भोजराजलाई रश्मीको चिठी


भोजराज,

कथा त राम्ररी नै भन्यौ, तर केही कुरा छुटायौ, केही लुकायौ अनि धेरै चाहिँ ढाँट्यौ। हुन त शब्दको सीमामा बाँधिएर लेख्न थालेको कथामा त्यत्तिको छुटपुट र ढाँटढुँट हुनु स्वाभाविक पनि होला! तैपनि तिमीसित फेरि भेट भए एकपटक तिम्रो गाला दुख्ने गरी तानिदिएर भन्न चाहिँ मन छ, ढटुवा बाहुन बाजे!

“हाई! म भोजराज।”

त्यो दिन मेरो ब्यागको फितामा बाँधेको सलमा तिमी झुक्किएर बसेपछि मैले तान्दा तिम्ले सरी भनेर मुसुक्क हाँसेका थियौ। ईट्स अलराईट भन्नको अल्छीले मैले तिम्रो हाँसोको जवाफ फर्काइदिएकी थिएँ। अनि भनेका थियौ तिम्ले, जनैपूर्णिमाको फ्रेस पहेँलो धागो बाँधेको हात तेर्साउँदै, “हाई, म भोजराज।”

अब भने म तिम्लाई हाँसोले टार्न सक्तिनथेँ। हात दिएर भनेँ, “रश्मी।”

यो भानुभक्तको ‘मेहन्दी’ शीर्षक कथामा रश्मीले लेखेको जवाफ हो।

हेर्नुहोस् मेहन्दी

“रश्मी के?” तिम्ले सुनधाराबाट रङ्गशाला आइन्जेल सोचेको प्रश्न। म भित्रभित्रै फिस्स हाँसेकी थिएँ।

“महर्जन। तपाई नि?”

“शर्मा। भोजराज शर्मा।” यतिबेला तिमी अलि बढ्तै हाँसेका थियौ। तिम्रो यो हाँसोसित म परिचित थिएँ। योगादेखि बससम्म। बसदेखि योगासम्म। तिम्रा दाँत राम्रा रहेछन् भनेर मैले पहिलोचोटि याद गरेको पनि त्यतिबेलै हो। डिम्पल भएको भए झन् कति हाँस्दो हौ।

बस त्रिपुरेश्वर आइन्जेलसम्म पनि तिम्रो मुखबाट अर्को वाक्य फुट्न नसकेपछि बल्ल मैले भनेकी थिएँ, “आज अलि खाली छ है बस।”

“अँ। शुक्रबार भएर होला।”

त्यसपछि तिमी अर्को वाक्य सोच्नपट्टि लाग्यौ। म गीत सुन्न आफ्नो जेलिएको एअरफोनको गाँठो फुकाल्नपट्टि। सायद यहीबेला हुनुपर्छ तिम्ले मेरो हत्केलाको मेहेन्दी याद गरेको। वा म बसको डण्डीमा समातेर बस्दाखेरि हो? बिडम्बना, तिम्ले त मेरो हत्केलाको मेहेन्दी नै सारेर नाडीमा पुर्याइदियौ भोजराज, अनि मेरो सर्टको बाहुला पनि माथि सारेर थोरै फर्काइदियौ, ताकी तिम्लाई देख्न सजिलो होस्।

योगाको पहिलो दिन म तिम्रो छेवैमा बस्दा तिमी मुस्कुराएका थियौ। त्यसको भोलिपल्ट बसमा भेट्दा त मुसुक्क हाँसेर सिट नै छोडिदियौ। सिट छोडिदिएर मन जित्ने तिम्रो प्रयासलाई मैले छेवैका हजुरबालाई बसाइदिएर विफल पारिदिएकी थिएँ (जुन तिमीले लुकाइहाल्यौ)। तिमी चौरऔँलाले निधार कन्याएजस्तो गरेर घोसेमुन्टो लाउँदै अर्कोपट्टि फर्केर हाँसेका थियौ। म तिम्लाई बुझाउन चाहन्थेँ, यतिको उमेर छँदै बसमा आरक्षण चाहिने खालकी केटी म होइन। अनि भन्न चाहन्थेँ, बसमा सिट छोडिदिएर पट्टिने खालकी केटी पनि होइन म।

तिम्रो कथामा बसमा चिनजान भएकै दिन तिमीले मसित मेहेन्दीको पोल खुलाएछौ। अझ मलाई रुवाएर एक थोपा आँशु कफीमा चुहाइदिन समेत भ्याएछौ। तर वास्तविकता कहाँ त्यस्तो थियो र भोजराज? चिनजान भएको दिन त मैले कानमा एअरफोन घुसारेपछि कुराकानी सक्किएको थियो। त्यसको केही दिनपछि योगाबाट सँगै घर फर्किँदा बाटोमा चिया खाएको कुरा बिर्सेको?

