मैले नपढेको किताब

मैले नपढेको किताब




डिस्क्लेमर: एउटा कुरा प्रस्ट पार्न के जरुरी छ भने, मेरा केही नजिकका मित्रहरुले जति धेरै किताब पढेको दाबी गर्ने अवस्थामा म छैन। तैपनि एक्लोपन अनुभूत गर्दा वा आफैंप्रति अलि दिक्क लाग्दा केही पढ्ने प्रयास अवश्य गर्छु। यो अर्को कुरा हो, अरुले लेखेको राम्रो लेख वा पुस्तक पढ्दा आफ्नो अपूर्णता अझ बढी महसुस हुन्छ (आफू पनि कलम खेतीमै रहेकाले होला)। लेखक चिनजानका हुँदा त मेरो इन्फिरियरिटी कम्प्लेक्स छानामाथि पुग्छ।

युवावस्थामा (किशोरावस्थामा आफूलाई युवा ठान्न कति मजा आउँछ) क्रिकेटको लत बस्यो। टिभीमा क्रिकेट हेर्ने, पछि अखबारमा त्यही म्याचको रिपोर्ट पढ्ने र केही साथीसँग त्यसैबारे गफ गर्ने- यसलाई लतबाहेक अरु केही भन्न नमिल्ला। अलि-अलि खेल्ने प्रयास पनि गरियो तर खेल्ने प्रतिभाको कमीले नै होला बढी ध्यान क्रिकेट पढ्नतिरै गयो। स्पोर्टस् स्टार र क्रिकेट सम्राटलाई धर्मग्रन्थ मान्न थालेको त्यही बेला हुनुपर्छ – नब्बेको दशकको पूर्वाद्धमा। र, त्यहीबेला हो यो लाइन पढेको ‘ह्वाट डू दे नो अफ क्रिकेट, हू ओन्ली क्रिकेट नो?’ (What do they know of cricket, who only cricket know?)

उमेर (अनुभव) कम भएर हो वा ज्ञान, अर्थ बुझिएन। अंग्रेजी पढाउने एक स्कुल टिचरलाई अर्थ सोधेको, जवाफ आयो, ‘यसमा सेन्टेन्स स्ट्रक्चर नै मिलेको छैन। अर्थ नै आएन। लेखाइ नै गलत छ।’

गल्ती आफ्नो थियो, त्यो पनि दुइटा। एक त नबुझेको कुरा टिचरलाई सोधिएको थियो। सबै कुरा गुरुले सिकाउन सक्दैनन् भन्ने चेत नखुलेको बेला।  अर्को गल्ती थियो, खेल भनेको मैदानमा मात्र खेलिन्न भनेर चौपट्टै नबुझ्नु। अल्पज्ञान हुँदा पो थप्न सकिन्छ, अज्ञान हुँदा कहाँ थप्न सक्नु।

अहिले गुरु सम्झँदा एउटा अर्को कथा याद आयो। एकपटक सोमरसेटका (बेलायतको एक काउन्टी) एक कोचले एक बालकलाई क्रिकेट ब्याट समातेको तरिका मिलेन भनेछन्। बालकले जवाफ फर्कायो, ‘तर गुरु, डन ब्रयाडम्यानले पनि यसैगरी ब्याट समात्थे र उनले निकै रन बनाए।’

गुरुको जवाफ थियो, ‘हो, तर सोचेर हेर, उनले ब्याट राम्ररी समात्ने गरेको भए अझ कति रन बनाउँथे होला।’

सबै गुरु कहाँ जलालुद्दिन रुमी हुन सक्छन्, ‘सही र गलतभन्दा पर एक बगैंचा छ र म तिमीलाई त्यहीँ भेट्छु’ भन्नलाई। हामीले भेटेका प्रायः गुरु त सही र गलत भनेर खुट्याउँदा खुट्याउँदै जिन्दगी बिताइदिन्छन्- आफ्नो, र हाम्रो पनि।

