एउटा वर्जित कवि

कार्ल स्पिजवेगको पेन्टिङ


मेरा बा गाउँमा कुटो कोदालो गर्छन्
म बाको परिश्रमको कविता लेख्छु
हजुर विदेशी रक्सीले मात्तिएको जोडीको
रोमान्स देखाउनु हुन्छ
र, पिल्स खाने सल्लाह दिनुहुन्छ।

मेरी आमा गाउँमै चुलोचौको गर्छिन्
म आमाको पीडाको गीत लेख्छु
हजुर घटिया सेम्पुको विज्ञापन बजाउनु हुन्छ
र, ओभनमा खाना पकाउने तरिका सिकाउनु हुन्छ

मेरो भाइ कापी कलम किन्न नसकेर पाठशाला गएको छैन
म भाइको सपनाको कथा लेख्छु
हजुर चाउचाउ खाँदा घर उपहार परेको देखाउनु हुन्छ
र, कुनै अन्तर्राष्ट्रिय कलेजको प्रसार गर्नुहुन्छ

मेरी बहिनीको चोली च्यातिएर आङ देखिएको छ
म गरिबी र अभावको कुरा लेख्छु
हजुर कुनै सभ्रान्त बेश्याको
बक्षस्थल देखिने तस्बिर छाप्नु हुन्छ
र, बिकिनीको प्रचार गर्नुहुन्छ।

म हजुरलाई महंगा मदिरा पिलाउने
सामथ्र्य राख्दिनँ
त्यसैले मेरा रचना तपाईंका नजरमा अब्बल छैनन्

म हजुरलाई आफ्नै गाडीमा राखेर घुमाउने
औकात राख्दिनँ
त्यसैले वर्जित छन् मेरा सिर्जना तपाईंका सञ्चारमा

मसँग लुटाउने भरिलो जवानी पनि छैन
त्यसैले मेरा कविताले स्थान पाउँदैनन्
तपाईंको अखबारमा
तर, महाशय
मलाई सबथोक लुटाएर कवि हुनु पनि छैन

[email protected]

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.