बत्तीस वर्षको राजनीतिक अनुभवपछि जीवन परियार गत साता नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भए। पार्टी रूपान्तरणको मुद्दा उठाएका शेखर कोइराला प्यानलबाट उनी सहमहामन्त्री चुनिएका हुन्।
उनै परियारसँग कांग्रेसले बोकेको सामाजिक मुद्दा, उनको राजनीतिक जीवन र आगामी योजनाबारे हामीले कुराकानी गरेका छौं।
२०४६ को जनआन्दोलन हुँदा उनी कास्कीको तत्कालीन थुमेकी गाविस (अहिले रूपा गाउँपालिका) मा ८ कक्षा पढ्थे। त्यतिखेर पञ्चायती व्यवस्थाविरूद्ध राजनीतिक पार्टीहरू संघर्ष गरिरहेका थिए। त्यसको असर गाउँगाउँमा पुगेको थियो। परियारको गाउँ पनि आन्दोलित थियो। गाउँलेहरू पञ्चायतले समाजमा भेदभाव गरेको भन्थे।
'पञ्चायत फालेपछि देशमा प्रजातन्त्र आउँछ अनि जातपातका आधारमा हुने भेदभाव अन्त्य हुन्छ भनेर गाउँका दाइहरू भन्नुहुन्थ्यो। यही कुराले मलाई आन्दोलनमा होमिन प्रेरित गर्यो,' परियारले भने।
उनी त्यति बेला पार्टी मन परेर कांग्रेसमा लागेका होइनन्। उनका अनुसार ३२ वर्षअघि कांग्रेसमा लाग्नु भनेको कुनै पार्टीमा लाग्नु थिएन, आन्दोलनमा हिँड्नु थियो। उनी सदियौंदेखि चल्दै आएको जातीय भेदभावविरूद्ध आन्दोलनमा हिँडेका थिए।
दलित समुदायमाथि हुने भेदभाव परियारको सानैदेखिको भोगाइ हो। उनी गाउँको धारा/कुवा, चौतारोदेखि गाउँलेहरूको आँगन र आफूले पढ्ने विद्यालयमा समेत विभेद भोग्दै हुर्केका थिए।
'स्कुलमा पानी पिउनुपर्यो भने अरूले अलक्क दिएको पानी अञ्जुलीमा थापेर पिउनुपर्थ्यो, अरू विभेदको कुरा त गरिसाध्य छैन,' उनले भने, 'यिनै विभेदबाट मुक्ति पाइन्छ भन्ने कुराले मलाई आन्दोलनमा हिँड्न प्रेरित गर्यो।'
२०४६ को जनआन्दोलनपछि देशमा प्रजातन्त्र आयो। आन्दोलनमा उनी कांग्रेसनिकट साथीभाइसँग हिँडेका थिए। त्यसैले उनी कांग्रेसतिरै लागे। उनलाई आफ्ना आमाबुवा पनि कांग्रेस रहेछन् भन्ने पछि मात्र थाहा भयो।
प्रजातन्त्र आइसकेपछि देशमा संसदीय र स्थानीय चुनाव भए। उनी कांग्रेसको प्रचारप्रसारमा खुब खटिए। स्थानीय तहमा त उनका बुवा नै वडाध्यक्षका उम्मेदवार थिए।
२०४८ सालमा एसएलसी सकेर उनी क्याम्पस पढ्न पोखराको पृथ्वीनारायण क्याम्पस आए। त्यहाँ आएपछि उनी नेपाल विद्यार्थी संघमा सक्रिय भए। स्नातक सकेर शिक्षक भए र शिक्षक संघको राजनीतिमा लागे।
जतिबेला उनी पोखरामा बिए पढ्दै थिए, त्यही बेला नेपाली कांग्रेसमा दलित संघ खुलेको थियो। उनले उक्त संघमा पोखरा सचिव भएर काम गरे। पछि दलित संघको केन्द्रीय सदस्य हुँदै महामन्त्रीसम्म भए। यसबीच उनी त्रिचन्द्र कलेजमा एमए पढ्न काठमाडौं आइसकेका थिए।
परियारसँग २०४९ सालमा गठित दलित विकास समितिका अध्यक्ष गणेश परियारको स्वकीय सचिव भएर काम गरेको अनुभव पनि छ।
यसरी विभिन्न जिम्मेवारीमा रहेर पार्टीभित्र र बाहिर निरन्तर दलितका मुद्दा उठाइरहेको उनी बताउँछन्।
