फूलको बाटो


फूलको बाटो रोजेकी रुकु रिभाबाट कौशला भई!

काम्रेड विशालले न्वारन गरेर क्रान्ति पढाउन थाल्यो, ‘तिमीजस्तै साहसी युवतीहरुले क्रान्ति सफल पार्ने हुन्। साहस बटुलेर अघि लाग काम्रेड कौशला!’

समुद्रबाट सबैतिर पहेँलो पानी थियो। बीचबाट ठूलो रातो माछा निस्कियो। माछाको आकार बढ्दै गयो। ठूलो ठूलो झन् ठुलो! माछाले मुखमा सेतो गुलावको फूल च्यापेको थियो। फूलसहितको माछा नजिक नजिक झन् नजिक आयो। सेतो गुलावको फूलसहित रुकुभित्र प्रवेश गर्यो!

‘रुकु गौतम।

सोह्र वर्ष।’

उसले बेबीलाई मास्टरनी मानेर जवाफ दिई। साहुले रुकुको गाला चिमोट्दा लग्लग् कामी। काम सिकाइदिन बेबीकै जिम्मा लगायो। बेबी- भर्रभराउँदो अनुहार, कसिलो छाति, सुकेका नितम्ब थिए।

‘आम्बो! अहिले काम्न थालेकी …सेक्सी…सुड्डोहरु डल्लै पर्छ त!’ बोली नसालु थियो, स्वर धोद्रो केटाको जस्तो, बेबी ग्राहक रिझाउने कलाकी मास्टरनी हो।

साहुले एउटीसँग रिसाएर लगाएको कुर्थासुरुवाल ध्वाररै च्यातिदियो। हरेक युवतीले छोटो पारदर्शी लुगा लगाउनु पथ्र्याे।

‘आम्बो! तँलाई साउनीको छोरोले भ्याउन खोजेथ्यो! …अहिलेसम्म भर्जिन?’ बेबीले ओठको लिपिष्टिक मिलाउँदै दृश्यमा देखाई सेक्स बुझाउने संकेत! रुकुले बुझिन।

‘आम्बो पाइला पाइलामा रिक्स छ हो, कसैसँग सुत्न चाहन्नस् नो प्रब्लम …आँट चाहिन्छ,’ उसले आँखा बाहिरको छाला, परेला रंगिन बनाई।

तर कोको सँग, कसरी जोगिने हो, उसलाई के थाहा! मनको पोखरीमा डरको दह जम्यो।

नसालु गीत बज्यो। युवतीहरु त्यही गीतका नायिका हुन्! कोही फोनमा कुरा गर्दै थिए। कोही गीतसँगै छाती, नितम्ब जाँतो जसरी घुमाइरहेका!

ठूलो काउन्टरमा सिसाभित्र किसिमकिसिमका बोत्तलमा रक्सी थिए। टेबलमा चम्चा, काँटा, थिए प्लेटमाथि। खैरो टेबलपोस थियो। किचनबाट निस्किएको पकवानको सुगन्ध त्यही गीतमा साल्सा नाचिरहेको थियो।

‘सब्बै सुड्डोहरुसँग मस्किएर बोल्नुपर्छ हो मन नलागे पनि। तेरो नाम चेन्ज हान्दिएँ …गाउँले नामले सुड्डोहरु पटि्टँदैनन्। आम्बो साउले मलाई बेलीबाट बेबी बनायो हो, तँ …रुकुबाट …रिभा …आम्बो क्या दामी न्वारन हान्दिएँ तेरो!’ उसले तिघ्रामै टाँसिएको सुरुवाल माथि तानी, तानेको सुरुवाल हो की छाला! ‘नयाँमा टक्क अफिसमा बस्ने हो, फोन हान्दै सुड्डोहरुलाई बोलाउने … आफूले बोलाएको सुड्डोले धेरै बिल चढाउँछ …आम्बो कमिसन!’ जिउ बास्नादार बनाउन केही समय खर्ची। उसको जिउबाट निस्किएको बास्नाले किचेनको बास्नालाई जित्यो। उसको कुरा रिभातिर ध्यान जिउ सिँगार्नेतिर थियो।

