नर्सरी

नर्सरी




मैले नयाँ जागिर पाएँ, एउटा पत्रिकाको अफिसमा। काम थियो ‘उपवन’ को सम्पादन। ‘उपवन स्वदेश दैनिकको शनिबारे परिशिष्टाङ्क थियो, जसमा साहित्यक रचना र समीक्षा छापिन्थे। साहित्यक समाचार पनि त्यसैमा छापिन्थे।

आफ्नो स्वभावअनुरूपको काम पाएकोमा दङ्ग थिएँ।

मलाई मेरो जीवनपद्धतिमा केही नयाँपन ल्याउनु जरुरी थियो भन्ने साथीभाइको सुझाव थियो। साढे तीनवर्षको सकसपूर्ण सङ्घर्षपछि नियतिसँग हारेको थिएँ। प्रत्येक साँसमा जीवनका लागि तड्पिएको मेरो छोरो पराक्रमले मलाई भर्खरै छोडेर गएको थियो। मेरो जिन्दगी यस मोडमा आएर पूर्णतामा दुर्घटित भएको थियो। रामाले भनेकी थिइन्, ‘छः वर्षपछि हामी फेरि रित्ता भएका छौँ, बाबा!’

मलाई लडेर पुनः उठ्नु थियो, हिमाल हेर्नु थियो, र नझुक्ने बन्नु थियो। घरमा पराक्रमको जन्मको, पहिलो हँसाइको, पहिलो बसाइको, पहिलो जन्मदिनको, पहिलो उभ्याइको, हिँडाइको, दास्रो जन्मदिनको अदि अनेक फोटाहरू फ्रेम गरेर लहरै राखेको थिएँ। अनि, एउटा बाबूको सपनाले कल्पेका, उसका भविष्यका तस्वीर पनि बनाउन लगाएको थिएँ सहरको एक नामी कलाकारलाई। यसरी, ऊको शिशुकक्षामा हुँदाको चित्र, उसको बालसुलभ चकचकको चित्र, उसको तरुण अवस्थाको चित्र, र उसको युवाअवस्थाको चित्रसम्म बनाउन लगाएँ, र सजाएँ भित्तैभरि। उसको त्यसपछिको उमेरको कल्पना गरेन मेरो मनले । सायद उसलाई जवान, अनि सधैँ जवानमात्रै हेर्ने चाहेको थियो मभित्रको एउटा बाबुको हृदयले।

तर फागुनको एक क्रूर दिन, तीन वर्ष दुई महिनाको उमेरमा पराक्रमले मलाई छोडेर गयो। य यससँगै गर्लम्म लढ्यो ती चित्रमा मैले कल्पना गरेको एउटा विपूल जिन्दगी। भत्किएँ, भत्किरहेँ। जिन्दगीको निस्सारता बिझायो। जीवनमा आफूलाई सबैभन्दा कमजोर मान्छेको कित्तामा उभ्याएँ र रोएँ। अरूलाई उत्प्रेरणाका भाषण दिँदै देशभरि हिँडेको मान्छे — ती सबै निरर्थक र निस्सार कुरा हुन् भन्ने ठानेँ। सधैँ सोध्थेँ आफैँलाई, किन शून्यवादी, विसङ्गतिवादी र निस्सातावादीहरू जन्मिए होला, र गरे होलान् अर्थहीन कुरा! आज आफैँलाई उनीहरूको उत्तराधिकारी घोषणा गरेँ, र निर्जन बगरहरूको पर्यटक बनाएँ।

रमा दुखिरहिन्, दुखिरहिन्। उनी पीडाकी पर्याय बनिन्। मैले उनको दुःख लाचारीका आँखाले हेरिरहेँ।

जीवनको टुटेको कडी जोड्नुथियो। अझै केही समय बाँचिरहन अभिशप्त हामीले केही गरिरहनु पर्ने पनि त थियो।

एक महिनापछि नयाँ जागिरमा पुगेँ।

‘उपवन’को संयोजक हुनु पनि केही कर्मचारीको हाकिम हुनुथियो। त्यस पृष्ठका लागि रिपोर्टिङ् गर्ने सम्वाददाता, फोटोग्राफर, प्रुफ रिडर र कपी एडिटरको त हाकिम नै भएँ। मेरो कोठो छुट्टै थियो। चिया खाजा ल्याउनेको पनि स्वतः हाकिम कहलिएँ।

जागिरमा लागेको दोस्रो दिन पत्रिकाका सम्पादक, यानि हामी सबैका बडाहाकिमले मलाई बोलाएर भने, ‘सर्, आफू मातहतका कर्मचारीलाई उनीहरूकै थान्कोमा राख्नुहोला। विभिन्न खाल्का मान्छे हुन्छन्। सर आफू लचिलो हुनुभो भने टाउकोमा टेक्छन्, टेर्दैनन्।’