जे होस्, ‘ह्वाट डू दे नो अफ क्रिकेट, हू ओन्ली क्रिकेट नो?’ ले मलाई जति रनभुल्ल बनाए पनि त्यसको अर्थ धेरैसँग सोध्ने आँट गरिएन। सायद अरुले अंग्रेजी राम्रो छ भनेर फुर्काइदिएकाले होला। ‘सेल्फ पर्सेप्सन थ्योरी’ लाई अलि तन्काएर हेर्दा यसले के भन्छ भने मानिस आफ्नो वरपरका वस्तुहरुको व्याख्या गर्दा आफ्नो व्यवहारको व्याख्याले परिचालित हुन्छन्। यस्तोमा मैले आफ्नोबारे भएका भ्रम तोडेर आफ्नै नजरमा आफ्नो हैसियत कम गर्न नखोजेजस्तो लाग्छ।

धेरै वर्ष त्यो पंक्तिले मथिंगल हल्लाइरह्यो। न अर्थ बुझियो न त कुराको सन्दर्भ (त्यो लाइन लेखिएको स्पोर्टस् स्टार पनि साथीको भएकोले फेरि पढ्ने मेसो पनि मिलेन)। एक्काइसौं शताब्दीको एकाध वर्ष बितिसकेको थियो होला, जब थाहा भो, यो लाइन लेख्नेलाई त अमेरिकी पत्रिका द टाइम्सले ‘अश्वेत प्लेटो’ भनेर सम्बोधन गरेको रहेछ। त्रिनिदादका यी मार्क्सवादी विद्वानको पुस्तकलाई ‘क्रिकेटमा लेखिएको सबैभन्दा राम्रो’ भन्ने त थुप्रै नाम चलेका क्रिकेट लेखकहरु (मैले पनि नाम सुनेका) रहेछन्। जोन आर्लटले ‘विस्डेन’ (क्रिकेटमा रुचि राख्नेहरुको अर्को धर्मग्रन्थ) मा यसलाई क्रिकेटरहरुको बाइबल नै भनिदिए। स्मरण रहोस्, जोन आर्लट बिबिसीको टेस्ट मयाच स्पेसलका लागि चिनिने अंग्रेज पत्रकार थिए, जसलाई ‘भ्वाइस अफ क्रिकेट’ को नामले चिनिन्छ।

आर्लटको शब्दमा ‘१९६३ को वर्ष यस्तो अद्वितीय पुस्तकको प्रकाशनार्थ चिनिनेछ, जसले हरेक समीक्षकलाई समीक्षा लेख्नुअघि आफ्ना विशेषणहरु बारम्बार जाँच्न बाध्य पार्नेछ। लेख्दा समीक्षकले अतिशयोक्ति प्रयोग गर्नुपर्ने भएकाले उसलाई लेखकको बढी प्रशंसा भएको लाग्न सक्छ। यो पुस्तकलाई यसको आवश्यकता छैन किनभने यो क्रिकेटमा लेखिएको अहिलेसम्मकै उत्कृष्ट पुस्तक हो।’

यस्तो थियो, सिरिल लिओनेल रोबर्ट जेम्स (सिएलआर जेम्स) को पुस्तक ‘बियोन्ड अ बाउन्ड्री’ को प्रतिक्रिया। मैले चाहेर पनि अहिलेसम्म पढ्न नसकेको किताब ।

पढ्दै नपढेको किताबको कुरा गर्न सजिलो विषय नहोला। थाहा नभएको गाउँको बाटो बनाउनै खोजेजस्तो। यस कारण त्यो किताबसँग प्रत्यक्ष रुपमा असम्बन्धित तर परोक्ष रुपमा सन्दर्भ मिल्ने केही प्रसंगहरु सम्झिन खोजेको छु।

पहिलो

सन २००१, बलिउडमा दुइटा फिल्मले बजार ततायो। दुवैको विषय भारतीय मिडियाले चर्को स्वरमा उठाउने खालका थिए। एक थियो- ‘गदर’। यसको विषय थियो अतिराष्ट्रवाद (पाकिस्तानविरोधी)। अर्को थियो ‘लगान’ र विषय– क्रिकेट।

