चारू पोइल गै


पश्चिमपट्टीका सुर्यले आँखा मुनेको निकैबेर चारुले आमा आउने बाटो हेरिरही। अहँ!आमा आइनन्। ऊ दिनहुँ आमालाई लिन गाउँ माथिको बगैचासम्म जान्छे। र चुक घोप्ट्याएजस्तो साँझलाई अघि लाएर घर फर्कन्छे।

चारुकी आमा तेल, चिनी र कपडा किन्न सीमा पारीको बजार गएकी हुन्। बिहान गएकी उनी सन्जे गर्न घर आइपुग्थिन्। महिना दिन बितिसक्दा पनि यसपाली आइनन्। हिरा चाचाले उसलाई धेरै पटक तेरी आमा पल्लो गाउँको राजमनसँग इन्डियातिर भागी भनेर सुनाए। तर उसलाई रत्ती विश्वाश छैन।

चारुले चुल्होमा लाइटर झोंसी। आगो परेन। धुँवा पुत्पुतायो। उसको नाक र आँखाबाट पानी बग्न थाल्यो। उसले आफू अगाडिको घर पुरै अध्यारो देखी। ऊ रन्थनिएर भुइमा बसी। धिप्प बलेको ज्वालाले धुँवालाई बिस्तारै बिस्थापन गर्‍यो।

चारुले भात पकाइ। उसलाई त नुन डोबे पनि चल्ने हो। आत्माले मानेन। सोयाबिन र आलुको मिठो तरकारी हाली। हिउँदे खेतलालाई ख्वाउन प्लाष्टिकमा पोको पारेर दलिनमा घुसारेको सोयाबिन उसले देखेकी थीइ। अब त आउछिन् कि आमा- ढोकाको चरबाट बाहिर सम्म नियाली। लोकमा अन्धकार डुलिरहेको छ।

किन आइनन आमा? ‘थाकेर आयो, चुलो रित्तै देख्ता त मलाई दलिन पस्न नि मन लाग्दैन’-आमाको आवाज स्‍मृतिले उसको कन्चट रन्कियो।

बाहिर केही ध्वानित भयो। कानलाई पच्छ्याउदै चच्छु अन्धमैदानमा पुगे। कोही छैन। बरु घर र बनस्पतीका अवयवहरु परछाईमा भेष बदलेर मच्चिरहेका छन्। चारुलाई डर लाग्यो। कानबाट अवसाद पस्यो। बिस्तारै तल झर्यो। र मुटुसङ्ग भिड्न थाल्यो।

उ चुल्हो समिपको कुनामा घुँडामा मन्टो अड्याएर बसी। एक्कासी ढोका ढकढक गर्‍यो। उसले टाउको उठाइ। आमा आइन कि? उ हठात् आग्लोमा पुगी। निश्चय भएन।आमा भए त बोल्नु पर्ने? उसका हात अगाडि बढेनन्। कतै फेरी चिनक त आएन? – उसले लख काटी।

साँझपख चुरोट सल्काउने बाहानामा चिनक हरदम आइरहन्छ। अनी नानाथरी कुरा गरेर अबेरसम्म बस्छ। अस्तिको पाली त उसले हद पार गर्‍यो। ऊ लठ्ठिएको थियो। लरबराउदै उसले आफ्नो हात चारुको गलामा पुर्यायो। र भन्यो- कस्तो राम्रो माला लगाकी! त्यसबखत उसका आँखा चारुको छातीमा गढेका थिए। औलाले बक्ष खोस्रीदै थिए। स्‍मृतिले चारुका आँखा ओसिला भए। आमा हुँदा उसले आँगन कुच्नेसम्म हिम्मत गर्थेन।

बाहिर आवाजको घनत्व बाक्लिदै थियो। आवाज केन्द्रिकृत थिएन। छरिएको थियो। अमुर्त आवाजलाई उसले बुझ्ने कुरा भएन। उसले फेरि बोलाई- को हो? कोही बोल्दैन। मान्छेको हल्लाखल्ला घरनजिक आउँदै थियो। कुनै आवाजसङ्ग कताकता चिनजान भए जस्तो लाग्यो उसलाई ।

फोक्सोभरी साहस तानेर उसले घरक्क ढोका खोली। ढोकामा खाँबोको कालो छाया पसारिएको थियो। घरभित्रको रोशनि बाटोसम्म पुग्यो। हटेरुहरु घर फर्किदै थिए।

यो हुलमा आमा पो छिन् कि? उसले ताँतीको पुछारसम्म हेरी। देखिन । किचलोको बिचबाट आमा बोल्छिन कि? कान ठाडा पारेर सुनिरही। सुनिन। हल्ला मधुरो हुँदै गयो। र सुनिन छाड्यो। ढोका ढप्काएर भित्र पसी।

रात चढ्दै थियो। अगेनाको खानेकुरा जम्दै थियो। चारुलाई हात जोड्न मन लागेन। मैले पकाएको देखेर आमा कती खुशी हुँदी हुन् । कती मिठो मानेर खाँदी हुन्। आँफै त भन्थिन्- यस्तो दिन के आउला र? आखिर आमा नै आइनन्। मनभरी कुरा गुन्दागुन्दै अगेना छेउमै आँखा लागेको उसलाई पत्तो भएन।

