रानीको पाटे छाउरो

बालकथा: सुनौं/सुनाअौं


रानी कुकुरको छाउरो भनेपछि हुरुक्क हुन्छे। बाटामा हिँड्दा होस् या चौरमा खेल्दा, छाउरो देख्यो कि ऊ बोलाउन थालिहाल्छे- च्यु … च्यु…!

रानीका आप्पा ट्रक चलाउनुहुन्छ। मान्छेलाई चाहिने अनेकथरी सामान पु॒र्‍याउन र ओसार्न टाढा-टाढा जानुहुन्छ।

रानीलाई छाउरो मन पर्छ भन्ने कुरो आप्पालाई पनि राम्ररी थाहा छ। त्यसैले त कुकुरको छाउरो देख्यो कि, उहाँलाई रानीको झ-झल्को आइहाल्छ।

एकदिनको कुरो हो, रानीको आप्पा र उहाँका साथीहरु राजमार्ग छेउको एउटा पसलमा ट्रक रोकेर चिया खाँदै हुनुहुन्थ्यो। एउटा कुकुरको छाउरो खेल्दै त्यहीँ आइपुग्यो। छाउरोको जिउ सेतो तर देब्रे कान र पुच्छरचाहिँ कालो थियो। उसका लामा-लामा रौंले उसका आँखा झण्डै झण्डै छेकेको थियो।

खासमा त्यो झ्याप्ले छाउरो रानीको आप्पाको रंगीचंगी ट्रक देखेर त्यहाँ आएको थियो। ट्रकमा गुलाबी रंगको भुइँमा हरियो, रातो, पहेँलो बुट्टा  देखिन्थ्यो। अगाडिपट्टिको झ्याललाई घेरा हालेर रंगीबिरंगी बत्ती जोडिएको थियो। साँझ परेपछि त्यही बत्ती बालेर रानीका आप्पा ट्रकलाई उज्यालो पार्नुहुन्थ्यो। त्यसो गरेपछि अँध्यारोमा ट्रक टाढैबाट पनि झिलिमिली देखिन्थ्यो।

पाटे छाउरोलाई त्यो ट्रक साह्रै राम्रो लाग्यो। पहिले त्यसले ट्रकलाई वरिपरि घुमेर हेर्यो। त्यसपछि उफ्रीउफ्री ट्रकमा चढ्न खोज्यो। तर त्यो फुच्चे छाउरो जति बल गरेर उफ्रे पनि चढ्नचाहिँ सकेन।

‘आहा कति राम्रो छाउरो! रानीले देखी भने कति खुसी हुन्छे होला,’ आप्पाले मनमनै भन्नुभयो। मुखलेचाहिँ पाटेलाई बिस्कुट खान बोलाउनु भयो, ‘पाटे, ला बिस्कुट खा।’

गुलियो बिस्कुट देखेर पाटे कुदेर रानीको आप्पाछेउ पुग्यो। अनि हातैबाट खोसेर बिस्कुट खान थाल्यो। रानीको आप्पाचाहिँ रमाइलो मानेर उसले खाएको हेरिरहनुभयो।

‘घरमा मेरी सानी छोरी छे। ऊसँग खेल्न मेरो घर जान्छस् पाटे?’ आप्पाले सोध्नुभयो।

मान्छेको कुरा छाउरोले किन बुझ्थ्यो र?

तैपनि, आप्पाले उसलाई देखाउनु भएको मायाचाहिँ उसले बुझ्यो। बिस्कुट खाइसकेर जिब्रो घुमाउँदै मुख सफा गर्यो। अनि आप्पालाई हेर्दै पहिले भुक्यो अनि पुच्छर हल्लायो। उहाँले पनि छाउरोको भाषा त के बुझ्नुहुन्थ्यो र, तर पाटे खुसी भएको कुराचाहिँ बुझिहाल्नु भयो।

‘आइज घर जाऔं,’ आप्पाले हात दिनुभयो। पाटे पनि बुरुक्क उफ्रेर आप्पाको बुई चढ्यो। आप्पा खुसी हुनुभएको देखेर पाटे फुर्कियो। उसले आप्पाको गालामा चाट्न थाल्यो। आप्पा ठूलो स्वरले हाँस्नुभयो, पाटे झन फुर्कियो। अर्को गाला पनि चाट्न खोज्दै थियो, आप्पाले अनुहार भगाउनु भयो।

ट्रकमा बसेपछि आप्पाले पाटेलाई भुइँमा राख्न खोज्नुभयो। तर पाटे मानेन। अटेर गरेर गाडी चलाइरहनु भएको आप्पाको काखमै बस्यो।