उनी २०६२ सालमा पहिलोचोटि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भएका थिए। २०७० सालमा संविधानसभा सदस्य बनेका परियार पार्टीभित्र यसअघि दुईवटा कार्यकाल केन्द्रीय सदस्य रहेका थिए।
२०७२ सालमा संविधानसभाले बनाएको संविधानले स्थानीय तहका वडामा दुई जना महिला सदस्य अनिवार्य गरेको छ। त्यो व्यवस्था लागु गर्ने कानुन ल्याउँदा उनले एउटा संसोधन प्रस्ताव हाले। दुई महिला सदस्यमध्ये एक दलित महिला सदस्य हुनुपर्ने। उनले उक्त संसोधन पास गराउन पहल पनि गरे। नभन्ने उनको प्रस्ताव संसदले पारीत गरेर कानुन बन्यो। त्यसैले अहिले स्थानीय तहमा दलित महिलाको सहभागीता बढेको उनी बताउँछन्।
यतिका वर्ष पार्टीमा काम गरेका उनले यसपालि संस्थापन इतर समूहबाट खुला दलिततर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएका थिए। उनी २ हजार २ सय १२ मत ल्याएर विजयी भए।
सुरूमा दलितमाथिको भेदभाव अन्त्य हुन्छ भनेर आन्दोलनमा लागेका परियारले पार्टीमा काम गर्दै जाँदा कांग्रेस स्थापनाको इतिहास पढ्न थाले। संस्थापक नेता बिपी कोइरालाले लेखेका सामग्रीहरू पढेपछि पार्टीप्रति अझै लगाव बढेको उनको भनाइ छ।
'बिपीले हाम्रो पार्टीको स्थापनाको ध्येयबारे तीनवटा कुरा भन्नुभएको छ- राणा शासन, कुरीति र अन्धविश्वासको अन्त्य अनि गरिबीबाट जनतालाई मुक्ति दिलाउने,' उनले भने, 'यसमध्ये राजनीतिक रूपमा पहिले राणा शासन र पछि पञ्चायतको अन्त्य भए पनि अरू दुईवटा सामाजिक लक्ष्य हासिल हुन अझै बाँकी छन्। म आफैं समाजको कुरीति र अन्धविश्वासबाट पीडित रहँदै आएकाले यसबाट मुक्ति चाहन्थेँ।'
उनले अगाडि भने, '२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना हुँदा १० जनाको कार्यसमिति थियो। त्यसमा एक जना देवव्रत परियार भन्ने दलित सदस्य हुनुहुन्थ्यो। २००५ सालमा प्रजातन्त्र कांग्रेस स्थापना हुँदा १२ जनाको कार्यसमिति बन्यो जसमा आरबी गहतराज (विश्वकर्मा) सदस्य हुनुहुन्थ्यो। दुवै पार्टी एकीकरण भएर नेपाली कांग्रेस बनेको हो। यो पार्टीले समाजको अनुहार बोकेको थियो।'
२००९ सालमा पार्टीको पाँचौं महाधिवेशन भयो। उक्त महाधिवेशनले धनमानसिंह परियारलाई महामन्त्री चुनेको थियो। त्यतिखेर बिपी सभापति थिए।
महाधिवेशनपछि बसेको केन्द्रीय समिति बैठकले समाजमा हुने छुवाछुत अन्त्य गर्न काम गर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न छुवाछुत र कुरीतिविरूद्ध खडा हुने भन्दै पार्टीको तल्लो तहसम्मलाई परिपत्र गरिएको थियो, परियारले भने, 'अहिले पनि त्यो परिपत्र हामीसँग सुरक्षित छ। बिपीले त राष्ट्रिय अभियान नै गर्नुभयो। जातपात मान्दैनौं, छुवाछुत जान्दैनौं भन्ने नारा आफैंले लेखेर उहाँले उक्त अभियान चलाउनुभएको थियो।'