सबेरै चारुका आँखा खुले। भोकले पेटका तन्तुहरु लुछिरहेका थिए। पलक खेर नफाली बासी खानेकुराले आँत भरी। आँखा मिच्दै बहिर निस्की। भर्खर सुर्योदय हुँदै थियो। चारुको घरमा भने बडेमानको सिमलको छाया परेको थियो। उसलाई चिसो बतासले ठिर्यायो। खोरमा बाख्रा कराउदै थिए। बाख्रा फुकाइ। र खेततिर निस्की।

मध्य गाउँमा खेतको बिशाल फाँट छ। त्यहा चारुको निकै धेरै जमिन छ। कती छ उसलाई थाहा छैन। ऊ सम्झिने हुँदा उसका बाबाले त्यहा ट्याक्टर चलाऊथे। र उखु रोप्थे। बाबाले बोक्रा खोल्स्याएर उसलाई खान दिन्थे। उखु गुलियो हुन्थ्यो। पछी उसका बाबा बिदेश पसे। आठ बर्ष बितिसक्यो।  फर्केनन्। त्यहा उखु फल्न छोड्यो। उखुको ठाउँमा गाजाका झाडीहरु सप्रिए। अहिले त्यहा नमिठो बतासको स्याँठ चल्छ। गाउँ भरिका बस्तुहरु त्यही डुक्रन्छन। बुढापाका पशु रुँघेर बस्छन। बुढापाका कुर्न गाउँमा कोही छैन।

बिदेश पसेको केही वर्ष उसका बाबाले फोन गर्थे। पैसा पठाउथे। आमाले चारुलाई बजार लैजान्थिन। उनिहरु जेरी पुरी र समोसा खान्थे। राम्रा लुगा लगाउथे। अली बर्ष बित्यो। बाबाले फोन गर्न छाडे। न त पैसा नै पठाएँ। चारुले पिढीमा बसेर हटेरुको लर्को हेर्थी। आमा ज्यामी गर्न जान्थिन। तर चारुलाई लाउन खान मुस्किलमा पारिनन्।

बाख्रा कान्लामुनीको झ्याङमा पस्यो। चारु जुरुक्क उठी। उसले लगाएको जामा कण्टकारीको काँडामा अल्झेर बिटमुनी च्यातियो। आजभोलि उसको आङमा कमिज अर्कै रङ्गको देखिन्छ। आमा हराएको केही दिनमै त्यस कमिजका बुट्टाहरु मधुरा हुन थाले। र हराए।

बाख्रा फर्काएर चारु उही आलीमा बसी। घाम चर्कदै छ। एक मुल्का कालो बादल आएर घामलाई छोपिदियो। फाँटमा छाया परे पनि उम्को घटेन। चारुले टाढा देखी- चिनक उसैतिर लम्किरहेको छ।

खाने चारु?- खल्तीको भुजियाले पसर भरेर चिनक अघिल्तिर उभियो। नाइ- उ घोंसेमुन्टो लाएर बसी। चिनकले एक फ्वाक मार्यो। आधाआधी भुजिया भुइमा खस्यो। ‘तिम्रो सर्ट मैलो भएछ। भोली हाट जाने?’- चिनकले आश देखायो। चारु केही बोलिन। ‘पैसाको चिन्ता गरेको? मैले दिन्छु नि!’- खल्तीको पर्स खोलेर उसले सयका नोट गन्न थाल्यो।

चारु नाजवाफ बसिरही। ‘एहे! तिम्रो जामा नि फाटेछ। मेरो भट्टामा काम गर्छ्यौ त?’- नदीपारीको इट्टाभट्टामा हेर्दै चिनक फेरी फत्फतायो। चारुले पुलुक्क माथि हेरी। बाख्रा निकै टाढा पुगेछन्। जुरुक्क उठेर उतैतिर दगुरी।

दोपहरमा घर पुग्दा भोकले उसको मुख निलो भैसकेको थियो। सरासर भित्र पसी। आमा छन् कि भनेर कुनाकाप्चा हेरी। आमा नआउने नै होलिन्- उसले आश मारेको लामो सुस्केरा मारी। चामल राख्ने ड्रमको पिधसम्म हेरी। एक गेडो चामल बाँकी छैन। घरमा नुन, तेल र मसला केही सङ्ग्रह छैन। उसका पिडौला गलेजस्तो भयो। भनन्न चक्कर छुट्यो। करेसामा फलेको काँचो मेवा झारेर कोपर्न थाली। अहिलेलाई एक पेट कलको पानी र मेवाले उसको गर्जो टर्यो।

आमा घर नफर्कने नै होलिन्। बजारबाट फर्केका मान्छेलाई हेर्न उसले टाउकोसम्म उठाइन। दलिनमा पाखुराको तकिया लाएर सुतिरही। उसका लुगाफाटा सबै उध्रेका छन। कुनै सग्लो छैन। मैलिएर कुनै सुकिलो छैनन्। मैले काम गर्न सकुँला त?- उसको आँखामा चिनकको आकृति आयो। उत्तिखेरै आमाको आवाज उसको कानैनेर आइपुग्यो- पन्ध्र बर्षमा त तेरा बाले मलाई ब्या गरिसकेका थे। उसले आफ्नो उमेर गनी- चौध बर्ष, पाँच महिना।