रातभरी ट्रक चलाएर घर पुग्दा रानी भरखर उठ्दै थिई। आप्पा घर आइपुग्नु भएको चाल पाएर ऊ आँखा मिच्दै उहाँकै छेउमा आई। ‘तिमीलाई मैले साथी ल्याई दिएको छु नि,’ आप्पाले हाँसेर भन्नुभयो। अनि पछाडि लुकिराखेको पाटेलाई देखाउनुभयो।

छक्क परेकी रानीका आँखा ठूला-ठूला भए, मुख उघ्रिएको उघ्रियै भयो। एकछिन त ऊ छाउरोलाई हेरेको हेर्यै भई। त्यसपछि दगुरेर पाटेलाई दुवै हातले अगाडिको खुट्टाबाट समाएर माथि उचाली। अनि खुसीले कराउँदै नाच्न थाली, ‘मेरो नयाँ साथी, मेरो नयाँ साथी!’

रानी र पाटे छोटो समयमै मिल्ने साथी भए। जहाँ जहाँ रानी जान्थी, पाटे पनि पछ्याउँदै आइहाल्थ्यो। कहिले रानीको अघि-पछि कुद्दै भुक्थ्यो। कहिले चाहिँ रानीलाई हेर्दै पुच्छर हल्लाउँथ्यो। त्यसपछि त रानी फुर्केर पाटेलाई अगाडिको खुट्टातिरबाट दुवै हातले समाएर उचाल्थी। अनि हाँस्दै फनन घुम्थी। नाच्थी।

रानीलाई पाटे छाउरोले गालामा चाटेको साह्रै रमाइलो लाग्थ्यो। ऊ आप्पाले जस्तो मुन्टो लुकाउँथिन। रानी खुसी भएको देखेर पाटेचाहिँ फुर्केर रानीका गाला मात्र होइन, निधार र नाकमा पनि चाटिदिन्थ्यो।

दिनभरी दुवै जनालाई खुबै रमाइलो भयो। रानी र पाटे एकैछिन पनि छुट्टिएनन्। सँगै खाए, सँगै खेले अनि थाकेपछि सँगै सुते।

साँझ पर्न थालेपछि भने पाटे न्यास्रिन थाल्यो। पहिले त रानीले पाटे थाकेछ भन्ने ठानी। तर सुत्न बनाइदिएको ठाउँमा बसेर पाटे त चुइँकिन पो थाल्यो। खान पनि मन गरेन। घर बाहिर हेर्दै उँ … उँ… गर्दै रुन पो थाल्यो।

‘के भयो पाटे तिमीलाई?,’ रानीले चिन्ता जताई। उसले पाटेलाई काखमा लिई। पाटे रानीलाई हेर्दै रोयो। उसले रानीलाई नाकमा चाटिदियो, तर दिउँसोको जस्तो खुसी भएर होइन। दिउँसोको चन्चले छाउरो त चुइँकेको चुइक्यै गर्न थाल्यो। रानीले केही गरे पनि उसलाई खुसी पार्न सकिन।

‘तिमीलाई आमाको न्यास्रो लाग्यो हो पाटे?,’ रानीले माया गरेर सोधी।

मान्छेको कुरा नबुझ्ने छाउरोले रानीको मायाको भाषा बुझ्यो। पर-पर तिर हेर्दै विस्तारै पुच्छर हल्लायो। कुकुरको कुरा नबुझ्ने रानीले पनि पाटेको न्यास्रो बुझी। दुवै हातले पाटेलाई उठाई र छातीमा टाँसेर झन् धेरै माया देखाई। पाटे पनि लुटुपुटु भयो।

‘आप्पा, पाटेलाई भोलि उसको घर पुर्‍याइदिनुस् है,’ रानीले मन दह्रो बनाएर आप्पालाई फकाई । किनकि, ऊ पाटेसँग छुट्टिन चाहँदैनथी। तर, न्यास्रिएको पाटे देखेर रानी निरास थिई। आप्पाले पनि मान्नुभयो।

भोलिपल्ट आप्पासँग ट्रक चढ्ने बेला रानी झन्डै रोई। उसलाई पाटेलाई विदा गर्न निकै गाह्रो भएको थियो। विदा हुने बेला रानीले पाटेलाई भनी, ‘तिमी ठूलो भएपछि फेरि मसँग खेल्न आऊ है पाटे।’

पाटे फेरि हिजो बिहानको जस्तै चन्चले भएर रानीको अनुहारभरी चाटिदियो। रानी पनि औधी खुसी भई।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.