“कति लामो नाम।” योगामा आएका एकजना नयाँ सदस्यको अनौठो नामको प्रसङ्ग कोट्याउँदै गर्दा म तिमीसित अल्लि खुलेकी थिएँ।

“छोट्याएर भन न त।” तिमी अलि बढी नै हौसिएका थियौ।

“तिम्रा बाआमा राजाको भोजमा गएका थिए हो तिमी जन्मदाँ?” मैले जिस्केर कुरो अन्तै मोडेकी थिएँ।

त्यतिबेला चियापसका मान्छेले फर्केर हेर्नेगरी तिमीले अट्टहाँस गरेका थियौ। मैले तिम्रो नाम छोट्याइदिइनँ बरु लम्ब्याइदिएकी चाहिँ थिएँ- “बाहुन बाजे”। मैले राखिदिएको नामलाई दाँत देखाएर हाँस्दै सहमति जनाएका थियौ तिमीले। तिम्रो अनुमतिले मोबाइलमा नम्बर पनि त्यही नामबाट सेभ छ, अझै पनि।

अनि भोलिपल्टै म अफिसबाट निस्कनै लाग्दा आएको थियो तिम्रो फोन, बाहुन बाजेको नामबाट। मान्छे धैर्यता भएको त होइनौ यार तिमी।

“आज शुक्रवार हो।” उठाउनासाथ तिमीले भन्यौ।

गुड फ्राइडेको बहाना बनाएर कुनै मुभी वा नाटक हेर्न जाम् पो भन्न लाग्यौ कि भनेर एकैसाथ रोमान्चित र भयभीत भयो मेरो मन।

“के भो त?” नर्मल टोनमा भनेँ।

“बस खाली हुन्छ नि त।”

पहिले संयोगले भेट हुन्थ्यो तिमीसित बसमा। आजदेखि त योजना बन्न थाले। तिम्ले त्यो दिन पहाडको तिम्रो गाउँको कुरा गर्यौ। जागिरको कुरा गर्यौ। भर्खरै बिएस्सी सकेर बोर्डिङ पढाउन थालेका रहेछौ, एमएस्सी ज्वाइन् गर्ने योजनाका बारे कुरा गर्यौ। म असल श्रोता बनिदिएँ, बेलाबेला तिम्रो उत्साहमा उत्साहित हुँदै, जोक्समा हाँस्दै। बस्, हिमचिम पाएपछि अल्लि धेरै बोल्दो रहेछौ, अरुलाई पालो कम दिएर। मलाई पनि खुल्ने मौका दिएको भए म आफुले मास्टर्स ज्वाइन् नगरी बैङ्कको जागिर खानुपछाडिको कारण भन्दी हुँ। बाहिर गएर एम् बि ए गर्न गरिरहेको प्रोसेसिङबारे खुल्दी हुँ। स्कलरसिपको लागि चाहिने कामको अनुभव पुर्याउन गरिरहेको जागिरमा उति दिलचस्पी नभएको कुरा पनि सेयर गर्दिहुँ। तर त्यस दिन बसपार्कदेखि नयाँबजारसम्मको बाटो तिम्रै लागि छोटो भयो।

तिम्ले मन पराउँछौ भन्ने त मलाई तिम्ले बसमा सिट छोडिदिएको दिनदेखि नै थाहा थियो। पहिलोचोटि दोहोरो बोलचाल भएको दिन तिम्ले शर्मा भनेर थर बताउँदा मैले नै थाहा नपाउनेगरी दिमागमा सोचाइको एउटा झिल्को आएको थियो- माँले बाहुनलाई ज्वाँइ त मरिगए बनाउनुहुन्न। हो, त्यतिबेलै मैले थाहा पाएकी थिएँ, तिम्लाई कताकता मन चाहिँ म पनि पराउँदी रहेछु।

