धौलीको खुसी


धौली ६ वर्षकी भइन्। उनीसँगै उनको घरमा आमा र हजुरआमा मात्र हुनुहुन्छ। धौलीका बाबा भारतको बम्बैमा सुरक्षा गार्डको काम गर्नुहुन्छ। बासँग कुरा गर्नको लागि उनको आमासँग सानो मोबाइल फोन छ। शनिबार आयो कि आमाको ध्यान मोबाइलमै धैरै हुन्छ। बाको फोन आएपछि केहीबेर आमा, त्यसपछि हजुरआमा अनि बल्ल धौलीको बोल्ने पालो आउँछ। उनलाई हप्ताभरिको धेरै कुरा भन्न मन लाग्छ। बाबा भने ‘छोरी निकै छै के’ भन्दै सन्चो बिसन्चो सोधेपछि ‘बादमे कल करुंगा है’ भन्दै ट्याक्क फोन काट्नु हुन्छ। यस्तो हुँदा धौलीको मन दुख्छ।

शनिबार बाहेक अरु दिनमा आमाको ध्यान फोनमा कम जान्छ। त्यसैले फोन भान्छाको भाण (तखता) मा राख्नु हुन्छ। भाणकै आडमा घर अड्याउँने मैखामो (खाँबो) पनि छ। मैखामोमा चार्जर जोड्न मिल्ने बिजुलीको प्लग छ। त्यसमा जोडेर राखेको मोबाइल धौलीले भेट्न सक्दिनन्। आमाले कलबिरेको मोबाइल पसलबाट मेमोरीमा भरेर रमाइलो देउडा गीतहरू ल्याउँनु भएको धौलीलाई थाहा छ। मोबाइल पाए त उनी दिनभरी नै त्यसकै देउडा गीत सुनेर नाँच्थिन्। ‘तुईल हातलाय पछी बिगड्डोछ,’ आमा भन्नुहुन्छ, ‘तु झिकै उच्चका हद्दो छै।’

यसरी आमाले आफूलाई चकचके भनेको धौलीलाई त्यती मन पर्दैन। हुन त उनलाई हरेक कुराको धेरै चासो हुन्छ नै। एक पटक उनले ‘भित्रबाटी को बोल्दो छ’ भन्दै हेर्न रेडियोको खोल उप्काएकी थिइन्। आमाले यसरी हप्काउँनु भयो कि उनलाई दुई दिन त डरले खानै रुचेन। यस्ता धेरै घटनाहरू छन् जसले गर्दा धौली झस्कने, डराउँने अनि सपनामा पनि बर्बराउँने हुन थालिन्। ‘तुईल झिकै मैकन हप्काई,’ हजुरआमाले आमालाई सम्झाउँनु भयो, ‘छोरीको मन पनि कमजोर हुँनै गयाको छ।’ आमाले भने धौली चकचके भएकाले तहलाउँनै पर्ने भएको भन्दै हजुरआमाको कुरा टाल्नु भयो।

एक दिन एकाएक आमाको मोबाइल हरायो। ‘मु घासकाट्न जान लागेकी छ्या हातबाटी छण्र्यो कि,’ चिन्तित हुँदै आमाले भन्नु भयो,‘यहिँ वल्तिर पल्तिर पड्याछ कि?’ धौलीलाई सोध्दा उनले आफूलाई थाहा नभएको बताइन्। हजुरआमाले पनि मोबाइल देख्नु भएन्। शुक्रबार साँझ धौलीलाई दूध उम्लेला हेर भन्दै आमा मोबाइल खोज्न घरको कुनाकाप्चा चाहर्नु भयो। दाउराको चुल्हो। आँगो ठूलो दन्केको थियो। हजुरआमा पिढीँमा तरकारी केलाउँदै हुनुहुन्थ्यो। धौलीले एक हातमा डाडु लिएर दूध हेर्दै थिइन्। उम्लने बित्तिकै चलाउँदा चलाउँदै दूध पोखियो। धौली डराउँदै चिच्याइन। हजुरआमा र आमा भान्छामा आउँनु भयो। ‘म खोरल्ली थेँ, उम्लिकन पडिगयो त क्यारु?,’ धौली रुन थालिन्। आमा नजिक जानु भयो अनि दाउरा झिकेर आगो सानो पार्नु भयो।

‘यसो कुणामा पन क्यान डरमान्नी छैत,’ आमाले धौलीको कपाल मायाले मुसार्नु भयो, ‘काम अर्दा अर्दै गल्ति भैजान्छत, नजानिकन हर्याको गल्तिमा डराउँनु हुँनैन।’ आमाको कुरा सुनेर हजुरआमा मुसुक्क हाँस्नु भयो। आमाले गाली नगरी मायाले सम्झाएपछि धौली छक्क परिन। मोबाइल नभेटिकनै झमक्कै रात प¥यो। आमाको मन खुसी थिएन। यत्तिकैमा शनिबारको बिहान पनि आयो।

‘आमा लौ तम्रो मुबाइल,’ रातभरी सोचेकी धौलीले खुरुक्क मोबाइल ल्याएर आमालाई दिइन्। आमा छक्क पर्नु भयो। मोबाइलको बेट्री बाहिर निस्कीएको थियो। ‘मुबाइल काँ पाइथी त?’ आमाले सोधेपछि धौलीले बिस्तारै भनिन्।

हिजो दिउँसो घण्टी बजेको सुनेर धौलीले कुर्चिमाथि चढेर तखताबाट मोबाइल झिक्न खोजेकि थिइन्। मोबाइल भुईमा खसेर बेट्री उछिट्टिएपछि उनको सातो गयो। आमाले गाली गर्ने डरले मोबाइल लुकाइछन्। यी सबै कुरा थाहा पाएपछि पनि आमाले गाली गर्नु भएन, मायाले सम्झाउँनु भयो। धौलीको मन हल्का भयो। बेट्री मिलाएर मोबाइल खोल्दै गर्दा बाबाको फोन आइहाल्यो। आमाले धौलीलाई नै पहिला फोन उठाउँन दिनुभयो। धौलीले बालाई बाख्राले जुम्लीया पाठी पाएको, साथीसँग मिलेर हिजो पिङ खेल्न गएको। आमाले मीठो खिर पकाउँनु भएको। हप्ताभरीको सबै कुरा भनी। बा खुसी हुनुभयो। ‘धौली मु दशैंैकी तक आउँने बेला तुईकन भिडियो हेर्ने मुबाइल ल्याइदिउँला हैक?,’ बाको कुरो सुनेर धौली ‘हस्’ भन्दै फुरुंङ भई। कुरा सक्कियो भनेर च्याटै फोन पनि काटी।

ला ! आमाले बोल्नै बाँकी थियो। हजुरआमा पनि पर बसेर पालो कुरिरहनु भएको थियो। ‘मुईल अझ भुल्लीकन फुन काटीदिया त आमा,’ धौलीको कुरा सुनेर आमाले हाँस्दै भन्नुभयो,‘ कहिले कहिले भुल्ली जाइन्छ त।’ त्यसैबेलामा फेरि मोबाइलमा घण्टी बज्यो। धौलीको अनुहार उज्यालो भयो। आमा र हजुरआमाले पालैपालो बासँग कुरा गर्न थाल्नु भयो। धौली खुसी हुँदै आँगनमा नाँच्न थाली,‘ दशैं आउँन लागिगो, बुबा पन आउँदो भए।’

त्धष्ततभच२दजबदबकबनबच

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.