डोटेली लोककथा: सात भाइकी एक बहिनी


एउटा गाउँमा सात भाइकी एउटी बहिनी बस्थी। सबै भाइका नौगडीका गेडाझैं लामबद्ध भएर रहेका सात घर थिए। बीचमा एक मूल घर थियो, जुन घरमा इजाबाको शेषपछि बहिनी एक्लै थिई।

एकदिन सातै भाइ सिकार खेल्न जङ्गलतिर जान तयार हुँदै थिए। बन्दुक, बारुद झोला सबै चाहिने सामान बोकेर बन जान लागेको देखेपछि बहिनीले पनि जाने मन गरी। दाजुहरुले भने, ‘जानुहुँदैन।’

तर उसले ढिपी छोडिन।

यसपछि सबैभन्दा कान्छोले घरनजिकैको रुखबाट चरा मारेर ल्यायो र बहिनीलाई दियो। चरा पाउनेबित्तिकै बहिनी खुसी भई।

दाजुहरु हिँडे।

जाने बेलामा दाजुले ऊसँग भनेका थिए, ‘घरबाट बाहिर कतै नजानु, बेलुका ढोका बन्द गरेर मात्र भित्र बस्नु, कसैले ढोका खोल भने पनि नखोल्नु, हामी आएपछि मधुरो स्वरमा, ‘सातै भाइको सवारी भएछ, ढोका खोली पाउँ’ भनुँला अनि मात्र खोल है।’

दाइहरु सिकार खेल्न गएपछि ऊ चरा पोल्नका लागो खोज्न थाली। घरमा यता–उती हेरी, तर कतै सल्काउने चिज भेटिन। आफ्नो घरमा नभेट्टाएपछि उसले भाउजुको घरमा गएर आगो माग्ने सोच बनाई। सबैभन्दा पहिला ऊ जेठी भाउजुको घरमा पुगी।

‘मेरो त धान कुट्नु त एक फेर हातखाली छैन,’ जेठी भाउजुले यसो भन्दै आगो दिइनन्।

यसपछि ऊ माइली भाउजुकोमा पुगी। माइली भाउजुले आफूले पनि अन्तबाट ल्याएर काम चलाएको बताउँदै आगो सल्काउने चिज दिइनन्। उसले सातवटै भाउजुको घर चाहारी, तर कसैले पनि दिएनन्।

निराश भएर हिँड्दै गर्दा उसले परको घरमा धुवाँ पुत्पुताइरहेको देखी। धुवा देखेपछि हातले च्यापेको मरेको चरातिर हेरी र खुसी भई। ऊ चरो पोल्नका लागि त्यो ठाउँ जान तयार भई। केहीबेरमै ऊ त्यहाँ पुगी।

त्यो घरको आँगनमा आगो ताप्दै भुतीनी बुढी पिर्कामा बसिरहेकी थिई। बुढीका अगाडि उभिएर आज्ञाकारी छात्रालेझैं उसले बुढीसँग भनी, ‘ए इजा, आगो दिने हौ कि?’

हातको चरो देखाउँदै उसले फेरि थपी, ‘यो चरो पोलेर खाने हुँ।’

बुढी सुन्दर रुपवती कन्या आफ्नो खलामा आएको देखेर एकछिन आश्र्चयमा परी। ऊ एकछिन त कन्यालाई हेरेको हे¥यै भई।

बुढीले सोची, ‘यति राम्री कन्या मेरो बुढालाई खान दिन पाए कस्तो हुँदो हो!’

सोच्दासोच्दै उसले ती कन्यालाई भनी, ‘हेर नानी आगो त म दिइहाल्छु, तर पहिले तेरा बा ऊ त्यो गडामा गोेरु जोत्न लागेका छन्, उनले बिहान देखि केही खाएका छैनन्, उहाँलाई हुक्काचिलिम दिएर आ, अनि आगो लगेर जालिस्।’

खोलाको गह्रामा पुगेर ती कन्याले हात्तीका जस्ता दाँत भएका, लाटोकोसेराका जस्ता आँखा भएका र आङभरी रौँ नै रौँ भएको किणे दैत्यलाई टाढाबाटै चिनिहाली। दैत्यका डरलाग्दा दाँत र सर्पको हलो देखेर ऊ डराई। जिउभरी काँडा फुल्न थाले। मुख रातो पिरो भयो। जोडजोडले मुटु धड्कियो। ऊ गह्राको एक कुनामा हुक्काचिलिम राखेर फर्की। र, भुतिनी बुढीको घरमा पुगी।

भुतिनी बुढीले सोधी, ‘हुक्काचिलिमी दिइस् त?’

उसले भनी, ‘दिएँ।’

बुढीले सोच्न थाली, ‘यस्ती राम्री पठाउँदा पनि किन नखाएको होला।’ बुढीलाई रिस उठेर आयो।

बुढीले एउटा जक्ति निकाली। एउटा चाल्नामा कन र त्योमाथि आगोका कोइला राखेर दिई। बुढीले कन्याको हातमा चाल्नो दिँदै भनी, ‘ल यो चाल्नो हल्लाउँदै आगो लगेर जा।’

कन्याले बुढीले भनेजस्तै चाल्नाको आगो बोकेर घर आई। घर पुगेर उसले चाल्नामा बाँकी रहेका कन टकटक्याएर भित्र पसी। कोठामा आगोले पोलेर उसले चरा पोलेर खाई र आनन्दसँग सुती।

दिनभरी भोक र तिर्खाले रिसले मुरमुरिएर किणे दैत्य घरमा पुग्यो। आफ्नी बुढीसित रिसाउँदै दाँत बजाउँदै भन्न थाल्यो, ‘दिनभरी पानी, हुक्का, तमाखु केही पठाइनस्, अब तँलाई खान्छु।’

बुढीलाई उल्टै रिस उठ्यो। गाली गरी, ‘दिउँसो तिम्रो लागि भनेर झकझक रुप जोवनले भरिएककी कन्यालाई तमाखु लिएर पठाएको थिएँ त।

किन फिर्ता पठायौ?’