सूर्य जिर्ण बन्दै थियो। खोरका बाख्रालाई एक आङ्गालो डाली हालिदीई। र बाटोतिर फर्केर बसी। यस बखत उसलाई आमाको याद आएन। उसले चिनकको बाटो हेर्दै थिइ। अक्सर चिनक उसको घर वरीपरी घुमिरहन्थ्यो। बजारबाट फर्किनेहरु बाक्लिदै थिए। चिनक टुप्लुक्क घर नजिक आइपुग्यो। चारुले बोलाई। ऊ पिढीमा आएर बस्यो।

चारुले कामको कुरा गरी। चिनक राजी भयो। चिनकको पापासङ्ग कुरा गरेर काम सुरु गर्ने भनेर दुबैजना अघिपछी गर्दै खोलापारीको इटाभट्टा तिर लागे। डडेको बादल छलेर आएको किरणले धरती पुरै रक्ताम्य देखिन्थ्यो।

बिहानैदेखी गाउँमा गाईँगुँइ हल्ला चल्न थाल्यो- चारु पोइला गै। अड्कल काट्नेको आ-आफ्नै तर्क थियो। कोही भन्थे- हिजो साँझबाटै घरमा बत्ती बलेको छैन। उसलाई चिनक सङ्ग खोलातिर पसेको देख्ने पनि थुप्रै थिए। केही हटेरुले त बजारबाट फर्कदा हरेक दिन अबेर राति चिनक चारुको घरबाट फर्कने गरेको बताए। आमा नै बेश्या भएसी छोरी हुने नै भै भन्ने नि थुप्रै थिए।

एकाध दिन गाउँलेले चिनकको घरतिर पनि खुबै ध्यान पुर्याएर हेरे। चिनक पनि देखिदैन। न त साइकलमा बरालिँदै डुल्छ। न त भट्टामा देखिन्छ। न त फाँटतिर गाजा तान्न निस्किन्छ। चारु पोइला गएको पक्कापक्की भयो।

हुन पनि चारु पछील्ला केही दिन कतै देखिदैनथी। न घरमा, न गाउँमा, न फाँटतिर।

****

उखरमाउलो गर्मिले धरतिको तालु चिरिएको थियो। हमेसा गाउलेहरु आजको मेघले पानी ल्याउछ कि भनेर उँभो हेरिरहन्थे। नभन्दै साउनको अन्त्यतिर घनघोर वर्षा भयो। खोलामा ठूलो बाढी आयो। भेलले किनारा लाएको झिँजा बटुल्न पुरै गाउँ तटमा घोप्टियो। दाउरा बटुल्दै गर्दा एउटा किशोर बेस्मारी चिच्यायो- त्यो खोल्साको मुखमा मान्छेको खप्पर छ। सबै मान्छे काम छाडेर उतै लागे। एक कान दुई कान मैदान। मान्छेको भिड थामी नसक्नु ओईरियो।

गहिरो खोल्साबाट बग्दै आएको भेलले खोलाको नजिकै एउटा मानब अस्थी बिसर्जन गरेको रहेछ। हाडमा अली अली सुकेको छाला पनि बाँकी थियो। परन्तु त्यो पानीले हुस्स फुलेको थियो। हल्ला चलेको दुई दिन बित्दा   घटनास्थलमा प्रशासन आइपुग्यो। घटना झन रहस्यमय बन्दै थियो। पुलिसले जाचपडतालको क्रममा वारदातबाट अर्को अस्थी भेट्टायो।

गाउँमा सोधखोज चल्यो। कसैले द्वन्दकालको बेला पुरिएको शब बाहिर निस्केको हुनसक्ने भने। कोही सीमा वारपार गर्ने तस्करहरु आ-आफै लडेर मरेको हुनसक्ने आशंका बाताए। कसैले त कंकाल यो खोल्साबाट निस्केकै होइन भनेर ठोकुवा हाने।

भिडमा अनेकथरी अड्कलबाजी चलेका बेला कसैको मोबाइलमा फोन आयो। हल्लाबाट अलिपर पुगेर उनले फोन उठाए र भने- ‘तिमी चुप लागेर मामाघर बस। सबै सल्टेपछी म लिन आँफै नौतुना आउछु।’ तालु खुइलिएका ति प्रौढ ब्यक्ती चिनकका पापा थिए।

उताबाट बोल्नेले भन्यो- पापा राजमन पनि यही छ। तिमी धेरै फोन नगर- प्रौढले फोन काटिदिए।

खोल्साको दक्षिण केही दुरीमा चारुको कमिज आधाजसो बालुवामा गढेको थियो। देखिने जती टुक्रामा बुट्टा राम्ररी देखिन्थे। नजिकै आमाले बजार लगाएर गएको पहेलो धोती पसारिएको थियो। त्यता कसैको ध्यान गएन।

[email protected]

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.