यसरी राणा शासन र पञ्चायत कालमा पनि सामाजिक भेदभावविरूद्ध अभियान चलाउँदै आएको कांग्रेसले २०४६ को प्रजातन्त्र पुनर्स्थापनापछि भने सामाजिक आन्दोलन बिर्सिएको उनी बताउँछन्।
'पञ्चायत फालेर प्रजातन्त्र आएपछि कांग्रेसले सामाजिक मुद्दा सम्झिएन,' उनले भने, 'हुन त कांग्रेसले पार्टीभित्र दलित संघ भन्ने भ्रातृ संगठन खोल्यो। दलित विकास समिति र दलित आयोग पनि कांग्रेस सरकारकै पालामा स्थापना भए। तर संरचना बनाए पनि दलितका मुद्दा कांग्रेसले छाड्यो।'
पिछडिएका वर्गको मुद्दा कांग्रेसले छाडेपछि कम्युनिस्टहरूले त्यही मुद्दा बोकेको परियारको भनाइ छ। हुन पनि माओवादीले गरेको दस वर्षे विद्रोहले दलित, महिला र जनजातिका मुद्दालाई राजनीतिको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेल्यो। २०६२/६३ को जनआन्दोलनपछि भएको मधेस आन्दोलनले मधेसीका मुद्दा पनि स्थापित गर्यो।
पार्टीभित्र प्रतिनिधित्वको प्रश्न उठेको पनि २०६२/६३ को जनआन्दोलनपछि नै हो। त्यसपछि कांग्रेसको १२औं महाधिवेशनले केन्द्रीय समितिमा आरक्षणबाट दलित, महिला, मधेसी, जनजातिको प्रतिनिधित्व गराउने नीति लियो।
त्यो महाधिवेशनले एउटा अर्को पनि प्रगतिशील निर्णय गरेको परियार बताउँछन्।
'बाह्रौं महाधिवेशनले नेता तथा कार्यकर्ताले जातीय वा अन्य किसिमका छुवाछुत गरेको उजुरी परे सदस्यता खारेज गर्ने निर्णय पनि गरेको थियो,' उनले भने।
१२ ले केन्द्रीय समितिमा आरक्षणको व्यवस्था गर्यो भने १३ औँ महाधिवेशनपछि बसेको महासमिति बैठकले ८ जना सहमहामन्त्रीको व्यवस्था गर्दै विधान संशोधन गरेको थियो। ती ८ महामन्त्रीमा महिला, दलित, जनजाति, मुस्लिम, मधेसी, पछि परेका क्षेत्र लगायतको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। कोटाबाट उम्मेदवारी दिए पनि मतदान भने खुला हुने व्यवस्था छ।
यस्तो विधान संशोधनले पार्टीको सबभन्दा ठूलो तह भनिएको पदाधिकारीमा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गरेपछि कांग्रेसले समाजको अनुहार बोकेजस्तो देखिएको परियारको तर्क छ। त्यसैले यसपालिको १४ औँ महाधिवेशनबाट दलितको प्रतिनिधित्व धेरै भएको उनी बताउँछन्।
यति हुँदाहुँदै परियारले चित्त बुझाउने ठाउँ देखेका छैनन्।
'समाजमा दिनहुँ विभेदका घटना भइरहेका छन्। छुवाछुतका घटना भइरहेका छन्। दलितको आर्थिक अवस्था ७५ वर्षअघि कांग्रेस स्थापना हुँदा जस्तो थियो, अहिले पनि उस्तै छ। तर उनीहरूका मुद्दा उठाउने सवालमा कांग्रेसले स्थापनाकालको जति काम पनि गरेको छैन। दलित लगायत पिछडिएका वर्गका मुद्दालाई पार्टीले आफ्नो ठान्दैन,' उनले भने।
यसबीच उठेका थुप्रै जातीय छुवाछुतका मुद्दामा दलित नेता मात्र बोल्छन्। उनीहरू सडकमा बोल्छन्, संसदमा बोल्छन्। विभिन्न अभियानमा सामेल पनि हुन्छन्। तर पार्टीभित्र उनीहरूको स्वर सानो छ। त्यो सानो स्वर न पार्टीले सुन्छ, न पार्टीको नेतृत्वले।
पार्टीले के गर्नुपर्थ्यो वा गर्नुपर्छ त?