‘च्वाँक नभए हेर्दैनन् हो, देख्नेबित्तिकै सुड्डोहरुले र्याल काढुन् न … तप्प!’ छुँदा दाग लाग्ला जस्तो बनाई शरीर सबैतिर।

‘डन्ट वरी, तँ सेक्सी छेस् हो, आम्बो छाला अलिअलि चाउरी पर्‍यो भने साउले फायर हान्छ! छाती पोटिलो छ काम पाइस्!’ दाहिने हातलाई छातीभित्र घुसारेर मिलाई।

‘आम्बो भर्जिन बस्छु ठान्छेस्! …बाईबाई …बरु अन्तै काम खोज्।’ शरीर तलदेखि माथिसम्म हेर्दै यो जवाफ रिभाको अप्ठ्यारोपनालाई दिई।

‘१६ दिन भयो काम खोजेको …के खाने … बस्ने कहाँ!’ रिभाको स्वर दबियो।

‘साला! हाम्रो वाध्यता … तँलाई यो लाइन फाप्छ। सुड्डोहरु रिझाइस् भने मालामाल …आम्बो बिहे हानेर अमेरिका लाने आउँछ हो …आफ्नो भागमा धोका मात्रै!’ रिभा हौसिन।

बजिरहेको गीतमा रंगिन बत्तीहरुले साल्सा सुरु गरे।

‘सुड्डोहरुसँग रक्सी खानुपर्छ हो …सँगै बस्नुपर्छ। आम्बो सबैतिर सुम्सुम्याउँछ, चिमोट्छ, टोक्छ, हो, …सहिदिनुपर्छ। …आम्बो ट्वाल्ल परिस् त! सुड्डोहरु मस्ती गर्नै बुढी छोडेर आउँछ।’

रुकुको मन डरले ढक्क फुल्यो।

‘सुड्डोहरु आउन थाल्यो, अरु भोली सिकाउँला, यो लुगा लगा …तेरो नाम …रिभा! आम्बो टेबल नं. १६ मा नजा,’ रिभालाई नमुना लुगा दिएर चुच्चा जुत्ता पड्काउँदै हिँड्दा डस्न तयार नागिनझैँ देखिई बेबी।

नयाँ पहिरनमा धेरैले ‘क्या सेक्सी’ भन्दै गाला चिमोट्दा रिस उठ्यो। रिभालाई मन लागेको रुन हो तर आँशु पनि त्यही गीतमा साल्सा नाच्न थाल्यो। सबै नसालु देखिन्थे, कोही आफ्ना ग्राहकसँग मस्त! दुइटी ढोकामा थिए। ग्राहकहरु भित्र छिर्दा मस्किनु पर्ने, उनीहरुले जहाँ मन लाग्यो त्यहीँ चिमोट्न पाउने!

भित्र पस्ने, बाहिर निस्किनेले चिमोटेकोले कम्मरदेखि टाउकोसम्मै पोल्न थाल्यो। कोही मात्न थाले। बेबी कता हराई? ग्राहकसँग बसेर खाइरहेका केटीहरु उठ्नै छोडे। रिभाले पनि त्यसै गर्नुपर्ने हो कि! एउटै मुस्लो बनेर मडारिएको चुरोटको धुवाँ र रक्सीको गन्धले टाउको दुख्न थाल्यो। रिङ्गटा लाग्यो।

‘याँ नयाँ केटी टिक्दैनन्, तेरो पनि उहि ताल हो!’ भाँडा माझ्नेले पनि गाला चिमोट्दै भन्यो।

रिभाको पीडा पनि साल्सा नाच्न थाल्यो!

रिभा तिनपटक किचनमा, एकपटक भाँडा माझ्ने ठाउँमा पुगी। ज-जसले जता पुग्न भने त्यतै पुगी। ग्राहक, रक्सीको गन्ध, कामदारको ओहोर-दोहोरले जनाउ दियो रेष्टुरेन्टको व्यापार मध्य भयो।

‘टेबल नं. १६ मा वेटर कोही छैन … रिभालाई पठाइदिउँ,’ एउटीले रिभालाई देखाई। हो-हल्ला चर्काे थियो। केही टेबल खाली भए। कुनैमा भने गहन कुरामा बहस चलेझैं लाग्यो। स्टेजमा केटी नाचिरहेकी थिई। नाच्नेको शरीर हो की रबर, अनुमान गर्न सकिन्न। नसालु शरीर कति ठाउँमा भाँचेकी!

