लाहुर अनि लाहुरेको कथा


दुख गरि हुर्काकी आमाले

खान्छ कि ज्यान कोरियन कामले

फुल्यो बामरी बामरी म भोली गैहाल्छु बसे रामरी

दक्षिण कोरियाको राजधानी सियोल बाट ११५ किलोमिटर दक्षिणतर्फ रहेको छ छङ्जु (chhangju) भन्ने एउटा कम्पनीको सानो कोठा, पाँचजना नेपाली साथीभाई भुइँमा बसेर स्टिलको कचौरामा चम्चाले हान्दै मुजुरा अनि पानीको जारलाई मादल बनाएर पोखरा लेखनाथ महानगरपालिका २२ का तारा बराल अनि पुष्प बराल लगायतका साथीहरु अत्यन्तै मार्मिक र मन छुने गीत गाउँदै फेसबुकमा लाइभ गर्दै थिए। गीतका टुक्का तारा बरालले छुट्टीमा नेपाल जाँदा सिर्जना गरेका रहेछन्।  झिलिमिली र लोभलाग्दो देखिने कोरिया अनि यहाँ कमाइ हुने लाखौ कोरियन ओनको पछाडि लुकेका बेदनाका पोकाहरु पनि सँगसँगै पस्किदै थिए मित्रहरु गीत मार्फत।

म सानो हुँदा हजुरआमालाई सोध्ने गर्थें, “आमा लाहुर कस्तो हुन्छ ?”

हजुरआमा भन्नु हुन्थ्यो, “लाहुर साह्रै रमाइलो हुन्छ, बडेमानका घर, चाक्ला पिच बाटा, ठूलाठूला मटरगाडी अनि लामालामा रेल हुन्छन्।

रेल लामो हुन्छ भन्ने सुन्दा म उत्साहित हुन्थें र सोध्थें कति लामो हुन्छ रेल? हजुर आमा भन्नु हुन्थ्यो, “छोटी लइन काफल डाडाबाट रातिपोखरी जति लामो हुन्छ, त्यसमा डिब्बा कम हुन्छन्। बडी लइनचाहिँ काफल डाँडाबाट भैसारनी भन्नी ठाउँजति लामो हुन्छ। त्यसमा डिब्बा पनि धेरै हुन्छन्। मान्छे पनि धेरै अट्छन्।  रेल कोइलाले  चल्छ। एकदमै छिटो दौडिन्छ। डिब्बा  भित्रै चर्पी हुन्छ। त्यहीँभित्र खाने कुरा बेच्न ल्याउछन्।

हजुरआमाले भन्ने सुन्दा अनि लाहुरका अरु बयान सुन्दा मलाई पनि उतिबेलै लाहुर गइहालौं जस्तो लाग्थ्यो।

समयको गोलचक्करले आखिरमा मलाई पनि लाहुर ल्याएरै छाड्यो। कहिलेकाहीं त लाग्छ, मैले सानो हुँदा लाहुर जाने अनि लामो रेल चढ्ने सपना नदेख्नु पर्ने के थाहा त्यहि सपनाले डोरायर यहि पो ल्याइ पुरायको  हो कि ?

टिप्दा टिप्दै जङ्गल मा एसेलु  

जोबन खेर जाने भो बैसालु

फुल्यो बामरी बामरी म भोलि गैहाल्छु बसे रामरी

पोर्तुगलको राजधानी लिस्बनबाट ३७० किमि उत्तरतर्फ रहेको ब्रागा जिल्लास्थित ल्याण्डम्यान नाम गरेको कम्पनीको रसबेरी फर्ममा हामीसँगै काम गर्ने एकजना पोखरेली दाजु कृष्ण लामिछाने हुनुहुन्छ। उहाँ बरिष्ठ  लोकदोहोरी गायक र शब्द  संकलक पनि हुनुहुन्छ। उहाँ यही गीत गुनगुनाइरहनु हुन्छ। उहाका गीत सुन्दा लाग्छ, म आफ्नै ठाउँमै मेलापात गर्दैछु।  संयोग नै मान्नु पर्छ, कोरियामा भएका मित्र र उहाँले गाएको भाका एउटै परेछ। चाहे कोरिया होस् या युरोप, भोगाइ र बुझाइ एउटै छ विदेशमा।

