त्यसलाई यहीँ बिर्सेर सबैलाई समेटेर स्थानीय चुनावमा लाग्नुपर्छ,’ शाहले भने, ‘अब कांग्रेसले बहुमत प्राप्त गरेपछि मात्रै संविधानलाई स्थायित्व दिन सम्भव हुन्छ, लोकतन्त्र बजबुत हुन्छ र जनताले विकास पाउन सक्छन्।’
उनले लोकतन्त्रलाई नागरिकको घर आँगनमा पुर्याउन आवश्यक रहेको तर्क गरे।
केन्द्रीय सदस्य शाहले जाजरकोटबाट २०७० सालमा संविधानसभा निर्वाचन जितेका थिए।
बेलायत र अमेरिकामा अध्ययन गरेका शाह जाजरकोटबासीकै करकापले राजनीतिमा आएको बताउँछन्। ‘म धेरै भाषण गरेर भन्दा पनि सेवा गरेर नै अगाडि बढिराखेको छु,’ उनले भने, ‘परिस्थितिले डोर्याउँदै राजनीतिमा ल्याइपुर्यायो।’
उनी जिल्लावासीलाई कुनै ठूलो समस्या पर्नासाथ आफैं खटिन्छन्। ‘उहाँले जिल्लामा विद्यालय सञ्चालन गर्न र अस्पताल सञ्चालन गर्न पनि सहयोग गर्नुभएको छ,’ एक जिल्लाबासीले भने, ‘उहाँ जत्तिकै जनताको सुख दुःखमा साथदिने नेताको जाजरकोटलाई अथाहा खाँचो छ।’
दश वर्ष पहिले जाजरकोटमा झाडापखालाको महामारी फैलिँदा नेता शाह आफैं हेलिकोप्टर लिएर सर्वसाधारणको उपचारमा सहयोग गरेका थिए। त्यहीँ घटनादेखि नै उनको पहिचान स्थापित भएको ती जिल्लाबासीले भने।
त्यस्तै नेपाली दलित समुदायबाट नेपाली कांग्रेस भित्र जिल्ला पार्टी सभापति हुने नेपालकै पहिलो नेता हुन्।
राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्षसमेत रहेका नेपाली माओवादीको उद्गमस्थल रूकुममा ज्यानको बाजी थापेर कांग्रेसको बिउ जोगाएको बताउँछन्। ‘हामीलाई ज्यान मार्ने र सफायाका धम्कि कति आए कति,’ उनले भने, ‘तर, हामी बिपीको निष्ठा र आदर्शबाट कहिलै बिचचिल भएनौं।’ रूकुममा मात्रै आस्थाका आधारमा कांग्रेसका ८४ नेता कार्यकर्ताको हत्या भएको भन्दै उनले आफूले जित्दै गर्दा ती सबैको त्यागलाई सम्मान गर्ने नेपालीले बताए।
‘जति मास्न खोजिएपछि प्रजातन्त्र कहिलै मासिएन बरू आज कांग्रेस मास्छौं भन्नेलाई कांग्रेसले अस्तित्व जोगाइदिनुपर्ने अवस्थामा आएको छ,’ नेता नेपालीले भने, ‘म अब त्यसैगरी पार्टी भित्र सामाजिक, सांस्कृतिक र आर्थिक उत्पिडनमा परेकाको आवाज बुलन्द पार्ने अभियानमा लाग्नेछु।’
रूकुम जस्तो विकट भूमिबाट आफूले कांग्रेस आन्दोलनमा लाग्दा र दलित आन्दोलनको नेतृत्व गर्दा कयौं चुनौतिको सामना गर्नुपरेको स्मरण गरे।
उनले भविस्यमा पनि ग्रामिण भेगका उत्पीडित समुदाय, गरिब बर्गको उत्थानको लागि केन्द्रीय सदस्यको हैसियतले निरन्तर आवाज उठाइ रहने बताए।
बिपीले परिकल्पना गरेको समतामुलक समाज निर्माण गर्न, समाजवादीको अवधारणा ब्यवहारिक रूपमा लागू गर्न तथा दलित समुदायको भबिस्य स्थापित गराउन खरो रूपमा उत्रने नेपालीले जोड दिए।
‘नेपाली कांग्रेसमा दलित किन लाग्ने? भन्ने भ्रम कम्युनिष्टले फैलाउने गरेका छन्,’ नेता नेपालीले भने, ‘बिपीका सपना ब्यवहारिक रूपमा लागू भए कांग्रेस जत्तिकै राम्रो पार्टी दलित र उत्पीडनमा परेका समुदायका लागि अरू कुनै छैन।’
त्यस्ता वर्गको उत्थानका लागि नीति निर्माण र अधिकार स्थापित गराउने कार्यमा भविस्यमा पनि काम गर्ने नेता नेपालीले वाचा गरे । ‘पछाडि पारिएको समुदायलाई बाटो देखाउने मेरो हर प्रयास रहने छ,’ उनले भने, ‘जातीय, क्षेत्रीय उत्पीडनमा परेकाका लागि पार्टी भित्रै न्याय स्थापित गर्न म लागिपर्नेछु।’