फगत दरुवा हरिभक्त !


परिस्थितिले समाजको रङ्गमञ्चमा पछारेपछि मदिराले मात्रै ढन्मनिँदैन मान्छे। रक्सीले मात्रै मात्दैन ऊ। जाँडले मात्र तिल्मिलाउँदैन। आँफै उठ्छ अनि आफै पछारिन्छ अभाव र वैचनीको भट्टीहरूमा। जीवनका मार्गहरूमा सङ्घर्षको धुपले अत्तालिएर पानी पिउँदै थिए हरिभक्त। तर, रङ्गिन चस्मेदार साथीहरूले भन्दिएछन् ‘दिउँसै धोक्दै छ हरिभक्ते’। संसारमा सयकडा ९० मान्छेले पिएका कथा उनीहरूलाई ज्ञात थियो। तर, न्युरोडका गल्लीहरूमा एक्लो ट्वाँकेन्द्र बनेको थियो ऊ। फगत दरुवा हरिभक्त!
पिपलबोटको उत्तरतिरको भट्टीमा सँगै अँगालो हालेर पिउथ्यौँ हामी। उनीहरूको स्पिड अझ तीब्र हुने गथ्र्याे। थाल्न नपाउँदै ग्याम्बे भन्ने दोस्तहरू भोलिपल्ट सबेरै सभ्य, सफेद, सात्विक व्यक्ति ठहरिन्थे र एक्लो हरिभक्त मौजात थिए दरुवा बन्न। लाग्थ्यो, कहिलेकाहीँ हरिभक्तको राशीको नाम नै ट्वाकेन्द्रप्रसाद जुरेको हो।
मैले असमदेखि नेपालमा आएर सिर्जेका कविता सायद अब कविता थिएनन्। ती सबै गिलासमा हालिएका रमरम रङ्गीन पानी थिए। ‘यो जिन्दगी खै के जिन्दगी’ कविता बक्दा ताली बजाउथे उनीहरू। र, मञ्चबाट ओर्लेपछि भन्थे– यो ट्वाकेन्द्रे के कवि ? फगत दरुवा, असली कवि त हुँदै होइन।

मलाई केही थाहा थिएन। जीवन थाहा थिएन। विरक्तिएर पुर्खाको पाइला खोज्दै काठमाडौंका गल्लीहरूमा आइपुगेको थिएँ। साथीहरूले ट्याग लगाइदिएछन्– यो रूपमा मान्छे हो, सारमा पियक्कड। मैले साँचो बोले म पिउँछु। तर, लुकेर पिउनु पर्छ, पिएर ढाँट्नु पर्छ भनेर कसैले सिकाएनन्। फलत सबै बने सफेद–सादगी। म भने जड्याँहाका राजा फगत दरुवाको कोटिमा दरिएँ जब्बरसँग।
मैले भनेकै हो कि मलाई एक्लै छोडिदेऊ कि मलाई पिउनको लागि साथ देऊ भन्दा उनीहरू सधैँ दोस्रो विकल्प रोज्न पुग्थे। म प्रस्तावक उनीहरूभन्दा बदनाम बनिसक्थेँ फगत दरुवा।
जब हामी टेबलमा सँगै हुन्थ्यौं, साथीहरु भन्थे– सभ्य मान्छेले खाने चिज हो रक्सी। जब हामी त्यहाँबाट उठ्थ्यौँ सुटुक्क हरिभक्त असभ्य जड्याँहा बनिसकेको हुन्थ्यो। र, मलाई एक्लै छोडेर दालचिनीको बोक्रा चपाउँदै निवासतिर लाग्ने साथीहरू उच्च आदर्शका बनिसक्थे ह्याङओभर मतिरै टँस्याएर।

