अंकल हल्लिस खानुभयो?

अंकल हल्लिस खानुभयो?

बालकथा: सुनौं-सुनाअौं


‘कल्पना, तिमीले थाहा पायौ हल्लिस खायो भने बलियो भइन्छ रे। बुद्धि पनि बढ्छ रे। अनि जाँचमा फस्ट भइन्छ र !’ सन्देशले भने।

दुबै जना स्कुल छुट्टी भएर घर फर्कँदै थिए। उनीहरू एउटै टोलमा बस्थे। दुबैको घर नजिकै भएकोले फुर्सतको बेलामा एकअर्काको घरमा जान्थे। स्कुल जाँदा आउँदा यस्तै रमाइला कुरा गर्दै सँगै जान्थे आउँथे।

‘त्यही त, रेडियो र टेलिभिजनले जहिले पनि त्यही कुरा भन्छ। तर डैडी मम्मी मान्दै मान्नु हुन्न,’ कल्पनाले भनिन्।

‘टेलिभिजनमा फिल्मको हिरो धमालले पनि सानैदेखि हल्लिस खान्छु भन्छ। उनलाई त सानैदेखि उनका मुवाँले योवनत्रास पनि ख्वाउनु हुन्थ्यो रे !’

‘फिल्मको हिरोले मात्रै हो र, नामी टेलिभिजन कलाकार, व्यंग्यकार र साहित्यकारहरूले पनि सानैदेखि केके कुरा खाएर अहिले ठूलो मान्छे भएँ भन्छन्,’

‘यो कुरा हामीले हाम्रा डैडी मम्मीलाई बुझाउनु पर्यो।’

कल्पना र सन्देशले आफ्ना बाआमालाई सम्झाउने निधो गरे। घरमा पुगेपछि झोला भुइँमा राख्न नभ्याउँदै कल्पनाले भनिन्, ‘मम्मी, आजदेखि म हल्लिस खान्छु। दूध दही केही खान्न।’

‘तिमीलाई कसले के भन्यो नानु? तिम्रो लागि भनेर मैले आज सेल र खिर पकाएकी छु,’ आमाले भन्नु भयो।

‘नाइँ, म त हल्लिस नै खान्छु। खिर पनि खान्न, सेल पनि खान्न,’ कल्पनाले जिद्दी गरिन्। उनले फिल्मका हिरो, कलाकारहरूले हल्लिस खाने गरेको सुनाइन्। ‘म पनि हल्लिस खाएर उनीहरू जस्तै ठूलो मान्छे बन्छु।’

त्यो दिन कल्पनालाई खाजा र साँझको खाना ख्वाउन निक्कै गाह्रो भयो।

उता सन्देश घरमा पुग्दा आमा बा दुबै जना बैठकमा बसेर टेलिभिजन हेर्दै हुनुहुन्थ्यो। टेलिभिजनमा विज्ञापन आइरहेको थियो। झोल भुईँमा राखेर एक छिन विज्ञापन हेरेपछि सन्देशले भने, ‘देख्नु भयो त? हिरो धमालले हल्लिस र योवनत्रास खान्छु भनेको सुन्नु भयो? म पनि ठूलो मान्छे बन्छु। म पनि अब हल्लिस खान्छु। योवनत्रास पनि खान्छु।’

‘बाबु, आज तिमीलाई मन पर्ने हलुवा र लप्सीको अचार बनाएको छु। त्यही खाएर खेल्न जाऊ,’ सन्देशको बुवाले भन्नु भयो।

‘हो बाबु, बुवाले कति मेहनत गरेर खाजा बनाउनु भएको छ। भान्छाको दराजमा राखेको छ। जाऊ झिकेर खाऊ,’ आमाले भन्नुभयो।

‘नाईँ म त त्यस्तो खाजा खान्न। मलाई हल्लिस नै चाहिन्छ,’ सन्देशले जिद्दी गरे।

सन्देश खाजा नखाई खेल्न निस्के।

साँझ कल्पना र सन्देशका आमाबाहरूले फोनमा कुरा गरे। दुबै जनाको जिद्दी पूरा गर्ने कि के गर्ने? आखिरमा उनीहरूले वास्तविकता थाहा पाउने निधो गरे।

भोलि पल्ट विदाको दिन थियो। विहानै कल्पनाकी आमाले भन्नुभयो, ‘आज बुवाले घुम्न जाने भन्नु भएको छ। तयार होऊ।’

‘कहाँ जाने, जु हेर्न जाने हो? मैले जु हेर्न मन लाग्यो भनेको कहिले देखि हो?’ भन्दै कल्पना तयार हुन थालिन्।

