बुवाको सरुवा भएपछि शान्ता गाउँबाट सहर आइन्। शान्ताकी आमाचाहिँ गाउँमा नै बसिन्, उनका भाइ र बहिनीसँग। बुवा र शान्ताचाहिँ सहरमा डेरा लिएर बस्न थाले। १४ वर्षीया शान्ता ७ कक्षा पास भएर ८ कक्षामा पुगेकी थिइन्। सहरको स्कुलमा पढ्न गाह्रो हुन्छ कि भन्ने डर उनलाई थियो।
उनले बुवालाई आफ्नो मनको डर सुनाउँदा बुवाले भने, ‘तिमी डराउनु पर्दैन। स्कुलमा तिम्रो जाँच लिँदा ७ कक्षाको लिन्छन्। यदि जाँच राम्रो भएन भने ७ कक्षामा नै पढे पनि के पो बिग्रन्छ र? झन् जग बलियो हुन्छ।’ बुवाको कुरा सुनेर शान्ताको डर मत्थर भयो।
डेरानजिकैको विद्यालयमा एकदिन शान्ताका बुवाले उनलाई स्कुलमा लिएर गए। प्रधानाध्यापकसँग बुवाले शान्तालाई ८ कक्षामा भर्ना गरिदिन अनुरोध गरे। प्रधानाध्यापकले पहिले एउटा जाँच लिनुपर्छ भनेर नेपाली, अंग्रेजी र गणितको जाँच लिए। शान्तालाई गाह्रो लागेन। उनले एक घन्टामै सबै प्रश्नको उत्तर लेखेर भ्याइन्।
प्रधानाध्यापकले उत्तर हेरेपछि भने, ‘शान्ता, तिमीले सबै प्रश्नको उत्तर राम्रोसँग लेख्यौ। तिमीलाई कक्षा ८ मा भर्ना हुन सक्छौ।’
शान्ता र उनका बुवा प्रधानाध्यापकको कुरा सुनेर खुसी भए।
शान्ता कक्षामा पस्नेबित्तिकै केही विद्यार्थीहरु गलल हाँसे, ‘आमै! काठको खुट्टा भएकी केटी पो आई त।’ शान्ताको अनुहार अँध्यारो भयो।
शान्ता सानै थिइन्। खुट्टामा घाउ भएर पीप भरिएपछि हड्डीमा संक्रमण भएको थियो। चाँडो उपचार नपाउँदा उनको खुट्टा नै काट्नुपरेको थियो। सानोमा त उनी घस्रेर हिँड्ने गर्थिन्। ७ वर्षको छँदा बनेपाको बाल अस्पतालमा लगेर उनको खुको खुट्टामा नक्कली खुट्टा गाँसिएको थियो। र, खुट्टामा विशेष प्रकारको जुत्ता लगाउन दिइएको थियो। उनी बेलुका मात्र जुत्ता फुकाल्थिन्। त्यो जुत्ता लगाएपछि उनी साधारण तरिकाले हिँड्न सक्ने भएकी थिइन्। पहिले–पहिले त शान्ताकी आमालाई छोरीको यो अवस्था देखेर दुःख लाग्थ्यो।
पछि शान्तामा आत्मविश्वास भरिँदै आएको देखेर डाक्टरहरुले शान्ताको जीवन राम्रोसँग चल्ल सक्ने तर सयम–समयमा अस्पतालमा आएर जाँच गर्नुपर्ने भनेपछि शान्ताकी आमा ढुक्क भएकी थिइन्। शान्ताले आफ्नो उमेरअनुसारको सबै काम गर्न सक्थिन्। पढाइमा पनि उनी अगाडि नै थिइन्। ठूलो भएपछि कृषि विज्ञान पढ्ने र राम्रो तरिकाले कृषकलाई खेती गर्न सिकाउने उनको इच्छा थियो। उनले कृषि पढ्ने प्रेरणा स्कुलको विज्ञान पढाउने शिक्षकबाट पाएकी थिइन्। विज्ञान पढाउने शिक्षक उनकै गाउँका थिए। उनी स्कुलको समयबाहेक आफ्नो पुरा समय खेतीमा लगाउँथे। तरकारी र फलफूल फलाउँथे। तरकारी र फलफूल बेचेर आम्दानी गर्थे। अरुलार्ई पनि कसरी खेती गर्नुपर्छ भनेर सिकाउँथे। उनले कक्षामा विज्ञान पढाउँदा छलफल गर्थे र त्यसैबाट शान्तालाई कृषि पढ्ने इच्छा जागेको थियो।
