डोल्पो लोककथाः शीबताक

नेपाली लोककथा


धेरै वर्ष अघिको कुरा हो, एउटा डोल्पो गाउँमा एउटी आमाले तीनवटा छोरीलाई जन्म दिइन्। त्यस्तै, दुई तीन–वर्षको अन्तरालमा जन्मे पनि आमाले उनीहरुको पालनपोषणमा कुनै कमी देखाइनन्। धेरैजसो बाहिरी गाह्रो काममा खट्ने, एउटा काठका लागि पनि तीन चार दिन लगाएर हिँड्ने, भोटमा नून लिन र अरु खाद्य सामानहरु लिन पनि एक्लै थुप्रै चौंरीहरु लिएर कम्तीमा पनि दश दिनको जोखिम बाटोमा जाने, हिउँको खासै पर्वाह नगर्ने श्रीमान साह्रै मिहिनेती पनि थिए। शारिरिक हिसाबले खासै बलियो नभएकोले होला, एक दिन बाबु अचानक थला परे। श्रीमती र छिमेकीले नजिकैको स्थानीय अम्चीलाई तुरुन्तै गुहारे। अम्चीको औषधीले खासै छोएन र बाबु केही महिनामै बिते। जेठी छोरी बाह्र, माइली दश र कान्छी आठ वर्षकी थिई। तैपनि, आमालाई हरेक काममा सबैले बराबर सघाउँथे। बाबा थला परेको देखि बितेको दिनसम्म सबै छोरीहरुले छेउको छ्र्योतेनमा ढोग गर्न छुटाइनन्।

त्यसपछि घरको जिम्मा आमा र जेठी छोरीले लिइन्। सकीनसकी काठहरु पनि ल्याउने र विस्तारै विस्तारै अरु साथीभाइहरु सँग भोट पनि जान थालिन्, जेठी। आमा भने खेतीपाती र घरभित्रको काम गर्दैमा व्यस्त हुन्थिन्। केही वर्षपछि अचानक आमा पनि थला परिन्। पहिले बाबाको शोकबाट ग्रसित परिवारलाई आमाको बिरामीको पीरले झनै सतायो। तीनै जना छोरीले पालैपालो बिरामी आमालाई सोध्ने निधो गरिन्।
पहिलो, जेठीको पालो आयो। जेठीले आमालाई सोधिन्, आमा तपाईंलाई के गरे सन्चो होला? आमाले प्रतिउत्तरमा जेठीलाई छेवैको डाँडामा गई केही पवित्र घाँस र कलशभरी पानी ल्याएर खान दिए आफु सन्चो हुने बताइन्। आमालाई सन्चो पार्न जेठीले केही घण्टाको पैदल सुरु गरिहालिन्। डाँडामा पुगेर आमाले भनेको जस्तो पवित्र घाँस र कलशभरी पानी लिएर तुरुन्तै फर्कन पनि खोजिन्। केही पैदलमा नै उक्त डाँडाको रक्षक एउटा रातो कुकुरसँग भेट भयो। उक्त कुकुरले आफू त्यो डाँडाको रक्षक भएको र डाँडाका हरेक चीजहरु स्वीकृति बिना लैजान नपाइने बतायो। लैजाने नै भए उक्त रक्षकसँग विवाह गर्नुपर्ने सर्त राख्यो। जेठी अचानक रीसले चूर भइन्। उक्त रक्षकसँग विवाह गर्न अस्विकार गर्दै जेठीले संकलन गरेको पवित्र घाँस र कलशको पानी फालेर हिँडिन्।

घरमा पुग्दा खाली हात देखेपछि माइलीले आमालाई सोधिन्। माइलीको प्रश्नमा पनि आमाले उहीसल्लाह दोहो¥याइन्। माइली पनि तुरुन्तै कलश लिएर डाँडाको नजिकै पुगिन् र एकछिन थकाइ मारिन्। एकछिनको थकाइ मेटाईपछि माइलीले पवित्र घाँस र पानी जुटाउन सफल भइन्। फर्कंदा उही रक्षकले माइलीलाई समेत फेला पा¥यो। अघि जेठीसँग राखेको सर्त माइलीलाई पनि तेस्र्यायो। माइली पनि रिसाइन्। पवित्र घाँस र कलशको पानी फालेर दगुरिन्।