मलाई मेरो हुनेवाला जीवनसाथी शर्मा होस् या बर्मा, कुनै आपत्ति थिएन। बाटोमा हिँड्दाहिँड्दै आँखा जुधेर वा कुहिनो ठोकिएर पनि क्रस त कतिसँग पर्छ पर्छ। तिमीसित पनि त्यस्तै क्रस परेको थियो सायद। तिम्ले हात अगाडि बढायौ। मैले मुन्टो फर्काइनँ। बाको बारेमा मैले तिम्लाई भनेको कथा त तिम्ले अरुलाई पनि सुनाइहाल्यौ, अब मैले तिम्लाई नभनेको कथा चाहिँ सुन भोजराज।

म योगा शरीर स्वस्थ र तन्दुरुस्त राख्न गएकी थिइनँ। तिमीसँग पहिलो दिन टियुमा भेट्दा बा बितेको डेढ महिना मात्रै भएको थियो। अक्सर म हाँसिरहने अनि हँसाइरहने निकै रमाइली केटी हुँ। मलाई बाले नै त्यस्तै बनाएर हुर्काउनुभो। हरेक साँझ घर आएपछि बा असनको पसलमा भेटेका अनेकथरी ग्राहकका किस्सा सुनाएर आमा र मलाई मरीमरी हसाउँनुहुन्थ्यो। उहाँको सेन्स अफ ह्युमर मलाई पचासको सुरुवाती दिनहरुमा हिँडिरहेको मान्छेको जस्तो कहिल्यै लागेन। बा बितेपछि सबथोक बदलियो। कुनै चकचके बच्चा घर छोडेर गएजस्तै सुनसान हुनथाल्यो भान्सा। माँ कहिले तरकारी चलाउँदा चलाउँदै रोइरहनुभएको हुन्थ्यो, कहिले डाइनिङ टेबलमा भात खेलाउँदाखेलाउँदै सुँक्कसुँक्क गर्न थाल्नुहुन्थ्यो। म माँसँगै भान्सामा रुन सक्दिनथेँ।

मलाई रुने ठाऊँ चाहिएको थियो भोजराज। बा बितेपछि माँ र म एउटै कोठामा, एउटै खाटमा सुत्थ्यौँ। भित्तापट्टि फर्केर आँशु चुहाएर मलाई सन्तोष हुँदैनथ्यो। बाले जत्ति नै दह्रो र हक्की हुन सिकाउनुभएको किन नहोस्, मैले उहाँ गएपछिको पीडा सहन गर्नै सकिरहेकी थिइनँ। राति ओच्छ्यानमा रुँदाखेरि घाँटीमा जमेको डल्लो फुकाउने ठाऊँ चाहिएको थियो मलाई। योगा जाँदाको बिहानीको समय र बाटो मेरो रुने एकमात्र ठाऊँ थियो।

ती दिनहरुमा भोजराज, मलाई साथी चाहिएको थियो। रुने साथी हैन, छेऊमा बसिदिने साथी। बोलिदिने साथी। बाटोको हिलो र दिनको मौसमको कुरा गरेर मन भुलाइदिने साथी। मलाई तिम्रो हाँसो र कहिलेकाहीँ तिम्ले काट्न अल्छी गरी थोरै बढ्न दिएको तिम्रो दारी पनि राम्रै लागेको हुँदो हो। समयसँगै सबथोक राम्रै तरिकाले अगाडि बढे त्यो हाँसोलाई सधैँ वरिपरि नै राख्ने कुरा पनि सोच्ने मनस्थिति बनाउँदी हुँ। तर सत्ते, त्यतिबेला म तिमीमा ब्वाईफ्रेन्ड वा संभावित घरज्वाँइ खोजिरहेकी थिइनँ भोजराज। म चरम् एक्लोपनबाट गुज्रिरहेकी थिएँ।

दुई जना मिल्ने साथी थिए कलेज पढ्दाका, एउटी मास्टर्स गर्न अष्ट्रेलिया गइसकेकी थिई, अर्को एउटा फेलोसिपअन्तर्गत गाऊँमा गएर बच्चाहरुलाई गणित पढाउन थालेको थियो। तबा (ठुलोबा) का छोरीहरुसित किन हो कुन्नि, बाले कहिल्यै नजिक हुनै दिनुभएन। पाँचवटीमध्ये तीनवटीले त बिहे गरेर केटाकेटी पनि पाइसके। बैंकमा म नयाँ थिएँ। जागिर खान थालेको ५ महिना मात्रै भएको थियो। यसैपनि कसैलाई हत्तपत्त आफ्ना कहानी सुनाएर विचरा थाप्ने खालकी मान्छे म होइन। पाँच महिनासम्म सँगै काम गर्दाका साथीलाई समेत नखोलेको मेरो व्यथा तिमीले “पहिलो बोलचाल”मै आँशुसित कफीमा घोलिदिएर क्या हल्का पारिदियौ यार।

