उत्तरआधुनिक ईश्वरले
बलजफ्ती बोकाई दिएको
आतङ्कको गह्रुँगो भारी बोकेर
त्यो बंगाल खाडीको किनारै किनार
मृत्युदेखी भागेर म्याराथन मैदानभरि
ऊ आइपुगेको छ शरणार्थी बनेर
नयाँ देशमा नयाँ ठेगानामा
कति–कति उतै छुटे
छुटे घाम जुनजस्ता अब्बु–अम्मा
छुट्यो रहरलाग्दो सपना
तर छुटेन यादहरुको श्रृङखला
प्रत्येक रात
तपकिन्छ शीत टहराबाट
शीतसँगै झर्छ आँशु
र भिजाईदिन्छ भाइजानको रंगीन तस्बिर
जो ईदकै दिन
बकरी झैं ढलेको थियो आँखैअघि
प्रत्येक बिहान
छेवैको गुम्बाबाट
जब गुन्जिन्छ–ओम मणि पद्मे हुँ
उसले भर्खरै बुझेको छ एउटा सत्य
सत्तामा हुँदा ईश्वर पनि
पागल हुँदो रहेछ
कोट्याउँदै चिसो भूँई माझी औंलाले
यसबखत आफैंसँग प्रश्न सोधिरहेछ ऊ
किन हुन्छ आस्थाको स्खलन?
किन हुन्छ भरोसाको निर्मम हत्या?