उता सन्देशका बुवाले पनि सन्देशलाई घुम्न जान तयार हुन लगाउनु भयो। जु हेर्न जाउँ है डैडी भन्दै सन्देश कोठाबाट निस्के।

कल्पना, सन्देश र उनीहरूका आमाबा बसमा चढेर शहरको रमाइलो बस्तीमा पुगे। बस्तीमा राम्राराम्रा घरहरू थिए। घरको आगनमा फलफूलका बगैँचा थियो। उनीहरू बसबाट ओर्लेर बस्तीमा घुम्न थाले।

‘हेर त सन्देश यो घरको ढोकामा कलाकार धमाल भनेर लेखेको छ !’ कल्पनाले ढोकाको नेमप्लेटतिर देखाउँदै भनिन्।  ‘उहाँ बस्ने घर यही हो कि क्या हो।’

कलाकार धमालको नाम देखेर सन्देश उत्साहित भए। उनले अलि ठूलो स्वरले भने, ‘हेर्नुस् त डैडी। कलाकार धमाल यहीँ बस्नु हुन्छ हो?’

कल्पनाले पनि उत्सुक दृष्टिले आमाबातिर हेर्दै भनिन्, ‘उहाँलाई भेट्न पाए कस्तो मज्जा आउँथ्यो। साथीहरूलाई पनि मेख मारेर भन्न पाइन्थ्यो।’

‘सोधी हेरौँ न। भेट्न पाइ हालिन्छ कि?’ सन्देशका बुवाले मुसुक्क हाँस्दै भन्नुभयो।

कल्पनाले उत्सुक भएर दुइटा ढोकाको बीचबा भित्र चियाएर हेरिन्। भित्रको दृश्य देखेर उनी उत्साहित भइन्, ‘हेर त सन्देश, त्यहाँ बसेको मान्छे धमाल अंकल जस्तै छ।’

सन्देशले पनि चियाएर हेर्दै भने, ‘हो डैडी, धामाल अंकल नै हो।’

ढोका भित्रबाट बन्द गरेको रहेनछ। कल्पना र सन्देशले चियाएर हेर्न खोज्दा ढोका खुल्यो।

हिरो धमाल बगैँचाको कुर्सीमा बस्नु भएको थियो। घर अगाडि दुबोको चौरमाथि टेबुल कुर्सी थियो। टेबुलमा कप प्लेटहरू थिए। बिहानको खाजा खाने तयारी हुन लागेजस्तो थियो।

ढोका खुलेको देखेर हिरो धमालले ढोकातिर हेर्नुभयो। कल्पना र सन्देशलाई देखेर उहाँले हाँस्दै भन्नुभयो, ‘कता आयौ नानी हो? आऊ भित्र आऊ।’

कलाकार धमालले केटाकेटीलाई धेरै माया गर्नु हुन्थ्यो। उनीहरूलाई रमाइलो लाग्ने धेरै फिल्ममा उहाँले अभिनय गर्नु भएको थियो। केटाकेटीहरूलाई ढोकामा देखेर उहाँले फेरि बोलाउनु भयो। आऊ बाबु नानी। सँगै चिया खाउँ।’

हिरो अंकलको कुरा सुनेर कल्पना र सन्देश दुबैले एकअर्काको मुखमा हेरे। अनि हेर्दै के गर्ने होला भन्ने भावले आमाबातिर हेरे।

दुबै जनाको आमाबाहरूले पनि ढोका अलिकति धकेलेर भित्र हेर्नु भयो। हिरो धमाललाई देखेर उहाँहरूले टाढैबाट अभिवादन गर्नुभयो र सन्देशकी आमाले भन्नुभयो ‘नमस्कार ! माफ गर्नु होला। केटाकेटीले उत्सुकतावश ढोका खोले। डिस्टर्व भयो कि?’

‘केही डिस्टर्ब छैन। आउनुस्। नानी बाबुलाई भित्रै ल्याउनुस्,’ हिरो धमालले भन्नुभयो।

सबै जना संकोच मान्दै भित्र गए र टेबुलको वरिपरि बसे।

यसैबीच भित्रबाट परिचरले किस्तीमा खानेकुरा ल्याएर टेबुलमा सजाउन थाले।

‘उहाँहरूको लागि पनि ल्याऊ है,’ हिरो धमालले भन्नुभयो।

‘हैन, हामीले भर्खर घरबाट खाएर आएका हौँ। हाम्रो लागि केही ल्याउनु पर्दैन,’ कल्पनाका बुवाले भन्नुभयो।