हरेक साँझ म जिन्दगीको परिभाषा खोज्न पिउँथे र मुखमा नमीठो गन्ध र हृदयका अनन्त व्यथा बोकेर बाँच्नको लागि आफूलाई सम्हाल्ने असफल प्रयास गर्थें। त्यतिबेला पटकपटक मेरो नाममा अर्को उपमा थपिसकिएको हुन्थ्यो– घ्याम्पे हरिभक्त फगत रिप्पु दरुवा।

जीवनका परिभाषा खोजेकै कारण उनको न्वारन गरियो जाँडको घडा? जाँड धोक्नकै लागि हरिभक्त जन्मेका थिए? न्यूरोडको गल्लीमा हल्लिने हरिभक्त मात्र थिए? के उनका सिर्जना त्यति निम्छरा छन् जसरी भट्टीमा उल्याइन्छ? किन कहिल्यै पाएनन् उनले बागी विचारको सहारा?

यी यावत् जिज्ञाशा बोकेर अस्ताए हरिभक्त। के उनी साँच्चै पिउनकै लागि यस पृथ्वीमा आएका थिए? उनका गीत, कविता र नाटक के जाँडको निगारमा डुबेका छन्? के उनको सिर्जना स्रोतको केमिकल नै सोम रस थियो?
उनीसँगै नयाँ सडकमा भौँतारिनेहरूको नामनिशाना आज भेट्टाउन गाह्रो छ। तर, कटुवालले नेपाली साहित्यलाई जेजति सिर्जना दिएर गए ती अजेय भएर पढिएका छन् कलेजहरूमा र युनिभर्सिटीका कोठाकोठामा। अनि, साहित्यिक भावुक मनमस्तिष्कमा। के एउटा सर्जकलाई नियाल्न दुई आँखा अपुग भएकै हो वा तेस्रो चक्षुको अपेक्षा गरेका थिए हरिभक्तका सिर्जनाहरूले?

हामीले अब पनि विलम्ब गर्ने र हरिभक्तलाई पढ्न? आगामी पुस्तालाई हरिभक्त चिनाउन, उसलाई गाउन र उनका दुरगामी महत्वका कविता वाचन गर्न? के उनलाई चिनाउन नसकिएला दरुवा हरिभक्तभन्दा माथिल्लो शिराबाट? इतिहासका गर्तमा डुबेका दरुवा हरभक्तको शालिकको बुइँ चढेर हामीले अब भन्न ढिलो भैसकेन र– कालजेयी हरिभक्त?

रक्सीको गिलासबाट होइन उनको जीवनको कष्टपूर्व भोगाइबाट सिर्जित गीत कविताहरू हुन्। यो जिन्दगी खै के जिन्दगी, आकाशका तारा के तारा, मन त फलामकै भए असल हुन्थ्यो। जीवनको कडा झापडले घायल भएका कवितालाई दरुवाको उपमाले झन् प्रताडित बनाउने कि उनका रचनाको आश्यवादन? यस्तै प्रहार र प्रताडनाले होइन र उनले सोधेका ‘कहाँ दुख्छ घाउ’ भनेर?

पिउन त धित मर्ने गरी पिएकै हुन्, हरिभक्तले। नत्र उनका खुट्टाको लरबराइ गीत बन्ने थिएनन्। भरतराज पन्तले उनको दरुवा हिँडाइलाई हेरेर यस्ता पंक्ति त्यसै कोरेनन् सायद–
त्रिशुली बगेकी छिन् बाङ्गोटिङ्गो गरी गरी
नयाँ सडकमा साँझ हरिभक्त हिडेसरी

