ज्ञानी राधा

बालकथा: सुनौं-सुनाअौं

बालकथासंग्रह 'हाम्रो कुरा पनि सुन्नुस्' पुस्तक आवरण


आमा भन्नुहुन्छ, ‘राधा ज्ञानी छे!’

बुवा भन्नुहुन्छ, ‘राधा असल छे!’

गुरुबा, गुरुआमा भन्नुहुन्छ, ‘राधा जेहनदार विद्यार्थी हो!’

साथीहरू भन्छन्, ‘राधा सहयोगी र मिलनसार छे!’

आफन्त, टोलछिमेकका सबै भन्छन्, ‘राधा एकदिन असल मान्छे बन्छे!’

राधा यसपाली सात वर्ष पुगी। ऊ दुई कक्षामा पढ्छे। जसले पनि उसको प्रशंसा गर्छ। ऊ हँसिली छे। सबैसँग असल व्यवहार गर्छे तर एक हप्तादेखि उसमा परिवर्तन आएको छ। ऊ घरमा पनि कसैसँग बोल्दिन। साथीहरूसँग खेल्दा पनि खेल्दिन। पढाइमा पनि ध्यान दिन्न। जतिखेर पनि ठुस्स परेर बस्छे। खाना पनि राम्रोसँग खान्न।

के भएको होला राधालाई? सबैजना छक्क छन्। बुवालाई पनि थाहा छैन, आमालाई पनि थाहा छैन। साथीहरूलाई पनि थाहा छैन। गुरुबा, गुरुआमा कसैलाई पनि थाहा छैन। सोध्दा पनि राधा बोल्दिन। बुवाआमा उसको व्यवहारले चिन्तित हुनुहुन्थ्यो।

त्यसैबेला एकदिन राधाको घरमा मामाघरको हजुरबुवा आउनुभयो। ‘नमस्ते!’, राधाले ठुस्किँदै नमस्ते गरी। उसको अनुहारमा खुसी थिएन।

उसको अनुहार निन्याउरो थियो। अरुबेला हजुरबुवा आउँदा ऊ परैबाट कुद्दै जान्थी। हजुरबुवा उसको व्यवहारले छक्क पर्नुभयो। ‘मेरी प्यारी नातिनी!’, भन्दै हजुरबुवाले उसलाई काखमा लिन खोज्नुभयो तर ऊ त तर्केर पर गएर बसी। हजुरबुवा पनि ऊ भएतिरै जानुभयो।

‘मलाई पढ्नु छ।’, हजुरबुवा छेउमा आएको देखेर उसले मुख बङ्ग्याएर भनी। ऊ पढ्ने कोठातिर जान थाली।

‘त्यसो भए ठिकै छ, म यो चकलेट फिर्ता लान्छु’, हजुरबुवाले गोजीबाट चकलेट निकाल्नुभयो। राधालाई चकलेट असाध्यै मनपर्छ। चकलेट देखेर उसको मुखमा पानी आयो। एकछिन त उसले चकलेट नहेरेझैं गरी तर उसको मुखमा पानी आइसकेकाले ऊ हजुरबुवाको छेउमा गइ। हजुरबुवाले चकलेट दिनुभयो। ऊ खुसी भइ। उसको अनुहार पनि उज्यालो भयो। अनि नातिनी र हजुरबुवा बसेर कुरा गर्न लाग्दै थिए। त्यतिखेरै राधाका बुवाआमा आउनुभयो। बुवाआमा पनि छेउमा बस्नुभयो।

‘थाहा छ हजुरबुवा मेरो स्कुल……’, राधा बोल्दै थिइ तर बुवाले उसलाई रोकेर भन्नुभयो, ‘जाउ गएर पढ। कुरा गरेर हजुरबुवालाई दिक्क नपार।’
बुवाको कुराले राधाको मुख फेरी निन्याउरो भयो। ऊ उदास भइ। उसले मायालाग्दो पाराले सबैको अनुहारमा हेरी। ‘जाउ जाउ’, बुवाले फेरि भन्नुभयो।

‘पख्नुस् न ज्वाइँ साहेब पहिला नातिनीको कुरा त सुनौं।’, हजुरबुवाले राधाको हात समाएर उसलाई रोक्दै भन्नुभयो, ‘ल भन त, तिम्रो स्कुलमा के छ?’