“कफी खाएर छुट्टिऊँ न है।”

नयाँबजार झरेपछि तिम्ले भनेका थियौ। मलाई लाग्यो, तिम्रा कुरा अझै सक्किएका छैनन्। आजकाल यसै पनि मलाई घर गएर माँको अँध्यारो अनुहार हेर्न कुनै हतारो हुँदैनथ्यो, तिमीसँग बिताउन थालेको समय त रमाइलो लाग्न थालेका थियो। मैले नाँइ भनिनँ।

तर तिम्लाई त मेहेन्दीको अर्थ पो खोतल्नु रहेछ।

खासमा मलाई त्यो मेहेन्दी लगाएकोमा नै खसखस लागिरहेको थियो। वास्तवमा म तिमीले वर्णन गरेजस्तो “साउन पनि नलाग्ने पुस पनि नलाग्ने” कोटिकी केटी हुँ भोजराज। सामान्य चिनजान भएकाहरुदेखि बाटो हिँड्दा “के रहेछ” भन्दै मुन्टो तन्काईतन्काई हेर्ने तिमीजस्तै अपरिचितहरुका मेहेन्दीप्रतिको मौन सवालहरुदेखि म वाक्क भइसकेकी थिएँ। तर त्यसलाई साबुनले घोटेर मेटाउन सक्ने तागत पनि ममा थिएन। साउने सक्रान्तिको दिन मामाघरमा मामाकी छोरीले लगाएर यत्तिकै राखेको आधा कोन सुम्सुम्याउँदै गर्दा मैले अनायासै हातमा कोरेकी थिएँ, एउटा ठुलो पानको पातभित्र, लभ यु बा। पानकै पातले सुरु गरेर तीन चारवटा थोप्लाले टुङ्ग्याएर।

केटाकेटी छँदा बिदाका बेला बाको पछि लागेर म असनको हाम्रो पसल जान्थेँ। चोकचोकमा बसेर मेहेन्दी लगाइदिने दाइहरु देखेपछि हत्केला तेर्साइहाल्थेँ। बाले नाइँ भन्नुभो भने रोइदिन्थेँ। अलि पछि चाहिँ बाले एउटा उपाय लगाउनुभो। पसलबाट कोन घरैमा ल्याएर हत्केलाको बीचमा एउटा ठुलो पानको पात बनाएर त्यसभित्र लेखिदिनुहुन्थ्यो- “मैचा” अर्थात् केटी। उहाँ मलाई मायाले “केटी” भनेर बोलाउनुहुन्थ्यो। तिमीले भनेजस्तो अङ्ग्रेजीमा “लभ यु छोरी” लेख्ने खालको मान्छे मेरा बा हुनुहुन्नथ्यो। अङग्रेजीको ज्ञानका हिसाबले होइन, बा स्पष्ट शब्दमा प्रेम प्रकट गर्न जान्नुहुन्नथ्यो। उहाँकी छोरीले पनि जानिन।

पहिले म हात तेर्साउँदै जान्थेँ, पछि त बा आफैँ “मैचा, मेहेन्दी लाउँदिनस्?” भन्दै आउन थाल्नुभएको थियो। साँच्चै भन्नुपर्दा समयसँगै मलाई मेरो हत्केलामा बाको बडेमानको पानको पात मन पर्न छोडिसकेको थियो। त्योभन्दा पनि नेवारी नबुझ्ने साथीहरुलाई “मैचा” को अर्थ बुझाउन मलाई अल्छी लाग्थ्यो। नौ कक्षाबाट सरमिसले साउन लागेपछि मेहेन्दी लगाएको छ कि भनेर दैनिक हात चेक गर्न थालेपछि बिस्तारै मेरो मेहेन्दीप्रतिको रस पनि उत्रियो।