कुरा त ठीक थियो, तर पनि झस्किएँ। धेरैपल्ट मुटु कमजोर भएको, र आफूभन्दा तलकालाई पनि सजिलै अँगालो मारिहाल्ने स्वभाव भएका कारणले विवादमा पर्दै आएको थिएँ। मलाई लाग्यो, ती कुराको पोल उनले थाह पाइसकेका रहेछन्।

काम सुरू भयो। सामग्री खूब आउँथे मेलमा। साहित्य खासै आउँदैनथ्यो। आएका कोरा सामग्रीमा साहित्य भर्नु पो रहेछ सम्पादन भन्नु! यो पनि बुझेँ।  ह«स्वदीर्घको वीभत्स प्रहसन पनि देखेँ। साहित्यभित्र राजनैतिक पार्टीको घुसपैँठ पनि देखेँ। आफ्नो विश्वदृष्टि लेख्नुभन्दा माउपार्टीले गरेका गल्तीको ढाकछोप गर्न व्यस्त साहित्यकारहरूको डरलाग्दो भिड देखेँ। एकपल्ट त मन्त्रीको फोन पनि आयो, ‘भाइ, उहाँ पौडेलजीको किताबको समीक्षा आउँछ एकजना प्राध्यापकज्यूबाट। त्यो जसरी पनि यही हप्ता निकाल्दिनुप¥यो।’

जसरी–तसरी ‘उपवन’ चल्दै गयो। त्यहाँ छापिएको सामग्रीभन्दा पनि म अर्थात त्यस पृष्ठको संयोजक लोकप्रिय हुँदै गएँ। मैले जे लेखेपनि फेसबुकमा दुई हजार लाइक र सय कमेन्ट आउन थाले। फ्रेण्ड रिक्वेष्ट त कति हो कति। हरेक कार्यक्रममा निम्तारु भएँ। साहित्यका महोत्सवहरूमा हुने गम्भीर बहसहरूको सहजकर्ता भएँ। मलाई खासै केही नआए पनि ‘आउने’ मा कहलिएँ। कसैकसैले त समालोचकै पनि भनिदिए।

घाउहरू पुरिँदै गए। जीवन सुन्दर हुँदै गयो। मैले लय समातेँ।

काम थालेको दुई महिना पूरा भयो। मैले यस बेलासम्म कमजोर मुटु भएको आरोप खेप्नुपरेन। ‘उपवन’ को संयोजनका लागि जस् पाइरहेँ। सम्पादक पनि दङ्ग देखिए। हामी चियामा सँगै निस्कन थाल्यौँ। कहिलेकाहीँ समारोहहरूमा पनि सँगै गयौँ। उहाँले मलाई सँगै लिएर जाँदा मैले आफ्नो कद बढेको महसूस गरेँ।

दुई महिनापछि मेरो कार्यकक्षमा चिया–खाजा ल्याउने बहिनीको बिहे भयो, र उनी पोखरा गइन्। केही दिन बाहिर चोकतिर गएर चिया खायौँ, तर यो व्यवहारिक भएन। म टेबलमा हरेक दिन अपराह्न तीन बजेदेखि आठ जबेसम्म काम गर्थेँ, र यी पाँच घण्टामा बीसपल्ट कालो चिया खान्थेँ। चियाकै लागि बीसपल्ट चोकतिर जान पनि व्यवहारिक थिएन। त्यसैले नयाँ कर्मचारीको खाँचो टट्कारो देखियो। मजस्ता चियाबाज अरु पनि थिए, तर रातिचाहिँ चिया खाने ममात्रै हुन्थेँ। उनीहरू चुरोट खान्थे। तैपनि, उनीहरूले पनि स्वरमा स्वर मिसाएर सम्पादकलाई भने, ‘नयाँ मान्छे चाहियो।’

केही दिनपछि एउटा केटो आयो। उमेरले त्यही सत्र–अठारको हुँदो हो।

आएको दिन मेरो कार्यकक्षमा आयो, र नमस्कार ग¥यो। मैले चियाको नियम बताएँ ः कालो चिया, चिनी बिनाको। खाजाको पनि बताएँ। खाजा एकपल्ट, चिया बीसपल्ट। उसको अनुहारमा भने एकपल्ट मात्रै हेरेँ। मैले फेरिपल्ट हेर्न सकिनँ उसको अनुहार। बरु ‘उपवन’का लागि आएका सामग्रीमा देखिने भाषाको चीरहरण हेरेँ।