पन्तको यो व्यङ्ग्यात्मक गीतले हरिभक्त दरुवा नै हुन् भन्ने पुष्टि गरेरै छाड्छ। मात्र पियक्कड। हरिभक्तले रक्सी धोकेकै हुन्। यसमा कुनै शङ्काको पहाड उभ्याउन आवश्यक भएन। तर मात्र पियक्कड पक्कै होइनन्। उनी एक सशक्त, सहृदयी साहित्यकार पनि हुन्। नेपालदेखि असमसम्म, बालकदेखि युवा–वृद्धसम्मले रुचाएका कलमजीवी सर्जक–कवि पनि हुन्, उनी। तत्कालीन राजा महेन्द्रदेखि सडक सडकमा हिँड्ने सडकछाप समेतले रुचाएका रसिक कवि हुन्, उनी। कटुवाललाई रक्सीको बिम्बमा डुबाएर हामीले उहाँमाथि कस्तो न्याय गर्दैछौँ? एउटा स्रस्टाको सारा कलामूल्य बिर्सेर नितान्त वैयक्तिक जीवनका केही सीमित कुरालाई उभ्याएर उनीप्रति घोर अन्याय त गर्दै छैनौं हामी? यो कुरा किन स्वीकार गर्न तयार छैन हरिभक्तको समकालीन पुस्ता?

आसामबाट त्यहाँका कथित रैथानेले उनको खेदो नखनेको भए उनी नेपाल सायदै आउँथे। यति रसिक कविता पस्केर नेपाली साहित्यको भण्डारलाई धनी बनाउने कविलाई हामीले दिएको दरुवाको उपमा, जड्याँहाको उपहार र ट्वाकेन्द्रको कोशेलीले उनको ब्रह्मलीन भइसकेको आत्माको खिल्ली त उडारहेको छैनौँ हामीले? यो सोचनीय विषय छ। हामीले कटुवालमा दारुवाल र दानवत्व देख्यौँ तर उहाँभित्र बास बसेको साहित्यिक रसको घैलालाई कम नियालिरहेको त छैनौं? सभ्य जनले उनीउपर विचारशील हुनु न पर्ला र?

हरिभक्तलाई सम्झनु पर्ने दर्जनौँ कुराहरू छन्। सयौँ कवितात्मक पंक्तिहरू छन्। तर असार महिना (१८) हरिभक्त यस पृथ्वीमा झुल्केकाले पनि उनलाई सम्झनु परेको हो। उहाँको जन्म तिथिमै सम्झेर हामीले अपमान गरेका छैनौं भने उनका रचनाको सही पठन गरेर उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न ढिलो गर्नु हुँदैन। हरिभक्त अघिल्लै पुस्ताका साहित्यकार किन हुन् भने, उनले भूपि शेरचन, माधव घिमिरे, रत्न शमशेर थापाका समकालीन भएर सिर्जना मार्गमा क्रियाशील भए। उनी अघिल्लै पुस्तामा अब्बल पनि देखिए। पचासको दशकमा कलेज पढ्ने रहर अङ्कुरित हुँदा यस लेखकलाई पनि ‘यो जिन्दगी खै के जिन्दगी’ कविता मुटुमै गडेको थियो र लागेको थियो साँच्चै कवि त यिनै हुन्।

तत्कालीन भारतीय नेपाली एवं नेपाली समाजका जीवन्त ढुकढुकी, जसले जिन्दगीलाई हामीले भोगेजस्तो गरेर कवितामा बुने र भने यो जिन्दगी खै जिन्दगी, धोकाधडीपूर्ण तरिकाले लेखिएको इतिहासको उहिल्यै विपठन गरे ‘रहर’ कवितामार्फत ‘बा पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको’। कविले दूरदृष्टिसम्म चिहाउन सक्नुपर्छ भनिन्छ तर कटुवालको यो ‘फारसाइडेट भिजन’ जहिल्यै साहित्यिक अदालतको थुनछेक बहसमा विपक्ष बेन्चमा पुग्नाको कारण के हो? हृदय झङ्कृत बनाउन सक्ने कवि हरिभक्तको सबल पक्षलाई दुर्बल बनाउने प्रयास कुन प्रयोजनका लागि गरिएको हो? के इतिहासले कटुवालमाथि यति घोर अन्याय गर्न मिल्ला र ? व्यक्ति कटुवाल दरुवा हुन सक्लान् तर सहृदयी कवि दरुवा मात्र हुन सक्दैसक्दैनन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.