सायद मैले अलिकति त्यही नोस्टाल्जियामा डुबेर अनि अलिकति उतिबेला बाको मेहेन्दी मन नपराएकोमा पछुताएर हत्केलामा त्यसरी लेखेकी थिएँ। तिम्ले भनेजसरी हाम्रो घरमा हरेक वर्ष साउनको पहिलो दिन मेरा हातमा मेहेन्दी लाएर सुरु हुँदैनथ्यो भोजराज।

नयाँबजार ओर्लदाँ सिमसिमभन्दा अलि चर्को पानी परेको थियो। मैले छाता खोलेकी थिएँ, तर मेरो छाताको रङ गुलाबी थिएन। मेरो मनपर्ने रङ नै सानैदेखि कालो र सेतो थिए। तिम्ले त मलाई “गर्ली” देखाउन मेरो छाताको रङ फेरिदिन समेत बाँकी राखेनौ।

मैले तिमीलाई पानीमा भिज्न दिन मानवीय नाताले त हुँदैनथ्यो, तिमी त जे भएपनि चिनजानकै मान्छे थियौ। मेरो छाताको निम्तोको हिसाबकिताब तिम्ले कफीको निम्तोले मिलाउन खोज्यौ। मैले नाँइ भनिनँ।

खैर, तिम्ले गुलाबी देखेको मेरो कालो छाता ओढेर हामी हिलसाइड क्याफे पसेका थियौँ। मेरो लागि डार्क सुगरबिनाको कफी र तिम्लाई एक्स्ट्रा सुगरसहितको मिल्क कफीको अर्डर लिएर वेटर गएपछि तिमी आफैँले हाँस्दै भनेका थियौ, “बाहुन परियो हजुर।”

जवाफमा म पनि हाँसेकी थिएँ।

“उखान सुनेकी छैनौ? जता गुलियो उतै बाहुन भुलियो।”

“जातिविशेषलाई होच्याएर बनाको उखान।”

“तिम्ले बाहुन बाजे भन्दा चाहिँ जातिविशेषको अपमान नहुने?”

“मैले त जिस्केर पो भनेको त।”

“यसलाई पनि जिस्केरै लिइदेऊ न त। यस्ता कुरालाई धेरै संवेदनशील बनाएकै हामीले गम्भीर रुपमा लिएर हो।”

बाहुन बाजे, यतिबेला मलाई तिमी निकै बौद्दिक लागेका थियौ।

“मेरा बा पुरोहित्याइँ गर्नुहुन्थ्यो। सानो छँदा म पनि बाको साथ लागेर पुजाआजामा जान्थेँ। बा चकचक गर्छ भनेर झिँजो मान्नुहुन्थ्यो। म भुँइमै लडिबुडी गरेर रोइदिन्थेँ। केही सीप नलागेपछि आमा बाको थोत्रो ढाका टोपी खोजेर लगाइदिनुहुन्थ्यो अनि म बाको धरो समातेर पुजाआजामा जान्थेँ। मान्छेहरु मलाई स्याना बाहुन बाजे भन्थे।”

तिमी बाल्यकालमा डुबेर मस्तसित हाँस्यौ। तिम्रो बाल्यकाल मलाई पनि रमाइलो लाग्यो।

“एक दिन त था’छ, मैले पनि बाको जस्तै धरो लाउने भनेर बेस्सरी ढिपी जितेँ अरे। अनि आमाले मलाई के लगाइदिनुभएछ भन न।”

“के?” मैले हाँस्दै सोधेँ।

“हजुरआमाको सेतो फरिया च्यातेर धरो बनाएर पठाइदिनुभएछ।”

त्यतिखेर हामी हाँसेको देखेर कफी बोकेर आएको वेटर समेत नबुझे पनि हाँसेको थियो, याद छ?

“त्यसपछि था’छ मेरो नाम के भयो?” तिम्रो हाँसो अझै रोकिएको थिएन।

“के?” मैले हत्केलाले हाँसो छोप्न खोज्दै सोधेँ।

“स्यानी बाहुनी बज्यै।”

हामी मजाले हाँस्यौ। हाँसो रोकिएपछि तिम्ले चिनीको प्याकेट खोलेर कफीमा घोल्यौ।

“खैर, कहिल्यै नमर्ने यीनै संझना त रैछ’न्।”

मैले बुझिनँ। मुखैनेर लगेको कप अड्याएर तिम्लाई हेरेँ। अघिको हाँसो तिम्रो अनुहारबाट गायब भइसकेको थियो।