मैले उसको अनुहार नहेरेर नै करिब एक महिना बिताएँ होला। हेरिनँ भन्दा हेरेँ, तर गहिरिएर चाहिँ हेरिनँ।

ऊ कौशलटार बस्दोरहेछ, म ठिमी। हाम्रो अफिस थियो गौशालामा। एक दिन साँझ ऊ अफिस आइसकेपछि अचानक कफ्र्यू लाग्यो र ऊ घर जान नसक्ने भयो। मैले प्रेसको विशेष पास बनाएँ, र उसलाई मेरो मोटरसाइकलमा हालेर घर पु¥याइदिने भएँ।

ऊ मेरो मोटरसाइकलमा चढ्यो। हामी हुइँकियौँ। मैले उसलाई अब केही निजी कुरा सोधेँ ः घर कता, घरमा कोको हुनुहुन्छ, बाबाआमा के काम गर्नुहुन्छ, ऊ किन काठमाडौँ आयो, र कसरी हाम्रो पत्रिकामा आयो, कस्तो लाग्दैछ काम, केही समस्या छ कि छैन, आदि।

‘हामी नुवाकोटका हौँ। भुइँचालोमा बुवा बित्नुभो। आमा घरमै हुनुहुन्छ। उहाँसँग एउटी बहिनी छ। गाइबाख्रा छन्, सानो खेत छ। आमा घरैमा काम गर्नुहुन्छ। मलाई नुवाकोटबाट सिपी अङ्कलले काठमाडौँ ल्याउनुभएको हो, र यो जागिरमा लाइदिनुभएको हो। म कौशलटारमा अङ्कलकै घरमा बस्छु।’

हामीलाई प्रहरीले जडिबुटीमा रोक्यो। मैले प्रेस पास देखाएँ। तैपनि भन्यो, ‘कौशलटारमा प्रदर्शन छ अहिले। एकछिन हाम्रै कार्यालयमा बस्नुस्। त्यहाँ साम्य भएपछि म पठाइदिन्छु।’

हाम्रै सुरक्षाका लागि थियो, मैले मानेँ। प्रहरी कार्यलयको एउटा सानो कुनामा एउटा खाली कुर्सि थियो। म त्यही बसेँ। केटो छेउमा उभ्भियो।

मैले उसलाई बसाएर आफू उभियौँ कि भन्ने सोचेँ। तर सम्पादकको अनुहार सम्झिएँ, र हाकिम नै भैरहने निधो गरेँ।

अब भने मैले त्यस बालकको अनुहार नहेरी धरै भएन। असुरक्षाको यस घडीमा मैले चिनेको भन्नु नै ऊमात्रै त थियो। मैले हेरेँ उसको अनुहार!

मेरो भित्तामा झुण्डिएका अनुहारमध्ये एक कसरी आयो यहाँ?

मैले यताउती हेरैँ। यहाँ भने मेरो सम्पादक थिएन। ऊ आउने सम्भावना पनि थिएन।

मैले बालकलाई छेउमा तानेँ हातले, र म बसेकै कुर्सीको एकछेउ बसाएँ।

ऊ उम्कन खोज्यो। अलि अलि डरायो पनि। मैले तानेर बसाएरै छाडेँ।

उसले पुलुक्क मेरो अनुहारमा हे¥यो। मैले मेरो घरको भित्तोको एउटा तस्बीर सम्झिएँ।

मेरो पराक्रमको किशोरावस्थाको तस्बीर! त्यो तसबीर हेरेर कसरी विधाताले यो बालक बनायो होला नुवाकोटमा? अनि, किन त्यस बालकलाई मेरो मातहतको कर्मचारी बनाएर पाठायो? किन ती सम्पादक मेरा हाकिम बने, र किन उनले मेरो मनको कोशीमा शब्द र मर्यादाका बाँध हाले?

म तरल तरल बग्न थालेँ । यस बखत मलाई मेरो सम्पादकको अनुहार संसारकै क्रूरतम तानाशाहको अनुहारजस्तो लाग्यो।

मैले यताउती हेरेँ। कोही थिएन । मैले बालकको अनुहार आफ्नो दाइने हातले आफूतिरै घुमाएँ। ऊ उम्कन खोज्यो, फेरि। मैले पुनः घुमाए, र हामीले आँखा जुधायौँ।

‘बाबू!’ मेरा ओठबाट निस्कियो।

म पहिरो बनेँ। उसका निर्दोष गालामा मैले आफ्ना ओठहरूले एक हरफ कविता लेखेँछु। मनै न हो — ऊ पनि तादी बन्यो।

०००

सम्पादकले एक दिन भने, ‘कस्तो अप्ठेरो। घर नगै होलाजस्तो छैन। आमा अलि बिरामी भन्ने खबर अयो। तर जान पनि कसरी जौँ। यहाँ काम हेर्ने मान्छे छैन।’