घडीका सुईहरु साल्सा नाचिरहेका थिए। कति ढिलो चलेको समय!

‘रिभा, टेबल नं. १६ मा जा,’ आदेश पाएकी रिभालाई अँध्यारोभित्रै पहाडले थिचेझैँ लाग्यो।

‘जा, गेष्टले तँलाई खोज्यो! रिसाउने होइन।’ रिभा सितांग बनी। हातमा थमाइएको किस्ती बोकेर टेबलतिर लागी। राम्रा लुगा लगाएका, मिठो कुरा गरिरहेका चारजना मस्तीले गफ चुटिरहेका थिए। एकतिरका दुईजनाले डायरी बोकेका थिए, विद्यार्थी जस्ता लाग्थे। अर्काेतिरका दुईजना अलि मोटा थिए, व्यापारी जस्ता!

‘सेक्सी यता!’ एउटाले तान्यो। अर्काे टेबलबाट एउटा कुर्सी त्यो टेबलतिर घिसार्याे। रिभाले बस्न मानिन। ‘नयाँ माल, सेक्सी!’ अर्काेले गाला चिमोट्दा रिभा पछाडि सरी। चारैजनाले केही नगर्ने आश्वासनका साथ नडराउन सल्लाह दिई बस्न बाध्य पारे। सतर्कता अपनाएर बस्दै कुर्सी विद्यार्थीजस्ता देखिनेतिर सारी। लोग्नेमान्छेको गन्ध नमिठो लाग्यो उसलाई!

त्यो टेबलबाट स्टेज प्रस्ट देखिन्थ्यो! टेबलमा रक्सिका गिलास, मासुका प्लेटसँगै उनीहरु साल्सामा रमाए। चारैजनाका आ-आफ्नै कुरा के हुन् रिभालाई बुझ्नु थिएन।

‘बहिनीलाई कतै देखेको जस्तो लाग्यो, नयाँ हो?’ एउटाले सोध्दा रिभा बोल्न सकिन।

‘दश बजिसक्यो।’ हिँड्ने सुरसारले एउटा उठ्यो।

‘विदेश जान्छेस्? राम्रो कमाई हुने ठाउँमा पुर्याईदिन्छु, मालामाल!’ एउटाले रक्सीको गिलास टेबलमा ठोक्यो, रिभाले दिने जवाफ पाइन।

‘ओई हट डान्स लगा!’ चर्काे मातेको आवाज सुनियो।

‘नडराउ म पुलिस हुँ।’ त्यो मान्छे आएदेखि बोलेको थिएन। अर्काे मान्छे फोनमा कुरा गर्न थाल्यो।

‘जाउँ सर। फोन आयो।’ एउटाले भनेपछि उनीहरु पैसा नतिरी गए।

‘ओई हट डान्स लगा … के हामी म्याक्सी हेर्न आको याँ? यस्तो म्याक्सी त घरको बुढीले लगाउँछे।’ टेबल खाली हुने बित्तिकै तिनजना मात्तिएर त्यो टेबलमा हुत्तिए। रिभालाई त्यही टेबलमा बस्ने आदेश आयो। वातावरणले रिभालाई मत्ताइदियो। ऊ छेउमा बसी। तीनजनाले बीचमा ताने। रिभाले मानिन।

‘आमाको काखमा बस्छेस्?’ एउटाको ‘राक्षसी’ आवाज थियो यो। तिनीहरुले रक्सीसँगै साल्सा अनि रिभालाई चिमोट्दै यौवन पिए। रिभाको चिच्याहट साल्सामा बिलायो।

लाग्यो, शहर गरिबको पिडामा साल्सा नाच्छ!

रक्सी कोच्याइदियो। काखमा राख्यो। नर्तकी फेरिएपछि साल्सा नाच चर्कियो। रात चर्कियो। दुइटा मात्र अङ्ग छोपेर मैदानमा उत्रिएकी नर्तकी वरिपरि सबैजना झुम्मिए।

‘तँ नयाँ माल होइनस् … सेक्सी! कति वर्षकी?’