“मतलब?” कप भुँइमा राखेर सोधेँ।

“बाआमा खस्नुभो नि। ११ वर्ष भए। गाँवै उल्टेर काशी गएको थियो…”

तिम्रो गला रोकियो।

“आई एम् सरी।” आफ्नो घाऊ पनि ताजै भएर होला, मलाई बोल्न गाह्रो भयो।

“सब भाग्यको खेला।” तिम्ले भन्यौ, “कसैका बाऊ बाचेँ आमा मरे, कसैका आमा बाचेँ बाऊ गए। हाम्रो मात्रै छानीछानी गुँडका दुवै माऊ लग्यो भावीले।”

मलाई त्यतिबेला टेबलमाथि मेन्युको छालाको गाता बेस्कन कोतरिरहेको तिम्रो हातमाथि आफ्नो हात राखौँराखौँ भएको थियो। तर सकिनँ। अप्ठ्यारो लाग्यो। हामी त्यहाँ अझै पुगेका छैनौँजस्तो लाग्यो। दाहिने हात गालामा राखेर देब्रे हातको बुढीऔँलाले अरु औँलाका नङ कोट्याइरहेकी रहेछु तिम्ले बोलायौ, “ब्रस मगाइदिऊँ?”

“हँ??” मैले झस्केर माथि हेरेँ।

तिमी मुस्काइरहेका थियौ, “ब्रसले सफा गर्ने कि भनेर।”

म हासेँ। भोजराज, त्यतिबेला जति मलाई तिमी अरुबेला मन परेको थिएन। कस्तरी परिस्थिति ह्यान्डल गर्न जानेको? त्यहाँ क्षणभरका लागि त कतै भाग्यले तिम्लाई मेरै घरको घरज्वाँइ बनाउन त चाल चलेको होइन सम्म सोचेको हो मैले। यहाँनेर चाहिँ मलाई माफ गर है।

त्यसपछि बल्ल हो तिम्ले मेरो मेहेन्दीको अर्थ सोधेको। तिम्ले त यी सम्पूर्ण कुरालाई “मेरा बारेमा सबै” कुरा बनाएर मलाई कस्तरी आफ्नो वेदनाको पोको खोल्न आतुर केटी बनाइदिएछौ। के “तिम्रो बारेमा सबै” यी कुरा मेरो बाको हार्ट अट्याक र मेहेन्दीको रहस्यभन्दा कम ओझपूर्ण थिए र?

मलाई लागेको थियो, जसरी म तिम्रो व्यथा बुझ्न सक्दथेँ, तिमी पनि मेरा पीडा बुझ्न सक्छौ, किनकी भाग्यले हामीसित लुछेको वस्तु त एउटै थियो। त्यो वस्तुसँग जोडिएको आत्मीयता एउटै थियो।

साथीभाइसित झगडा परेका बेला वा कसैसित केही कुरामा चित्त दुखेका बेला म कोठामा ठुस्स परेर बसेँ भने बा आएर भन्नुहुन्थ्यो, “मनमा कुरा गुम्स्याउनुहुँदैन है केटी। फुकाइहेर् त, कति हल्का हुन्छ।”

म बालाई सुनाउन मिल्ने कुरा भए सुनाउथेँ, नत्र छातीमा आड लाएर रोइदिन्थेँ।

रोएर सक्काएपछि मुसुक्क हाँस्दै बा भन्नुहुन्थ्यो, “ए, भनेपछि त्यो मोराले तेरो चित्त दुखायो?”

म विरोध गर्दै भन्थेँ, “को मोरो?”

“त्यसलाई म एऽऽऽक दिऊँ गएर? कि आफैँ दिन्छेस्?” बा आफ्ना बाक्ला आँखीभौँ खुम्च्याएर अनेक भावभङ्गीमा देखाउँदै भन्नुहुन्थ्यो।

म कहिले हाँस्थेँ, कहिले फेरि रुन्थेँ। फेरि रोएँभने बा बोल्नुहुन्नथ्यो, कपाल मात्र मुस्मुस्याउनुहुन्थ्यो।

मेरा बा अन्तर्यामी हुनुहुन्थ्यो भोजराज। नभनेरै पनि बुझ्नुहुन्थ्यो। तिम्ले भनेरै पनि बुझेनौ। मैले तिमीमा बा खोजेँ, गल्ती गरेँ।

म ब्याचलर दोस्रो वर्ष पढ्दा बाले गर्नुभएको थियो, मलाई स्कुटर किन्दिने कुरा। घरज्वाँइका कुरा त बाले मभन्दा पनि माँलाई जिस्क्याउन बढी झिक्नुहुन्थ्यो। मैले स्कुटर चलाउँदिनँ भनेपछि जिस्केर भन्नुभएको थियो, “त्यसोभए मेरो थोत्रो बाइक चलाउँछस् त?”