पोर्तुगलका विभिन्न स्थानमा काम गर्ने क्रममा धेरै नेपाली महिला मित्रहरुसँगै काम गरियो।  काम गर्ने क्रममा, मन एकोहोरो हुँदा घरपरिवार अनि सानासाना नानीबाबू सम्झँदा उनीहरु मौन हुन्थे। उनीहरुको चिन्ता र घरको याद अनुहार र बोलीमा प्रतिबिम्बित हुन्थ्यो।  दुई हप्ताअगाडि मात्र आफ्नो श्रीमानको डिपेन्डेन्टमा पोर्तुगल आएकी एकजना भाउजुसँग कुराकानी भयो।  नेपालमै जन्मेर, हुर्केर ३ ओटा बच्चा पनि भएकी ती भाउजुलाई विदेश आएको पहिलो पटक भएर हो वा घर अनि बच्चाको यादले सताएर हो, साह्रै मन आत्तिएछ। आफूलाई तुरुन्त नेपाल पठाइदेऊ भन्दै हुनुहुन्थ्यो। अनि, नेपाल गएपछि यो ठाउँमा फेरि फर्केर आउँदिन भन्दै हुनुहुन्थ्यो। मान्छे युरोप आउन अनि यहाँको कार्ड पाउनका लागि मरिहत्ते गर्छन्। तर, यहाँ आएपछि आफ्नै देश आँखामा नाच्छ। तुरुन्तै फर्केर गइहालौंझैँ लाग्छ। मलाइ लाग्यो, नेपाली संस्कारमा हुर्किएका महिलालाई विदेश बसाइ झन् कष्टकर हुँदोरहेछ।

कतारको दोहास्थित पीएस टेक कम्पनीमा काम गर्ने एकजना सूर्यप्रकाश नाम गरेको भाइ यतिबेला चिन्तामा परेको छ। ४ वर्षअगाडि मेन्टेनेन्स हेल्परमा कम्पनीमा छिरेको मान्छे काम सिक्दै गयो, बिस्तारै काम सजिलो लाग्दै गयो अनि तलब पनि बढ्दै गएको थियो।  नेपालबाट मेनपावरले भनेभन्दा केही बढी नै कमाइ भएको र केही पैसा पनि बचत भइराखेको अवस्था थियो। तर, कतार तथा अरबमा उत्पन्न अहिलेको असहज परिस्थितिबाट ऊ पनि अछुतो रहन सक्ने कुरा भएन। कतारमा नाकाबन्दीपछि बढेको महंगी, कच्चा पदार्थको अभाव र अन्य अरबियन मुलुकका नागरिकको आफ्नै देशमा अनिवार्य फिर्ती भएपछि काम गर्ने वातावरण बिग्रेको छ। अब कतारको भबिस्य के हुने हो, साउदीलगायतका छिमेकी मुलुकले लगाएको नाकाबन्दी र अब तिनले कतारका बिरुद्धमा चाल्ने कदमले सूर्यप्रकाशलगायत लाखौं खाडीमा कार्यरत युवाको रोजीरोटीमाथि प्रश्न उब्जाएको छ।

यस्तैयस्तै छ नेपाली लाहुरे अनि लाहुर को कथा।  भन्दाखेरी लाहुर, गइसकेपछि ताहुर र माहुर भन्ने एउटा नेपाली उखान छ।  लाहुर भन्नलाई सजिलो, गर्नलाई गाह्रो हुँदोरहेछ। अब त नेपालमा नयाँ संबिधान लागु भएर पनि धेरै ठाउँमा स्थानीय तहको निर्वाचन पनि सम्पन्न भइसकेको छ। नेपालले अब काँचुली फेर्ला अनि स्वदेशमै आएर आफ्नो पसिना बगाउँला भनेर लाखौं युवा लाहुरबाट नेपालतिर आशावादी आँखाले हेर्दै छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.