चुनमुन, मुनमुन र कमिला

बालकथा: सुनौं-सुनाअौं


हिँड हिँड साथी हो
कमिलाको ताँती हो …

चुनमुन र मुनमुन गीत गाउँदै आफ्नो घरको बगैंचामा खेलिरहेका थिए। त्यत्तिकैमा मुनमुन एक्कासि ‘ऐ…….या’ भन्दै चिच्यायो।
मुनमुन चिच्याएको सुनेर चुनमुन हत्तपत्त उसको नजिकै पुग्यो र भन्यो, ‘के भो भाइ? तिमि किन चिच्याएको?’

‘हेर्नोस् न दादा, कमिलाले मेरो खुट्टामा टोकिदियो,’ मुनमुनले भन्यो।

‘खोइ त त्यो कमिला कहाँ गयो?’ चुनमुनले सोध्यो।

ऊ … त्याँ भुइँमा हिँडिराखेको छ, मुनमुनले भुइँतिर देखाउँदै भन्यो।

‘यो कमिला त कस्तो बदमास रहेछ, मेरो भाइलाइ टोक्ने! हिँड भाइ, हामी पर गएर पिङ खेलौं,’ चुनमुनले मुनमुनको हात समात्दै भन्यो। त्यसपछि उनीहरु दुवैजना अलि पर गएर पालैपालो पिङ खेल्न थाले।

मुनमुन पिङ खेलिरहेको बेला चुनमुन रूखको तल बसेर आफ्नो पालो पर्खिबसेको थियो।

‘भाइ! छिटो ओर्ल पिङबाट। हेर त त्यो अघिको कमिला त हामीलाई पछ्याउँदै यहीँसम्म आइपुगेछ। हिँड जाऊँ घर,’ चुनमुनले उसको अघिल्तिर भुइँमा हिँडिरहेको एउटा कमिलातिर हेर्दै भन्यो।

त्यसपछि मुनमुन पिङबाट ओर्लियो अनि दुवै दाजुभाइ छिटोछिटो घरको आँगनमा पुगे र त्यहीँ खेल्न लागे।

‘दादा, दादा! हेर्नोस् त त्यो अघि मलाई टोकेको कमिला अहिले थुप्रै साथीहरु ल्याएर यहीँ हाम्रो तुलसीको मठनेर आइपुगेछ,’ खेल्दा–खेल्दै बीचैमा मुनमुन कराएर भन्यो।

‘खोइ! खोइ!! कहाँ छ देखाऊ त,’ भन्दै चुनमुन त्यहीँ आइपुग्यो।

उसले देख्यो, नभन्दै त्यहाँ कमिलाहरु ताँती लागेर हिँडिरहेको थिए।

‘जाऊँ भाइ, हिँड भित्र जाऊँ। छिटो जाऊँ, नत्र यी सबै कमिला हामीसँग लड्न आउँछन्,’ चुनमुनले भन्यो।

त्यसपछि चुनमुन र मुनमुन आफ्नो घरभित्र पसे।

‘ए … तिमीहरु आयौ? ल आऊ। भान्साकोठामा मैले तिमीहरुलाई लड्डु राखिदिएकी छु।’

चुनमुन र मुनमुनलाई घरभित्र पसेको देखेपछि उनीहरुकी हजुरआमाले भन्नुभयो।

चुनमुन र मुनमुन लड्डु खान भान्साकोठाभित्र पसे। हजुरआमाले उनीहरुलाई लड्डु दिनुभयो।

‘दादा! कमिला!’ लड्डु खाँदाखाँदै एक्कासि मुनमुन करायो।

‘खोइ कहाँ छ कमिला?’ हजुरआमाले सोध्नुभयो।

‘यी कमिलाहरुले हामीलाई लखेट्दै–लखेट्दै यहाँसम्म आएका हुन् हजुरआमा। एउटा कमिलाले भाइको खुट्टामा टोकेको थियो। त्यसपछि त्यसले आफ्नो साथीहरु बटुलेर हामीलाई पछ्याउँदै यहाँ भान्साकोठासम्म आइपुगेछ। चुनमुनले भन्यो।

‘अब हामी सुत्न गयौं भने यिनीहरु हाम्रो ओछ्यानमा पनि आउँछन् होला,’ मुनमुनले भन्यो।

‘होइन बा, त्यसो होइन। यी कमिला त यहाँ गुलियोको गन्ध पाएर भेला भएका हुन्। यिनीहरु जे काम पनि मिलीजुली गर्दछन्। हिउँदभरी यिनीहरु सबै मिलेर परिश्रम गरेर खानेकुरा थुपार्छन्। यिनीहरुले तिमीहरुलाई पछ्याएका होइनन्।’

‘हामी पनि कमिलाजस्तै मिहिनेती हुनुपर्दछ र मिलिजुली काम गर्नुपर्छ,’ हजुरआमाले चुनमुन र मुनमुनलाइ मायालु स्वरमा भन्नुभयो।

चुनमुन र मुनमुन लड्डु खाँदै गीत गाउन थालेः

हिँड हिँड साथी हो
कमिलाको ताँती हो …

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.