मैले भने नजिस्किकनै तुरुन्तै हुन्छ भनेकी थिएँ।

मैले बाइकको लाइसेन्स लिएको दिन हाम्रो घरमा नयाँ बाइक आएको थियो। बाको पुरानो साटेर नयाँ। त्यसपछि ब्याचलरका बाँकी वर्ष बाइकमा मेरो र बाको स्थान बदलियो। बालाई बाइकको पछाडि हालेर पसल लानेल्याउने गर्दा हाम्री तमाँ (ठुलीआमा) छतमा बसेर हेर्नुहुन्थ्यो। साइड मिररमा बाको नाक त्यतिबेला हेर्नलायक हुन्थ्यो। बाको नाक देखेर मेरो नाक पनि मोटाउँथ्यो।

म तिम्लाई यो किस्सा सुनाउनेवाला थिएँ, तिमीले अचानक “प्वाक्क” बोल्यौ, “म थिएँ नि, घरज्वाँइ बस्न पनि तयार, स्कुटर चलाउन पनि जानेको।”

तिमीले याद गरेनौ होला भोजराज, तर त्यतिबेला बोल्दाबोल्दैकी म रोकिएर अनौठो गरी तिम्लाई हेरेकी थिएँ। वा याद गरेर गलत तरिकाले इन्टरप्रेट गर्यौ र झन् थप्यौ, “म त त्यो लास्टमा बिएको पछाडि थोप्लाथोप्ला छोडेको बाहुन लेख्तालेख्दै छोडेको हो कि भन्ठानेको।”

अरुबेला भएको भए तिमी जिस्केको देखेर म हाँस्दी हुँ, तर त्यतिबेला किनकिन झनक्क रिस उठ्यो। एउटा यति चाँडै मेरो बाको स्थान तिम्ले अज्युम गरेको देखेर, दोस्रो दुईतीनचोटि सामान्य बोलचाल हुँदैमा कुनै केटी तिम्रो नाम हत्केलामै मेहेन्दीले पोतेर हिँड्छे भन्ने तिम्रो सोचाइ देखेर। मलाई अगाडि कुरा गर्नै मन लागेन।

आँशु घुलेको सुगरफ्री कफी यस्सै छोडेर म उठेँ। माँसित तरकारीको छलफल गरेको भए अर्थपूर्ण हुन्थ्यो जस्तो लाग्न थालिसकेको थियो मलाई।

भर्याङबाट झर्दैगर्दा तिम्ले हात समातेर मोटरसाइकल किन्ने कुरा निकाल्दा त म वाल्लै परेँ। कसरी रियाक्ट गर्ने नै आएन। तिम्ले फेरि मेरो आश्चर्यचकित मुद्रालाई “मुसुक्क हाँसेकी” बनाइदियौ। अरुहरुले बहाना बनाएर छोएको देख्ता असह्य हुने तिमीलाई आफुले छुन नपाएर पो रहेछ, हो?

बा खसेको दिनदेखि भर्याङमुनि मेरो बाइकमा धुलो जमेर बसेको छ भोजराज। माँले न चला भन्न सक्नुभएको छ, न बेच्दे भन्न। अस्ति त धुलो नजमोस् भनेर पुरानो तन्ना लगेर छोपिदिनुभएछ। हिजोसम्म पछिल्तिर मेरो बा बसेको छ भन्ने आभासबिना त्यो बाइक कसरी स्टार्ट गर्ने मलाई थाहा थिएन। कफीगफको पहिलो चरणसम्म भरे गएर माँलाई तन्ना झिक्न लगाऊँ कि त भन्ने सोच पनि नआएको हैन। भर्याङसम्म आइपुग्दा तिम्रो बेवकुफी देखेर हाँस्नु कि आफ्नो जस्तो भयो।