‘सोह्र।’ रिभाले चाहेर दिएको जवाफ हैन।

‘सोह्र! वाह! मेरो लक्की नं. … भर्जिन छेस्?’ एउटाले च्याप्प समायो। फुत्किन गरेको प्रयास व्यर्थ भयो।

‘आज यो मेरी!’ फेरि भन्यो। रिभाले पसिनाले नुहाई। जिउ पाकेको आँपझैँ गिल्गिलाए।

समय अझै साल्सामै बिलिन थियो! तिनीहरुको ध्यान नर्तकीको नग्नतामा झुम्मियो। नर्तकीले लगाएका दुईवटा लुगा फाली। आफ्नै जिउ पनि त्यसरी नहेरेकी रिभा मौका निकालेर फुत्किई।

नग्नतामा पैसा उडाए। कसैले नर्तकीको शरीरमा चढाएको रक्सी पञ्चामृत सम्झेर चाटे। बाउन्सरले सबैलाई नियन्त्रण गर्यो‍। नर्तकीको पैसा सोहोर्न अर्की आई। तर्सिएकी रिभा बेबीलाई खोज्न थाली। बेबी एउटा टेबलमा थिई ग्राहक डसिरहेकी! त्यहाँ पुग्न आँट नआएर किचनमा पसी। सबैजनाले रिभाको भयलाई हाँसोमा मिसाए। किचनमा एउटाले तल हात छिराएर चिमोट्यो। रिभाले त्यसको गालामा बेस्सरी झापड लगाई, केटो थुचुक्कै बस्यो। बेबी काउन्टरतिर गई। रिभा उसको नजिक पुगी। उसको भयमा हाँसी। बेबी बिल लिएर टेबल नं. सोह्रमा गई।

‘मेरो लक्की नं. १६।’ टेबल नं. सोह्रमा एउटा ग्राहक रिभालाई पुकारिरहेको थियो। बेबीले भित्र लुक्ने ठाउँ देखाई। रिभाले अँध्यारो, गन्हाउने ठाउँमा लुकेर लुगा फेरी। हल्लाखल्लाकै बीचबाट एउटाले रिभालाई भित्रैबाट गाडीसम्म पु¥यायो।

स्टाफहरु गाडीमा आ-आफ्नै सुरमा थिए। ऊ नडराउन सकिन। आँसु बगिरह्यो। गाडीमा सबै जिस्किरहे। बेबी आई। गाडी गुडेपछि गीत गुन्जियो। सबै मस्तीमा थिए। ‘तेरो रुम कहाँ हो?’ बेबीले सोधी।

‘कौशलटार।’

‘कौशलटार त भोलि बिहान आठ बजे पनि पुगिँदैन,’ ड्राईभर ठूलो स्वरले करायो।

‘आज यसलाई म लान्छु,’ बाउन्सरको बोलीले सबैलाई हँसायो।

‘आम्बो आज मसँगै सुत्।’ बेबीको मुखबाट रक्सीको गन्ध आयो। उसलाई बेबीको विश्वास लागेन।

‘रोक्नु रोक्नु, याँ पनि मेरो कोठा छ,’ रिभाले गाडि रोक्न लगाई। उसलाई पठाउन नचाहने सबैजना छक्क परे। गाडी रोकिएपछि अँध्यारो सडकमा ऊ झरी। गाडी गुडेर परसम्म पुग्दा नसालु हल्ला सुनिइरहेको थियो।

ऊ त्यही आफु सुत्ने पाटीअगाडि ओर्लिएकी थिई। अरु सोह्र जना केटीहरु निदाइसके! ऊ भित्तामा टाउको अड्याएर एक सय सोह्र मिनेटसम्म रोई!