यो प्रसंगमा ‘लगान’ ले अलि बढी अर्थ राख्छ। यो एउटा क्रिकेट म्याच, त्यसको तयारी र एक समुदायलाई एकत्रित पार्न लाग्ने मिहिनेतको कथा हो। सम्भवतः पहिलोचोटि बलिउडले खेललाई वर्ग संघर्षको माध्यम बनाएर कथानक तयार पारेको थियो। पहिलोचोटि फिल्मले खेललाई खेलभन्दा बढी महत्व दिएको थियो। यसले धेरैलाई छोयो र १० वर्षपछि टाइम म्यागजिनले ‘उत्कृष्ट २५ खेल सिनेमा’ मा राख्यो।

दोस्रो

नेपालले पहिलोचोटि १९६४ मा टोकियोमा आयोजित ‌ओलम्पिकमा ६ खेलाडी पठाएर देशका रुपमा आफ्नो सहभागिता जनायो। चार वर्षपछि मेक्सिको सिटीमा भएको ‌ओलम्पिकमा भने पठाएन। यो ओलम्पियाडमा अचम्मको घटना भयो (तर नेपालको अनुपस्थितिले होइन)।

२०० मिटरको रेसपश्चात् पदक समारोहमा अश्वेत अमेरिकी स्प्रिन्टरहरु स्वर्ण विजेता टमी स्मिथ र कांस्य विजेता जन कार्लोस पोडियममा उभिए। जब उनीहरुको राष्ट्रिय धुन बज्यो, दुवैले एक-एक हात हावामा उचाले। दुवैको हातमा कालो पन्जा थियो। धुन बजुन्जेल ती हात हावामै रहे। दुवैले ‘मानवअधिकारका लागि ओलम्पिक परियोजना’ को ब्याज लगाएका थिए। सँगै रजत पदक विजेता अष्ट्रेलियाका पिटर नर्मनले पनि त्यस्तै ब्याज लगाएका थिए।

यसलाई नाम दिइयो ‘ब्ल्याक पावर स्याल्यूट’। दुवैले अश्वेतहरुको गरिबी दर्शाउन जुत्ताको ठाउँमा कालो मोजा मात्र लगाएका थिए। भोलिपल्ट यो दुनियाँभरि पहिलो पृष्ठको समाचार बन्यो।

त्यो रेसमा विश्व रेकर्ड बनाएका स्मिथले पछि भने, ‘मैले जितेँ भने म अमेरिकी हुन्छु, कालो अमेरिकी होइन। तर मैले केही नराम्रो गर्दा मलाई निग्रो भनिन्छ। हामी काला छौं र काला हुनुमा गर्व गर्छौं। अश्वेत अमेरिकाले हामीले के गर्यौं, बुझ्नेछ।’

‘मानवअधिकारका लागि ओलम्पिक परियोजना’ का संस्थापक ह्यारी एडवर्ड्सले अश्वेत खेलाडीलाई ओलम्पिक खेल बहिष्कार गर्न एक वर्षदेखि आह्वान गर्दै आएका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक समितिले दुवै अश्वेत खेलाडीलाई आजीवन प्रतिबन्ध लगायो। नर्मन अर्को ओलम्पिकका लागि छानिएनन्। तत्कालीन अन्तर्राष्ट्रिय ओलम्पिक समिति अध्यक्ष एवरी ब्रन्डेजले यसलाई घरेलु राजनीतिक टिप्पणी र ओलम्पिक भावनाविपरित ठाने।

स्मरण रहोस्, यिनै ब्रन्डेज १९३६ बर्लिन ओलम्पिकताका अमेरिकी ओलम्पिक समितिका अध्यक्ष थिए। उनलै जर्मन खेलाडीहरुले गरेको ‘नाजी स्याल्यूट’ लाई राष्ट्रिय स्याल्यूट भएकाले ठीक रहेको बताएका थिए। दोस्रो विश्वयुद्धताका अमेरिकामा रहेका थोरै नाजी समर्थकमा गनिन्थे, ब्रन्डेज।

२८ फेब्रुअरी १९५९ मा त्रिनिदादको अखबार ‘द नेशन’ मा सम्पादकीय छापियो, जसको शीर्षक थियो ‘फ्र्यांक वोरेलले कप्तानी गर्नुपर्छ’। सम्पादकीय लेख्ने थिए वामपन्थी अखबारमा तीन महिना अघि मात्र सम्पादक बनेका सी एल आर जेम्स।