म त बाको प्रतिछाँया खोज्दै हिँडेकी रहेछु भोजराज, भड्केको आत्मा जसरी। कहिले योगा सिकाउने मास्टरको निधारमा, कहिले असनको हाम्रो कस्मेटिक पसल किन्ने अंकलको बोलचालमा अनि कहिले तिम्रो आँखीभौँमा, अनुहारको हाऊभाऊमा, जोक्समा। बासित हुँदा म जहिल्यै सिङ्गै हुन्थेँ। बाका गफमा ननस्टप पाँच मिनेटसम्म हाँसिदिन सक्थेँ। बालाई जे पनि भन्न सक्थेँ। हरेकपटक तिमीसित कुरा गर्दा तिमीमा बाको एउटा अंश बढ्ता पाएको अनुभव गर्न थालेकी थिएँ। तर झुक्किएछु।

तिम्रा लुटिएका माऊको कथा सुनेर मैले तिम्लाई सङघर्षवान् मान्छे भन्ठानेकी थिएँ। बसमा उभिएर यात्रा गर्न गाह्रो हुने कुरा गर्दा “जनजीवन, समाज बुझ्न पाइन्छ नि” भनेर चित्रबहादुर के.सी.को उदाहरण दिने लेभलको मान्छे हौला भन्ठानेकी थिएँ। तिम्ले त मलाई एक भेटमै भएभरका व्यथा कहन लगाएर सहानुभूति खोज्दै हिँडेकी केटी पो बनाइदियौ। बसको भीडभाडमा छोइने र टाँसिइने मेरा संवेदनशील अंगहरुको सुरक्षा गर्ने ठेक्का तिम्लाई दिइएको छ झैँ घरमा दाइबाट पैसा मगाईमगाई मेरा लागि बाइक किन्नेजस्ता ठुल्ठुला कुरा गर्यौ। अनि मलाई त्यसमा दङ्ग फुरुङ्ग परेर फर्केर आईआई बाँकी पैसा हाल्ने सहयोगी अनि मायालु प्रेमिका बनाइदियौ। बाहुन बाजे, तिमी त छट्टु रहेछौ यार।

तिम्ले बङ्ग्याएर आफ्नो पक्षमा पारेको कथाको खास अन्त्य कसरी भएको थियो संझाऊ म तिमीलाई?

म छाता झोलामा राखेर घरतिर लम्किदाँ झमक्क साँझ परिसकेको थियो। बा मेराअघि बाटैमा आएर ठिङ्ग उभिनुभो र भावविहिन अनुहारले क्वारक्वार्ती हेरेर जानुभो।

“भोजराज।” मैले अनायासै तिम्लाई बोलाएँ। पहिलोपल्ट तिम्रो आफ्नै नाम काढेर।

तिमीले फरक्क फर्केर हेर्यौ।

बत्ती मधुरो भए पनि पुरै दाँत देखाएर तिमी हाँसिरहेको म प्रष्टै देख्न सक्थेँ।

“म केही महिनामै डेनमार्क जाँदैछु एम् बि ए गर्न।”

तिमी अलि नजिक आयौ। सायद यतिखेर तिम्रा बाक्ला आँखीभौँ खुम्चिएका हुँदा हुन्।

“मेरो बाइक चलाउने त्यसपछि कोही हुँदैन। घरबाट पैसा मगाईमगाई नकिन, त्यसैलाई मिलाएर दिउँला। त्यतिन्जेल मैसित ओहोरदोहोर गर्नू, हुन्न?”

तिमी बोलेनौ। अघि म परेकोजस्तै वाल्ल पर्यौ सायद। मलाई यतिखेरको तिम्रो एक्सप्रेसन अनुहारनजिकै मैनबत्ती लगेर हेर्न मन थियो।

“भोलि बिहान नौ बीसमा है, नयाँबजारमा।”

यो चाहिँ अलि चर्कोसित भनेर म हिँडेँ। बा बाटोको छेऊ लागेर मुसुक्क हाँस्नुभयो र हराउनुभयो।

भोलिपल्ट बिहान नौ बीसमा टिलिक्क टल्केको एन्टाइसर लिएर म नयाँबजार निस्कँदा तिम्रो नामोनिसान थिएन। मैले साँढे नौसम्म कुरे, तिमी देखा परेनौ। सायद चिनेनौ कि?

कि घर फर्केर कथा लेख्तै थियौ भोजराज?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.