कक्षामा विद्यार्थीहरुको हाँसोले शान्ताको अनुहार अँध्यारो भएको देखेर प्रधानाध्यापकले विद्यार्थीलाई भन, ‘तिमीहरु शान्ताको काठको खुट्टा देखेर हाँस्यौ तर तिमीहरुले किन यस्तो भएको होला भने विचार ग¥यौ? उनको खुट्टामा समस्या पर्दा खुट्टा काट्नु परेको थियो। तर पनि उनी तिमीहरु भन्दा कम छैनन्। उनको आत्मविश्वास तिमीहरुको जत्तिकै छ। उनले गाउँको स्कुलमा पढेर अहिले जाँच दिएर तिमीहरुको कक्षामा आएकी छिन्। उनी पढाइमा पनि राम्रो छिन्। तिमीहरुले काठको खुट्टा देखेर होच्याएकाले मलाई दुःख लागेको छ। अबदेखि यसो नगर है।’
विद्यार्थीहरुले घोस्से मुन्टो लगाए। शिक्षकले उनलाई बेन्चमा बसाले।
बेलुका उनी स्कुलबाट डेरामा फर्किंदा बुवाले खाजा बनाएर शान्तालाई पर्खिरहेका थिए। शान्ताले स्कुलमा के–के चाहिन्छ भनेर लेखेर ल्याएकी थिइन्। बेलुका बुवा र शान्ता सामान किन्न गए।
एकदिन उनको स्कुलमा निबन्ध प्रतियोगिता भयो। ८ कक्षा देखि १० कक्षासम्म सबै विद्यार्थीलाई निबन्ध लेख्न भनियो। निबन्ध के विषयमा लेख्ने भनेर विचार गर्दा शान्ताले आफ्नो निबन्धमा आफ्नो र गाउँको बारेमा लेखिन्। र, कसरी समयमा उपचार नपाउँदा आफ्नो खुट्टा काट्नु परेको थियोजस्ता कुरा लेखिन्। आफू र परिवारलाई भएको दुःख, गाउँघरमा राम्रो उपचार हुन नसकेको कारणले बनेपा आएर खुट्टा काटनु परेको र पछि काठमाडौंमा नक्कली खुट्टा लगाएर हिँडेको दुःख बारेमा निबन्ध लेखिन्।
शान्ता निबन्ध प्रतियोगितामा प्रथम भइन्।
स्कुलका विद्यार्थीहरुको बीचमा उनले आफ्नो निबन्ध पढेर सुनाउँदा धेरैका आँखा रसाएका थिए। तर, शान्ताको आँखामा आँशु थिएन। उनी आत्मविश्वासले भरिएकी थिइन्।
उनी पढाइमा पनि तेज थिइन्। अतिरिक्त क्रियाकलापमा पनि कसैले भेट्न सक्दैनथे। त्यही स्कुलबाट एसएलसी दिइन्। दुई वर्ष प्लसटु पढेपछि उनी छात्रवृत्तिमा कृषि विज्ञान पढ्न विदेश गइन्। कृषि विज्ञानमा पनि उनले राम्रो नतिजा ल्याइन्। राम्रो काम गरेकाले उनलाई सोही देशमा काम गर्ने थुप्रै प्रस्ताव आएका थिए। तर, पढाई सकेर उनी आफ्नै देशमा आफ्नो सीपको उपयोग गर्नुपर्छ भनेर विदेशबाट फर्किइन्।