असंख्य उज्याला मान्छेहरु थिए, सबै ऐनाजस्ता टल्किरहेका। उनीहरुको हातमा कालो गुलाव थियो। ती सबै अगाडि बढे। अझै अगाडि, निकै अगाडि र रुकुभित्रै बिलिन भए।

दुर्भाग्य! रुकुको भाइ बित्यो। बा-आमाले औधी रहरले जन्माएको छोरोको न्वारानै गर्न पाएनन्।

विदेश गएपछि झुप्रो घरले रुप फेर्छ, रुकुकी आमा सोच्दथिन्।

‘हुत्तिहारा!’ आमाले रिसाउँदै भनाभनको अर्काे श्रृंखला उद्घाटन गरिन्, ‘तिमी मात्रै हो, गाउँका यत्रा मान्छे विदेश गइसके।’

‘क्यारे, पैसो हुनु परेन? कस्ले दिन्छ?’ बाको रिस कम थियो, निराशा ज्यादा।

‘गाउँका सबै आफ्नै पैसाले गएका होलान्! त्यो रामजीको के हालत थियो? छोराले पठाको पैसाले पक्की घर बनाइसक्यो। लोग्नेमान्छे भएको यस्तो हुत्तिहारा!’ आमाको रिस शान्त भएन, बढ्दै गयो। रुकु भुटेका फूल मकै चपाउँदै थिई।

‘क्यारे, सोह्र दिन भइसक्यो पैसा खोजेको, कसैले दिए पो!’ बाको भागमा रिस भन्दा बढी निराशा थियो।

‘दिने ठाउँमा जाउ …भिसा झरिसक्या छ, पैसा जुटाउन सक्नु छैन …नामर्द!’ आमा झन् च्याँट्ठिइन्।

‘क्यारे, आज पनि दिनभर गाउँ डुलेँ, कसैले दिएनन्, आफ्नो मर्का कस्ले बुझ्छ!’ बाको अनुहार आँशु झर्लाझैँ देखियो।

‘चिम्सीकाँ गएनौँ, त्यसको पोइले विदेशबाट पैसो पठाई र’च।’

‘दिन्छे त्यसले। क्यारे, आज त्यसकै घर ढुक्याथेँ। सदरमुकाममा जग्गा किन्छु, माइतीले चलाका छन्, साथाँ छैन भनी। त्यसको पछिपछि लागेर हिँडेको देखेँ भने …।’ बाको रिस गाईको दुधमा पानी मिसाएझैँ पातलो भयो।

आमाले अगेनाबाट तरकारीको कराई निकालेपछि बाको अनुहार रातो देखियो। लामा हात अगेनातिर तन्काए।

‘क्यारे, मानकाजीले पनि देलान् कि नदेलान्, पुरानै रिन बाँकी छ।’ थोरै आशा बढाउँदा पनि बाभित्रको निरासा फिक्का भइहालेको थिएन।

‘म जान्दिनँ, घरजग्गा थिचेर भए पनि पैसा उतार,’ आमाले अभावै अभावको थाल फिँजाइन्। त्यो रात रुकुका बाआमाले कुराकै ओछ्यान लगाए, कुराकै ओढ्ने ओढे। रुकु आमापट्टी सुतेकी थिई। गनगनले निद्रा लागेन। उसका बा रातभरी ओछ्यानमा छटपटिए। दुईचोटी उठेर पानी पिए।

रुकुको घरमा खाने सामल मामाघरबाट आउँथ्यो। बालाई जे काम गर्दा पनि भएन। बाले पैसा कमाएदेखि रुकु स्कुल जान पाउँथिन्।

एकदिन आमाले पानी ल्याएर भात पकाइसकिन्। चाँडै आएका बाको मुहारमा खुसी हिउँदको घाम बनेर झुल्कियो।

‘मानकाजीले बल्लबल्ल माने। क्यारे, वर्ष दिनभित्र साउँब्याज फिर्ता नगरे घरबाट निकाल्छु भनेका छन्।’ बा अलिकति हाँस्न खोजे।

‘त्यसै दिए?’ आमाका आँखा चम्किए।

‘दिन्छन्! क्यारे, घरजग्गा थिचेको छु।’ हिउँदको घामलाई हुस्सुले ढाक्यो। ‘क्यारे, तैँले भनेकी होस्।’ बाआमाको मुहार अँध्यारो भयो।

‘जे त पर्ला, कमाएर तिरौँला।’ आमाले आँखा पुछिन्।

म्यानपावरका मान्छे आए। विदेशमा कमाउनेबित्तिकै पैसा पठाइदिने, ऋण तिर्ने, रुकु स्कुल जाने कुराले सबैको मन फुरुङ्ग भयो। दुई दिनपछि रुकुका बा विदेश जानलाई काठमाडौं गए।