अब पालो आयो, कान्छीको।

कान्छीलाई पनि आमाले त्यही कुरा बताइन्। रात पर्ला भन्ने डरले कान्छी पनि चाँडै डाँडातिर उक्लिइन्। तुरुन्तै डाँडामा गएर पवित्र घाँस र पानीको पनि बन्दोबस्त गरिन्। बाटोमा फर्कन लाग्दा फेरि उही रक्षक भेट भयो र उही कुरा दोह्रायो। कान्छीले भने आमाको अवस्थालाई तुरुन्तै सम्झिइन् र उक्त कुकुरसँग विवाह गर्न आफू तयार भएको बताइन्। तर, उनले अर्को सर्त तेस्र्याइन्– अहिलेको लागि आमा अत्यन्तै नाजुक भएकोले उहाँलाई पवित्र घाँस र पानीको आवश्यकता छ। त्यसैले म यो पु¥याएर चाँडै फर्किएर आउँछु।’ त्यस्तो कुरा सुनेपछि उक्त रक्षकले कान्छीलाई जान दियो र सकेसम्म चाँडै फर्कन भन्यो।

कान्छीले घर पुग्नेबित्तिकै आमालाई उक्त पवित्र घाँस र कलशको पानी दिइन्। आमा खुसी हँुदै उक्त चीज खाइन्। केही दिनमै आमा स्वस्थ भइन्। स्वस्थ भएलगत्तै आमालाई कान्छी छोरीले सारा कुरा बताइन् र उक्त रक्षक कुरिरहेको पनि खुलासा गरिन्। यसैमा चिन्तित आमाले अब कान्छी छोरीलाई जोगाउने निधो गरिन्। राति सुत्दा बाकसमा सुताइन्।

राति सुतेको केही घण्टापछि उक्त रक्षक कान्छीको घरमा आयो। घरभित्र हातले खोतल्दा आफूले खोजेको कान्छी फेला पार्न सकेन। निराश भएर केहीबेर यताउता चाहारिरह्यो। छिनछिनमा चाहार्ने र छिनछिनमा बस्ने गर्न थाल्यो। बस्ने क्रममा उसको आँखा एउटा मालामा प¥यो। माला तान्न खोज्यो। अचानक कान्छीले आवाज दिइन्। आवाज दिनासाथ कुकुरले कान्छीलाई फेला पारिहाल्यो। र, कान्छीलाई आफ्नो साथ लिएर गयो।

उक्त कुकुरको बासस्थान सफा थिएन। चाँडै सफा गर्ने बताउँदै पनि रक्षकले कान्छीलाई मनायो।

यत्तिमै यो लोककथा टुंगिन्छ। यस लोककथाको मुलथलो भनेको नै डोल्पो हो। प्रायःजसो आमाले सुनाउने यस लोककथाको सामाजिक, धार्मिक र राजनैति अर्थ छ। कथाको परिवार भित्रको आमा र छोरीको सम्बन्धले त्यहाँको सामाजिक अवस्था चित्रण गर्न खोजेको देखिन्छ। बाबा बिरामी हँुदा आम्चीलाई सम्झेको अवस्थाले पनि उक्त समाजको विकटतालाई दर्शाउँछ। साथै, उक्त समाजभित्र रहेको आम्ची प्रतिको विश्वासलाई देखाउँछ होला। भोटतिर जाँदा होस् या काठका लागि कठिन हिँडाई, त्यस परिपाटीले भने उक्त सामाजिक अवस्थालाई कसरी दुर्गम भौगोलिक अवस्थालाई असर पार्दो रहेछ त भन्ने देखाउन खोजेको छ। त्यसैगरी, आमा बिरामी हुँदा डाँडाको पवित्र घाँस र पानीको कथनलाई पनि हेर्ने हो भने उक्त सामाजिक र भौगोलिकको अन्तरसम्बन्ध धार्मिक पनि हुन्छ भन्ने देखाएका छन्।

डोल्पोहरु प्रायः जसो प्रकृति पूजक पनि हुन् र प्रकृतिमाथिको विश्वास अझै पनि रहेको अहिलेको यथार्थ पनि हो। र, डाँडाको रक्षकको कथनमा पनि डोल्पोहरुको प्रकृतिमाथि रहेको भावना र विश्वास जोडेको पनि पाइन्छ। त्यसैले पनि यो लोककथाले उक्त समाजको चित्रण गरेको छ भन्दा अत्युक्ति नहोला।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.