उनको तर्क थियो- टिमका एक मात्र श्वेत खेलाडी गेरी अलेक्जेन्डरको कप्तानीमा वेष्ट इन्डिजले पाकिस्तानसँग कराँचीमा १० विकेटको पराजय भोगेको थियो। र, यो गलत कप्तानका कारण भएको हो।

टिम अप्रिल १९६० मा अष्ट्रेलिया जाने तरखरमा थियो र वोरेलको उपस्थितिमा अनुभवहीन अलेक्जेन्डरको नेतृत्वमा जानु जेम्सको शब्दमा ‘पागलपन’ हुन्थ्यो।

सी एल आर यतिमै चुप लागेनन्। उनको राजनीतिकेन्द्रित अखबारमा सम्पादकीयका रुपमा क्रिकेटमाथिको श्रृंखला चलिरह्यो।

अष्ट्रेलियाका लागि टिम छनौट हुनु एक महिनाअघि ४ मार्च १९६० मा सम्पादकीयको एक लाइन थियो ‘क्रिकेट बोर्डलाई थाहा हुनुपर्छ, विश्वको आँखा उनीहरुमाथि छ। हो, विश्वकै आँखा। वोरेललाई नछान्नु लडाइँको सुरुआत मानिनेछ।’

जब अप्रिलमा वोरेललाई कप्तान बनाइयो, जेम्ससहित अश्वेतलाई अरुभन्दा कम नआँक्नेहरु सबैले यो लडाइँ जिते।

यसभन्दा केही अघि मात्र १८ मार्चमा जेम्सको अर्को लेख आएको थियो, जसमा श्वेत खेलाडीको कप्तानीले वेष्ट इन्डिजलाई खण्डहर बनायो भनिएको थियो। यो भनाइ खेलमात्रका लागि थिएन। यो जेम्सको राजनीतिक विचारधारा पनि थियो।

सन् ५० को दशक वेष्ट इन्डिजका लागि अत्यन्त महत्वपूर्ण दशक रह्यो। यो दशकमा अश्वेत चेतना विश्वमा फैलिएन मात्र, यसले वेष्ट इन्डियन फेडरेसनको बीजारोपण पनि गर्यो।

मूलतः अश्वेत पश्चिम अफ्रिकीहरुको बसोबास भएको यो टापू समूहले बेलायती उपनिवेशबाट एकै ढिक्कामा एकै राज्यका रुपमा स्वतन्त्र हुने सपना देखेका थिए, वेष्ट इन्डियन फेडरेसनका रुपमा। यो धेरै हदसम्म क्यानेडियन कन्फेडरेसन, अष्ट्रेलियन कमनवेल्थ वा सेन्ट्रल अफ्रिकन कन्फेडरेसनहरुसँग मेल खान्थ्यो। जेम्स यसका ठूला हिमायती थिए। यो राजनीतिक संघ १९५८ देखि १९६२ सम्म मात्र चल्यो र आन्तरिक कलहका कारण आफ्नो उद्देश्य पूरा गर्न सकेन। यद्यपि विश्वभरि नै चलिरहेको अश्वेत आन्दोलनमा यसको योगदान ठूलो रह्यो।

अश्वेत खेलाडीहरुले वर्षौं आफूलाई कति अपमानित अनुभूत गरेको हुनुपर्छ भन्ने अनुमान यसबाट लगाउन सकिन्छ होला।

क्रिकेटर गेरी अलेक्जेन्डरलाई वेष्ट इन्डिजको अन्तिम श्वेत कप्तान भनिन्छ। स्मरण रहोस्, अन्तिम श्वेत कप्तान न कि ‘अहिलेसम्मको अन्तिम’। मानौं अब वेष्ट इन्डिजमा अब श्वेत क्रिकेटर कप्तान हुनै सक्दैनन्। यो ऐतिहासिक भूललाई सच्याउने प्रयास हो वा भूललाई छोप्ने अर्को भूल, खुट्याउन गार्हो छ।

अंग्रेजी भाषाका शानदार कवि र लेखक तर अंग्रेजी उपनिवेशवादका हिमायती रडयार्ड किप्लिङको कविता ‘इंग्लिश फ्ल्याग’ को लाइन छः

‘ह्वाट शूड दे नो अफ इंग्ल्याण्ड, हू ओन्ली इंग्ल्याण्ड नो’

(What should they know of England who only England know?)