‘चिया मात्रै भए पनि खानु पर्छ,’ हिरो धमालले भने। ‘उहाँहरूको लागि चिया र बाबु नानीको लागि दूध ल्याऊ है।’

कल्पना र सन्देशले दूध खान रुचाउन्नथे। उनीहरूले आआफ्ना आमाबातिर हेरे। तर खान्न भन्न सकेनन्।

परिचरले चार कप चिया र दुई गिलास दूध ल्याएर टेबुलमा राखे। त्यसपछि उनले हिरो धमालको लागि थालमा खानेकुरा राखे।

अंकल धमालले के के खानु हुन्छ होला भनेर कल्पना र सन्देश दुबै जना उत्सुक भएर हेर्न थाले।

परिचरले थालमा दुइटा सुख्खा रोटी र तरकारी राखे, प्लेटमा काटेको केरा, नास्पाती र सुन्तला राखे। कटौरामा दही राखे।

‘म अलि हतारमा छु। नास्ता खाएर काममा गइहाल्नु पर्छ। मैले खान थालेँ है। तपाईँहरू पनि चिया खानुस्। नानी बाबु तपाईँहरू पनि खानुस्। यो डेरीको दूध होइन। गाईको दूध हो,’ भन्दै धमाल अंकलले नास्ता खान थाल्नुभयो। उनीहरू चिया र दूध खान थाले।

कल्पना र सन्देशको मनमा खुल्दुली जाग्यो। धमाल अंकलले त हल्लिस खान्छु भन्नुहुन्थ्यो। तर दूध खाइराख्नु भएको छ। किन होला।

कल्पनाले सोधिहालिन्, ‘अंकल, हल्लिस किन नखानु भएको?’

‘अंकलले त योवनत्रास पनि खानु भएन नि,’ सन्देशले थप्यो।

दुबै जनाको प्रश्न सुनेर अंकल धमाल मुसुक्क हाँस्नुभयो र भन्नुभयो, ‘फिल्ममा काम गर्न स्वास्थ्य राम्रो हुनुपर्छ। यसका लागि म हाम्रै खेत, बारी र बगैँचामा फलेका ताजा कुरा खान्छु। गाईको दूध र दही खान्छु। झिलझिले प्याकेट र बोतलमा राखेर बेचिने खाने प्युनेकुरा खाँदिन। तपाईँहरू पनि त त्यस्तो कुरा खानु हुन्न होला नि?’

अंकल धमालको कुरा सुन्दा कल्पना र सन्देशलाई अचम्म लाग्यो। उनीहरूले आफ्नो जिज्ञासा रोक्न सकेनन्। भने, ‘अंकलले त टेलिभिजनमा दिनदिनै हल्लिस र योवनत्रास खान्छु भन्नु हुन्छ। त्यसो भए टेलिभिजनमा भनेको कुरा ……?’

उनीहरूको कुरा टुँगिन नपाउँदै धमाल अंकलले भन्नु भयो, ‘त्यसो त म फिल्ममा कहिले बदमास, कहिले असल, कहिले जोगी कहिले जँड्याहा भएर पनि अभिनय गर्छु। त्यसको मतलब म बदमास, जँड्याहा वा जोगी हुँ भन्ने होइन नि। कलाकारले अभिनय गर्दा जे पनि गर्नुपर्छ।’

‘त्यसो हो भने हल्लिस र योवनत्रास खाने कुरा पनि अभिनय मात्रै हो त अंकल?’

‘हो, म सानो छँदा हल्लिस पनि पाइन्नथ्यो। योवनत्रास पनि आएको थिएन। यसैले मुवाले मलाई ख्वाउनु हुने कुरै भएन। यो त विज्ञापनको लागि अभिनय गरेको हो।’

हिरो अंकलको कुरा सुनेर दुबै जना झसँग भए। उनीहरूले आआफ्ना आमाबाको अनुहारतिर हेरे। दुबै जनाका आमाबा हाँसिरहनु भएको थियो।

हिरो अंकलले नास्ता खान नसिध्याउँदै उनीहरू विदा भएर बाहिर निस्के। बाहिर आएपछि कल्पनाले सोधिन्, ‘हैन, यस्ता ठूला कलाकारले पनि ढाँट्नु हुने रहेछ। ढाँटेको कुरालाई अभिनय गरेको रे !’

‘अब बुझ्यौ त कलाकारहरूले व्यापारीको थैली भर्नको लागि झुटो कुरा गरिदिँदा लाखौँ बालबालिकाको स्वास्थमाथि खेलबाड भएको छ। करोडौँ रूपैयाँ विदेशिएको छ,’ सन्देशका बुवाले भन्नुभयो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.