‘क्यारे, पैसा पैठायो तिम्रो पोईले?’ बाकै लवज बोल्दै सन्तेले गिज्यायो। सन्तेलाई एक एक महिनामा पठाउन थाले मानकाजीले। हरेक पटक धम्क्याएर जान्थ्यो। उनीहरु बेखबर थिए बाउबाट पनि, पैसाबाट पनि। पठाउने म्यानपावरका मान्छेलाई चिनेकै थिएनन्।

‘अब क्यारी तिर्छेस् ऋण? सोह्र महिनासम्म पनि लोग्नेले पैसा पठाएन!’ मानकाजी साहु नै आएका थिए। सन्तेले सबै बाख्रा खसी डोर्यायो। जाने बेलामा सन्तेले रुकुको गाला चिमोट्यो, ‘जान्छेस् भने तँ पनि हिन्।’

विदेशिएका रुकुका बा हराए। ऋण तिर्ने उपाय शुन्य भयो। मानकाजीलाई उनीहरुको रोदन, भोको पेट, थोत्रा लुगाले छोएन। ढोकामा लागेको ताल्चा मुखमा पनि लाग्यो। रित्ता उनीहरु काठमाडौंतिर लाग्दा रुकुकी आमासँग थियो- जम्मा सोह्र रुपियाँ! रुकु दश वर्षकी थिई। आमा खाली खुट्टा, रुकुले छिनेको चप्पल हातमा बोकी।

तीन रात सडकमा सुते, भोकै। भोकले हात फैलाउन बाध्य बनायो। आमा माग्न निस्किन्। रुकु सडकमै सुतेकी थिई। माग्न गएकी आमा भोलीपल्ट उज्यालो हुँदासम्म फर्किनन्। उसकी आमालाई गाडीले ठक्कर दियो। बेवारिसे लास वीर अस्पतालको शव गृहमा पुग्यो।

त्यसदिनदेखि एक्लिएकी रुकु मागेर पेट भर्न थाली।

‘काम गरेर खा।’ एउटी महिलाले भनी। उसैले एउटा होटलमा भाँडा माझ्न राखिदिई। आफ्नो आकारभन्दा ठूला भाँडा माझेर पनि पेट भर खान पाइन। सहेर काम गरिरही। यत्रो सहरमा उसलाई सहारा भएको थियो। एकदिन बिरामी भएको बेला साहुनीको छोराले अस्पताल लिएर गयो।

‘तँ यत्रो काम छोडेर हिजो कहाँ गकी हो?’ साहुनीले रिसाउँदै भनी।

‘सानो मालिकले अस्पताल लिएर जानु भको।’ रुकुको मलिन आवाज निस्कियो।

‘तँलाई सानो मालिक … मेरो छोरोलाई बिगार्न खोजेकी!’ साहुनी राक्षस बनेर जाइलाग्दा डरले लग्लगी कामी।

‘अझ रुन्छेस्?’ साहुनीको मुक्का रुकुको मुखमा बज्रिँदा आँशुका धारा बग्न थाले।

साहुनीको छोरो उसलाई माया देखाउन आउँथ्यो, सम्झाउँथ्यो। अचानक एकदिन साहुनीको छोरो रुकु सुत्ने ठाउँमा आयो। त्यसदिन उसको ब्यहोराले रुकु डराई। रक्सी पिएको उसले जबरजस्ती गर्न खोज्यो। इज्जत जोगाउन हानेर भागी।

सडकमै जीवन काट्ने अरु केटीहरुको आडमा त्यो रात रुकु पाटीको भित्तामा टाउको अड्याएर सुती।

घना जंगलभित्र रुखहरु सबै राता थिए, सबैतिर गाढा रातो मात्रै! राता रुखहरुबाट एकनास झरिरहेका थिए सेता पातहरु। त्यसक्षण जंगलभित्र उडिरहेका थिए पहेँला बाजहरु। बाजहरुको चुच्चोमा थियो हरियो गुलाबको फूल। बाजहरु उड्दै आए, नजिक आए, अझ नजिक आए र रुकुभित्रै हराए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.