राधाले बुवाआमाको मुखतिर हेरी। उहाँहरू रिसाएर राधालाई हेर्दै हुनुहुन्थ्यो। राधा डराइ। उसले हजुरबुवाको हातबाट आफ्नो हात छुटाउँदै झर्केर भनी, ‘केही पनि छैन मेरो स्कुलमा! म पढ्न जान्छु।’

‘ठिकै छ, म को हुँ र तिम्रो कुरा सुन्ने!’, हजुरबुवाले घुक्र्याएर भन्नुभयो। राधालाई हजुरबुवाले उसको कुरा सुन्ने कुरा पत्यारै लागेन। उसले हजुरबुवासँग सोधी, ‘साँच्चिकै तपाई मेरो कुरा सुन्ने हो?’

‘साँच्चै हो, ल भन त।’, हजुरबुवाले उसलाई विश्वास दिलाउनु भयो।

अनि त राधा हजुरबुवाको छेउमा गएर बसी। उसले आफ्नो स्कुलमा चटक देखाउँदा के के भयो भनेर सुनाई। हजुरबुवाले उसको कुरा चाख मानेर सुन्नुभयो। हजुरबुवाले त्यसरी आफ्नो कुरा सुनेको देखेर राधा मख्ख परी। उसले अनुहार हँसिलो बनाई। आफ्नो कुरा सकिएपछि राधाले

भनी, ‘हजुरबुवा अब म पढ्न जान्छु है?’

‘हुन्छ हुन्छ जाउ!’, हजुरबुवाले भन्नुभयो, ‘तर एउटा कुरा भन त, तिमी अघि बिहान किन रिसाएको?’

‘ए! तपाईसँग पनि रिसाइ। यो अचेल सबैसँग रिसाउन थालेकी छे!’, बुवाले राधा बोल्नुभन्दा अगाडि नै भन्नुभयो।

‘हो?’, हजुरबुवाले सोध्नुभयो ।

राधालाई हजुरबुवासँग कुरा लुकाउन मन लागेन। उसले ‘हो’ भनी।

‘किन? तिमी त ज्ञानी नानी हौ। के भयो तिमीलाई?’, हजुरबुवाले सोध्नुभयो। राधालाई एक्कासी रुन मन लाग्यो। उसले रुँदै भनी, ‘मलाई बुवाआमाले माया गर्नुहुन्न!’

राधाको कुराले सबजना अचम्मित हुनुभयो। ‘नरोउ, नरोउ’, हजुरबुवाले उसलाई फकाउनु भयो। बुवाआमा त उसको कुराले जिल्ल परिराख्नु भएको थियो। त्यसैले हजुरबुवाले नै सोध्नुभयो, ‘किन तिमीलाई बुवाआमाले माया गर्नुहुन्न जस्तो लाग्यो? गाली गर्नुहुन्छ? पिट्नुहुन्छ?’ उसले होइन भनी र सुँक्क सुँक्क गरेर रोइरही।

‘त्यसो भए के त?’, हजुरबुवाले फेरि सोध्नुभयो।

‘मेरो कुरा कसैले सुन्दैन। बुवाआमा खाली आफ्नो मात्र कुरा गर्नुहुन्छ। मैले केहि भन्न लाग्यो कि पढ्न जाउ, सानोमान्छेले बोल्नुहुँदैन भन्नुहुन्छ।’, राधाले सुँक्क सुँक्क रुँदै भनी।

ओहो! अनि पो आमालाई याद आयो। राधाले अस्ति उसको साथीको बारेमा भन्न लाग्दा आमाले वास्तै गर्नुभएको थिएन। बुवाले पनि त फुर्सद छैन भनेर उसको कुराको वास्ता गर्नुभएको थिएन।

अब राधाको स्वभाव किन बदलिएको रहेछ भनेर उहाँहरूले थाहा पाउनु भयो। ‘ल हामीले कान समायौं।’, बुवाआमाले कान समाउँदै भन्नुभयो, ‘अबदेखि हामी तिम्रो कुरा पनि सुन्छौं! हामीले गल्ती ग¥यौं। हामीलाई माफ गर है!’

बुवाआमाले कान समातेको देखेर राधालाई हाँस उठ्यो। ऊ त रुन बन्द गरेर हाँस्न पो लागी। उसले बुवाआमा दुबैको कानबाट हात छुटाई र उहाँहरूको गालामा माया गरी।

‘मलाई पनि!’, हजुरबुवाले भन्नुभयो। उसले हजुरबुवालाई पनि माया गरी।

त्यो दिनदेखि राधा पहिलेको जस्तै ज्ञानी भई।

(अान्विका गिरी लिखित सचित्र बालकथासंग्रह ‘हाम्रो कुरा पनि सुन्नुस्’बाट लिइएको हो। पुस्तकलाई सांग्रिला बुक्सले बजारमा ल्याएको छ।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.