सुनकेशरी मैयाँ

नेपाली लोककथा


एकादेशमा एकजना राजा थिए। तिनका तीन भाइ छोरा र एउटी छोरी थिइन्। छोरीको सबै कपाल सुनका थिए। त्यसैले उनलाई सुनकेशरी भन्दथे।

उनका कति केशहरु छन्, तिनका हिसाब गरिएको थियो। एकदिन खोलामा नुहाउँदा उनको एउटा केश हरायो। यसरी केश हराउँदा उनकी आमाले जसले मेरी छोरीको हराएको केश पाउला, उसैसँग मेरी छोरीको बिहे गरिदिन्छु भनिन्।

मान्छेहरु उनको हराएको केश खोज्न थाले। सन्जोगले गर्दा, त्यो केश सुनकेशरीका माला दाजुले फेला पारे। अब के गर्ने?

सुनकेशरीको बिहे उनका माइला दाजुसँग नै हुने भयो।

घरमा बिहेको तरखर हुन थाल्यो। विचरी! सुनकेशरी मैयाँ विरहले आकुलव्याकुल हुन थालिन्। बगैंचामा बसी उनी रुन लागिन्। त्यत्तिकैमा एउटा कौवा आएर उनलाई भन्यो, ‘दुःख नमान मैयाँ। यो एउटा कदमको गेडा लिएर जाऊ। साथमा अलिकति तिल, चामल र बलियो धागो पनि लैजाऊ। यो कदमको गेडालाई माटोमा रोपिदेऊ। यसको रुख उम्रिन्छ, अनि त्यहाँ बसेर भन्नु, बढ बढ कदम रुख सगरसम्म। रुख बढेर अग्लो हुन्छ। अनि कसैले पनि तिमीलाई तल झार्न सक्नेछैन।’

कौवाले भनेझैं सुनकेशरी मैयाँ कदमको बीऊ लिएर खोलातिर गइन्। कदमको बीऊ भुइँमा गाड्नेबित्तिकै रुख भएर उम्रियो। रुखमा बसेर उनले भनिन्, ‘बढ बढ कदम रुख सगरसम्म।’

रुख बढेर सगर छुने भयो।

यता बिहेको लग्न आइसकेको थियो। सबैजना सुनकेशरीलाई खोज्न थाले। तर, कसैले उनलाई कतै फेला पार्न सकेनन्। अन्त्यमा उनका बाबुले उनलाई खोलाको डिलमा कदमको रुखमाथि देखे। सगर छोएको रुखमाथि बसेकी छोरीलाई उनले तलबाट भन्न थाले, ‘ओर्ल न ओर्ल सुनकेशरी मैयाँ! बिहे लग्न गइसक्यो टरेर।’

‘ओर्लने त थिएँ नि बाबा! ससुरा भइआयौ।’

छोरीले भनेको सुनेर बाबुलाई ज्यादै विरह चल्यो।

‘धिक्कार होस्! मजस्तो बाबु बाँच्नुभन्दा त मर्नु नै निको हुन्छ,’ भनेर उनले खोलामा फाल हाले। उनी मरे।

बाबु मरेपछि आमा आएर भन्न थालिन्, ‘ओर्ल न ओर्ल सुनकेशरी मैयाँ! बिहे लग्न गइसक्यो टरेर।’

‘ओर्लने त थिएँ नि आमा! सासु भइआयौ,’ सुनकेशरीले भनिन्।

‘मलाई धिक्कार छ’ भन्दै आमाले पनि खोलामा फाल हालिन्।

त्यसपछि जेठा दाजु आए र भन्न थाले, ‘ओर्ल न ओर्ल सुनकेशरी मैयाँ! बिहे लग्न गइसक्यो टरेर।’

‘ओर्लने त थिएँ नि दाजै! जेठाजु परेछौ,’ सुनकेशरीले भनिन्।

उनी पनि बहिनीको जेठाजु हुनुभन्दा त मरेकै बेस भन्ठानी खोलामा फाल हालेर मरे।

त्यसपछि माइला दाजु आए र भने, ‘ओर्लन्छ्यौ कि रुखको फेद ढालुँ?’