(यसको अर्थ हुन जान्छः बेलायत मात्र थाहा हुनेलाई बेलायतबारे के थाहा हुनु पर्यो र?)

सम्भवतः सी एल आर – जो बेलायतमा लामो समय बिताए पनि बेलायतको औपनिवेशिक आचरणका प्रखर विरोधी थिए – त्यही लाइनको जवाफ दिँदै थिए ‘ह्वाट डू दे नो अफ क्रिकेट, हू ओन्ली क्रिकेट नो ?’ भन्ने बेला। क्रिकेट बेलायतबाट फैलिए पनि यो किताब छापिने बेला बेलायती टिमलाई हराउने अरु भइसकेका थिए।

‘बियोन्ड अ बाउन्ड्री’ का सुरुआती पन्नाहरुमा (मैले पढ्न पाएको थोरैमात्र अंशमा) सी एल आर लेख्छन्-

‘हाम्रो घर गजब ठाउँमा थियो, ठ्याक्कै विकेटको पछाडि। एउटा बडेमानको रुख र अर्को एउटा घरले मैदानको केही भाग छेक्थ्यो। तर, हाम्रो बेडरुममा अम्पायर उभिएको भए मिल्थ्यो। एउटा कुर्सीमा उभिएर छ वर्षको एक बालकले हरेक दिउँसो अभ्यास र शनिबार म्याच हेर्न पाउँथ्यो। कुर्सीबाट ऊ झ्यालमाथि चढ्न सक्थ्यो र हात तन्काएर दराजमाथिका किताबहरुसम्म पुग्न सक्थ्यो। यति चाँडै मेरो जिन्दगीको ढाँचा बनिसकेको थियो।’

जेम्सले बाल्यावस्थामै क्रिकेट हेरेर, खेलेर र पढेर हरेक सामाजिक घटनालाई क्रिकेटकै आधारमा हेर्ने विधि बनाए। त्यति मात्र होइन, जेम्सले सानै छँदा स्वाभाविक रुपमा मानव अनुभवको गहन पत्रमा भएको एक आयाम भेटे। त्यो के भने, क्रिकेट आफैंमा सम्पूर्णता हो। त्यति मात्र होइन, उनले यो बताए, वेष्ट इन्डियनहरुले क्रिकेटको जगमा कसरी एक राजनीतिक राष्ट्रको आकार दिए।

यो किताब मात्र क्रिकेटबारे थिएन। ती सबै आयामबारे थियो जसले क्रिकेट, संस्कृति, उपनिवेशवाद र रंगभेद जोड्छन् । संभवतः उन्नाइसौं र बीसौं शताब्दीमा अमेरिकी निग्रो बेसबल लिगजस्तै जो आफैंमा नश्लीय उत्पीडन र रंगभेद दुवैका प्रतीक थिए।

क्यारेबियन क्षेत्रका अर्का हस्ती वी एस नाइपालले भनेका छन्, ‘मलाई जेम्सको करिअरमा विशेष रुचि छ। तीस वर्षपछि उनकै पदचिह्न पच्छ्याएकाले होला। मैले क्रिकेट हेरेँ मात्र। हाम्रो पृष्ठभूमि फरक थियो। उनको निग्रो, शुद्धिवादी, तल्लो वर्गले अशुद्ध बनाउला भन्नेमा सधैं सशंकित। मेरो हिन्दु, प्रतिबन्धित, बन्द खाले। तर हामी दुवैले एकै भाषा बोल्यौं र त्रिनिदाद बाहिर चिनिन सक्यौं।’

सर विदियाधर सूरजप्रसाद नाइपालको शब्दमा यो किताब ‘वेस्ट इन्डिजबाट आएका उत्कृष्टतम र पूर्ण पुस्तकमध्ये एक’ हो । नोबेल पुरस्कार विजेताले नै यस्तो भनिसकेपछि नकार्न सकिएला र?

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.