बिहान बिहानै एउटा सपनाको ढक्ढकाईमा
ढोका खोलें, देखें
सीमापारिदेखि केही पाहुनाहरू आएछन्
मानिसजस्ता आँखा सबैका
अनुहार सबैको देखेजस्तो चिनेजस्तो
हातखुट्टा धोए
आँगनमा पलेंटी कसे
र, तन्दुरमा मकैको केही मोटो बाक्लो रोटी पकाए
थैलीमा मेरा पाहुनाहरूले
अघिल्लो वर्ष उब्जाएका गुड ल्याएका रहेछन्
बिउँझदा
घरमा कोही पनि थिएनन्
छामीहेरें
तन्दुर अझै चिसिएको थिएन
र, जिब्रोमा गुलियो गुडको त्यो स्वाद अझै झुण्डिरहेको थियो
सपना थियो सायद!
सपना नै होला!!
सीमामा हिजो राती, सुनेको छु, चलेको थियो गोली
सीमामा हिजो राती, सुनेको छु, केही सपनाहरूको हत्या भएको थियो!!