‘ओर्लने त थिएँ नि दाजै! लोग्ने परेछौ,’ सुनकेशरीले भनिन्।

‘बहिनीको लोग्ने भएर बाँच्नुभन्दा त मरेकै बेस!’ यसो भन्दै माइला दाजुले पनि खोलामा फाल हाले।

अन्त्यमा, कान्छो भाइ आएर भन्यो, ‘ए दिदी, म पनि आउँछु।’

सुनकेशरीले भनिन्, ‘भाइ! तिमीलाई भोक लाग्छ। तिर्खा लाग्छ। निद्रा लाग्छ। यहाँ नआऊ। घर फर्क।’

तर भाइले मान्दै मानेन।

अनि, दिदीले धागो खसाल्दै भनिन्, ‘यही धागो समात, म तान्छु।’

कान्छो भाइ धागो समातेर रुख चढ्यो। सुनकेशरी मैयाँले काखमा राखिन्।

भोलिपल्ट भाइले भन्यो, ‘दिदी भोक लाग्यो।’

दिदीले आफूसँग भएको तिल, चामल दिएर भनिन्, ‘ल यो खाऊ, एक गेडा पनि भुइँमा नखसाल है।’

भाइ प¥यो केटाकेटी! खाँदाखाँदै आधा तिल,चामल खसाल्यो।

एकछिनपछि उसलाई तिर्खा लाग्यो। सुनकेशरी मैयाँले आफूसँग भएको हँसियाले कदमको रुखमा खोप्दै पानी निकालिन्। भाइले पियो। एकछिनपछि भाइलाई निद्रा लाग्यो। ऊ दिदीको काखमा सुत्यो।

केहीबेरपछि भाइ निद्राबाट ब्युँझ्यो। तल भुइँतिर हेर्दै उसले सोध्यो, ‘दिदी, तलका गाईभैंसी कसका हुन्?’

‘तँलाई अघि नपोखी खा भनेको थिएँ। तैंले आधा पोखाइस्। अनि तिलजति भैंसी भए, चामलजति गाई। अब ती गाईभैंसी हाम्रै हुन्,’ सुनकेशरी मैयाँले भनिन्।

‘उसोभए, जाऔं दिदी, मजासँग सबै गाईभैंसी पालेर बसौं,’ भाइले भन्यो।

दिदीले भाइको कुरा मानिन्। दुवै रुखबाट ओर्ले र सबै गाईभैंसी लिएर घर गए।

भाइचाहिँ सधैं गाईभैंसी चराउन जान्थ्यो। दिदीचाहिँ भकारो सोहोर्थिन्। अनि, गाईभैंसीहरुलाई ख्वाउनेपियाउने बन्दोबस्त गर्थिन्। गोठाले जाने बेलामा दिदीलाई भाइ भन्थ्यो, ‘दिदी, खोलेजाउली पकाइराख, मालदाम्ला फिँजाईराख है।’

दिदी सधैं त्यसै गर्थिन्।

एकदिन अर्को देशको एकजना राजकुमारले उनलाई लिएर गयो।

गोठालो गएको भाइ बेलुका घर फक्र्यो। घरमा उसले खोलेजाउली पकाइराखेको पनि देखेन, मालदाम्ला फिँजाइराखेको पनि देखेन। ऊ चिच्यायो, ‘दिदी! दिदी!! दिदी!!!’

वरिपरिका छिमेकीसँग पनि आफ्नी दिदीको बारेमा सोध्यो। तर कसैले पनि बताउन सकेनन्। विचरो ऊ एक्लै बसेर धुरुधुरु रुन थाल्यो।
यत्तिकैमा गोठबाट कैलो रौं भएकी एउटी बुढी गाई आयो र उसलाई भन्यो, ‘भैगो बाबु, नरोऊ। आऊ मेरो पिठ्युँमा चढ। मेरा जिउमा कति रौ छन् गन। म तिमीलाई तिम्रो दिदीकहाँ पु¥याइदिन्छु।’

भाइ गाईको पिठ्युँमा बसेर रौं गन्न थाल्यो। रौं गनिसक्दा गाईले दिदीको आँगनमा पनि पु¥याइदियो।

ऊ गाईको पिठ्युँबाट ओर्लियो। तर, दिदीलाई कसरी बोलाउने? ऊ फसादमा प¥यो। त्यसैले ऊ पिँढीमा झोक्रिएर बसिरह्यो।
त्यत्तिकैमा दिदीचाहिँको कपाल कोर्ने थाँक्रो झ्यालबाट तल आँगनमा खस्यो। त्यतिबेला सुनकेशरीले भाइलाई सम्झिँदै भनिन्, ‘यतिबेला मेरो भाइ भइदिएको भए त थाँक्रो ल्याइदिनेथियो।’

दिदीको कुरा तलबाट भाइले सुनिरहेको थियो। ऊ थाँक्रो टिपेर माथि दिदीकोमा पुग्यो।

भाइलाई आफ्नो अघिल्तिर देख्दा सुनकेशरी मैयाँ हर्षले गदगद भइन्। र, सोधिन्, ‘कसरी आइपुग्यौ?’

भाइले सबै वेलिविस्तार लगायो। त्यसदिनदेखि दिदीभाइ आनन्दपूर्वक दिन बिताउन थाले।

(तुलसी दिवस सम्पादित नेपाली लोककथा (२०३२) बाट साभार।)

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.