किणे दैत्य चिच्याउँदै भन्न थाल्यो, ‘कहाँ छे त्यो कन्या?’

‘चाल्नामा कन लिएर गएकी छ, जहाँ कन पोखिएको छ त् यही बाटो जानु।’

किणे दैत्य क नझरेको बाटो हेर्दै गयो। अँध्यारो हुनै लाग्दा ऊ एउटा गाउँमा पुग्यो। गाउँको बीचको एउटा घरमा उसले कन पोखिएको भेट्टायो।

घरको ढोकानिर उभिएर उसले मोटो स्वरमा बोलायो, ‘सातै भाइकी सवारी भै’छ ढोका खोली पाउँ।’ दैत्यले चार–पाँच पल्टसम्म लगातार बोलाइरह्यो।

कन्या मस्त सुतिरही।

ढोका नखुलेपछि किणे दैत्य रिसले मुर्मुरिँदै घर गयो र बुढीलाई गाली गर्न थाल्यो। बढीले रिस शान्त पार्न खोज्दै सोधी, ‘कसरी बोलाएको थियौ?’

उसले आफूले जसरी बोलाएको हो, सोही बतायो।

तब बुढीले भनी, ‘त्यसरी हैन नि त, मोटो स्वरमा हैन मधुरो र मिठो स्वरमा भन्नुपर्छ।’

किणे दैत्य कन्यालाई खान पाइने आशमा फेरि फर्कियो र ढोका ढक्ढक्याउँदै मधुरो स्वरमा भन्यो, ‘सातै भाइकी सवारी भै’छ, ढोका खोली पाउँ।’

सुतिरहेकी कन्याको कानमा मधुरो स्वर पुग्यो। आफ्ना दाइहरु आइपुगेको खुसीमा ऊ जुरुक्क उठेर दौडिँदै ढोकामा आइपुगी। ढोकाको आग्लो खोल्न नपाउँदै किणे दैत्यले तान्यो। र हतारहतारमा सग्लै निलिदियो। अघाएको दैत्य कन्याकै घरभित्र पल्टियो।

सिकार खेल्न गएका दाइहरु राति आइपुगे। दाइहरुले बोलाए, ‘सातै भाइकी सवारी भै’छ, ढोका खोली पाउँ।’

तेस्रोपटकमा बहिनी दैत्यको पेटबाट बोली, ‘सातै भाइ, म के गरुँ, मलाई दैत्यले निलेको छ।’

दैत्य निदाइरहेको थियो, दाजुहरुले लात्ता र मुड्की हानेर ढोका फोरे र भित्र गए। अगाडि बडेमानको दैत्य देखेपछि उनीहरुले त्यहीँ मार्ने योजना बनायो। दैत्य ब्युँझियो। आफ्नो अगाडि हतियार लिएर उभिएका सात भाइलाई देखेपछि उसले भन्यो, ‘म तिमीहरुको बहिनीलाई ज्युँदै ओकलिदिन्छु। विन्ति, मलाई नमार।’

दाजुहरुले भने, ‘ल छिटो निकाल।’

दैत्यले बहिनीलाई ओकल्न खोज्यो। तर मुखमा आएर अड्कियो। दाँतले बाहिर निस्कनै दिएन। ओकल्न खोज्दा दाँतमा कोपिएर बहिनीको मृत्यु भयो। दाजुहरु रिसले चुर भए। र, दैत्यलाई त्यहीँ मारिदिए।

त्यसपछि उनीहरुले आफ्नी बहिनीलाई धारोछेवैको बाँसको झाङको फेदमा लगेर गाडिदिए।

६ भाइ जाँदा केही हुन्थेन, कान्छो दाइ नुहाउन लाग्दाचाहिँ बाँस नुगेर टाउको छुन आउँथ्यो। नुहाएर फर्किएपछि बाँस पनि माथितिरै फर्किन्थ्यो। कान्छोले यो कुरा दाजुहरुलाई सुनायो।

उनीहरुले बाँस काटिदिने निर्णय गरे।

बन्चरो समातेर जब पहिलो प्रहार गर्न तम्सिएका थिए, रुखभित्रबाट आवाज आयो, ‘तलमाथि काट्नु दाइ, बीचमा नकाट्नु।’ उनीहरुले पनि रुखले भनेजस्तै गरे। रुख काटेर ढल्दा भित्रबाट उनीहरुकी बहिनी निस्की। मरेकी बहिनी फिर्ता भएकोमा सातै भाइ खुसीले घर उर्फिए।

सातै भाइले आफ्नी बहिनीलाई घरमा लगेर राखे। र सोधे, ‘कसरी यस्तो भयो?’

बहिनीले दाजुहरु सिकार खेल्न गएदेखिका सबै घटना सुनाई। दाजुहरुलाई आफ्नी श्रीमतीप्रति रिस उठेर आयो। र, सातै भाइले सातै श्रीमतीलाई उखु पेल्ने मिलमा हालेर पेलिदिए।

(डोटी क्षेत्रका सबै क्षेत्रमा यो लोककथा प्रचलित छ।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.