यसबारे परियार भन्छन्, 'पार्टीले सामाजिक अभियान चलाउनुपर्छ। त्यो अभियान लिएर सडकमा आउनुपर्छ। कांग्रेस जातीय विभेद र छुवाछुतविरूद्ध बोल्ने पार्टी हुनुपर्यो। भेदभाव र हिंसाविरूद्ध लड्ने पार्टी हुनुपर्यो।'
आफूलाई चित्त नबुझेका यस्ता विषय अब कांग्रेसको पदाधिकारी तहमा उठाउने र पार्टीलाई यस्ता अभियानतर्फ डोर्याउने जिम्मेवारीमा उनी पुगेका छन्। उनको यही जिम्मेवारीतर्फ लक्ष्य गर्दै हामीले सोध्यौं, 'तपाईंले अब के गर्नुहुन्छ त?'
जवाफमा उनले भने, 'राजनीतिक क्रान्ति पूरा भयो। पार्टीले अब सामाजिक मुद्दा उठाउनुपर्छ। विभेद अन्त्य गर्ने भनेर कानुन बने, नीति-नियमहरू बने तर कानुन र नीति-नियम बनाएर मात्र हुन्न, त्यसको कार्यान्वयनमा पनि पार्टी सक्रिय हुनुपर्यो।'
उनले यो पनि भने, 'म सामाजिक मुद्दालाई आफ्नो मुद्दा ठान्ने पार्टी बनाउन पहल गर्छु।'
अब कांग्रेस स्थापनाको ध्येय पूरा गर्नुपर्ने बाटोमा लाग्न ढिला भएको उनको मत छ। उनी त्यसै पनि कांग्रेसको रूपान्तरण र नेतृत्व परिवर्तनको मुद्दा उठाउने विचार समूहबाट महामन्त्री भएका हुन्। त्यही उद्देश्यका साथ पार्टी रूपान्तरण गर्न सघाउने काम आफूले गर्ने उनी बताउँछन्।
परियारले आफ्नो सहमहामन्त्री कार्यकालमा दुईवटा मुख्य काम गर्ने बताए।
पहिलो, सामाजिक मुद्दालाई पार्टीको नेतृत्वदेखि तल्लो तहसम्म पुर्याउन संगठित दबाब सिर्जना गर्ने।
'सामाजमा रहेका विभेद, छुवाछुत, हिंसाजस्ता विषयमा पार्टीभित्र उठ्ने आवाज अब अलि चर्को सुनिने बनाउनुपर्नेछ। त्यसका लागि म भ्रातृ संगठन वा केन्द्रीय समितिमा भएका साथीहरूसँग मिलेर काम गर्छु,' उनले भने, 'ती मुद्दामा बोल्ने कांग्रेस बनाउनुछ।'
दोस्रो, आरक्षणबाट प्रतिनिधित्व गरेका वर्गमा नेतृत्व विकासका लागि काम गर्ने।
'अहिले राज्यका निर्वाचित निकाय र पार्टीभित्र विभिन्न तहमा पछि परेका वर्गको जति पनि प्रतिनिधित्व छ, त्यसलाई नेतृत्व तहसम्म पुर्याउने काम गर्नुछ,' उनले भने, 'त्यसका लागि पहिले पार्टीको नीति हुनुपर्यो, त्यसपछि नेतृत्व तहको मनसाय हुनुपर्यो।'
'त्यति भयो भने पार्टीमा पछि परेका वर्ग नेतृत्व तहमा पुग्न सक्ने वातावरण बन्छ। पछि परेका वर्गको नेतृत्व विकासका कार्यक्रम गर्ने, प्रशिक्षण गर्ने र नेतृत्वलाई समेत यी काममा दबाब दिने काम गर्नुछ,' परियारले भने।
उनले नेतृत्व विकास र प्रशिक्षणका कार्यक्रम तय गर्ने र तिनलाई एजेन्डाका रूपमा अघि बढाउन आफ्नो भूमिका हुने बताए।