मैले कहिलेकाहीँ एक महिनासम्म निरन्तर रूपमा कुनै पनि दैनिक पत्रिका नहेर्ने र महिनादिनपछि एक्कासि हेर्ने गरेको छु। त्यसो गर्दा पनि देशको समाचार अस्ति जहाँ छोडेको, त्यहाँबाट एक इन्च पनि अगाडि नबढेको पाएको छु। आकाश खस्दैन भन्ने मैले बुझेँ र त्यही सोचेर भनेँ सम्पादकलाई, ‘सर्, आमाको स्वास्थ्यको कुरो हो, जानुस्। समाचार म हेरौँला नि। सम्पादकीय सरले घरबाटै लेखेर मेलमा हाल्दिनुहोला।’

‘सरलाई भार पर्छ नि, ‘ उनले भने।

‘के भार पर्नु? फेरि, सरको लागि त मैले केचाहिँ गर्दिनँ होला?’

‘भाइ वीरगञ्जमा छ। यसलाई पो पठाउँ कि घरतिर भन्ने सोचेको छु।’

‘सर जेठोबाठो। सर आफैँ गएजस्तो त कहाँ हुन्छ?’

निकै बेरको बार्तापछि उनले मेरो कुरा माने। उनले बिदा लिए, र गए दोलखा।

केही दिनका लागि अब मेरो काम चार घण्टाबाट सात घण्टा भयो। चियाको सङ्ख्या पनि बढ्यो। चियाको सङ्ख्यासँगै मेरो कक्षमा केटोको प्रवेश पनि बढ्यो।

बिस्तारै सङ्कोचहरूबाट ऊपनि मुक्त हुनथाल्यो। मैले उसलाई नामले कहिल्यै बोलाइनँ। त्यो बेलासम्म उसको नाम सोधिनँ पनि, थाहै पनि भएन। अब त आवश्यक पनि लागेन। केही दिन ‘बाबू’ भनेर बोलाएँ। अरु कर्मचारी पुलुक्क हेर्थे मेरो अनुहारमा। कतिले आफ्नै भतिजो ल्याएर जागिरमा हाल्यो पनि भने होलान्। मुखैचाहिँ खोलेनन्।

अनि केही दिनपछि त ‘छोरो!’ भनेर बोलाएँ। मलाई निर्वाण प्राप्त गरेजस्तो लाग्यो।

सुरुमा त अचम्म मान्यो। केही लजायो पनि। तर धेरैपल्ट बोलाएपछि बानी प¥यो। अब त मलाई उसको नामको आवश्यकता पनि परेन।

सम्पादक अझै दोलखामै थिए। सात दिन भनेको, बिदा लम्बियो। दशौँ दिनमा पनि आएनन्। फोन गरेका थिए, मैले त्यस्तो बितिगााको केही छैन, आमालाई स्वस्थ बनाएरै मात्रै आउँ भन्ने सल्लाह दिएँ। सम्पादकीय पनि आफैँ लेख्न थालेँ। दुई दिनपछिबाटै उनले त्यो पनि पठाउन छोडेकै त थिए, आखिर।

एक साँझ मलाई कार्यलायमा बसिरहन मन लागेन। ‘उपवन’  दिउँसै तयार भयो, राति अबेर कुनै ठूलो घटना घट्ने र अन्तिम पल प्रमुख समाचारै फर्नेुपर्ने कुनै सम्भावना थिएन। ‘प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा’ भनेर प्रमुख समाचार राखेँ । साइडमा ‘१९५० को सन्धी पुनरावलोकन सम्बन्धी विषय नउठाइने,’ तथा, अर्को कुनामा ‘भारतबाट थप बिजुली मागिने सम्भावना’ भनेर खबर बनाएँ। तल्लो छेउमा एन्सेलको विज्ञापन राखिदिएँ, र पहिलो पानो भरेँ। अरु पाना त कसैले नहेरे पनि ठिकै जान्थे।

कार्यालय परिसरबाट बाहिर आएँ, र मोटर साइकल स्टार्ट गरेँ। परिसरबाहिर पुगेपछि मनमा केही सोच आयो, र मैले मोटरसाइकल बन्द गरेँ। स्ट्याण्ड लगाएँ, र आफ्नो कार्यकक्षामा फर्केर केटोलाई भनेँ, ‘छोरो, हिँड मसँग। जौँ।’

‘सर!’

‘हिँड। आज यहाँ खासै काम छैन  नि। सबैले खाजा खाइहाले। राति अबेरसम्म चिया खाने म नै हो। म नै हिँडेपछि तिम्रो के काम यहाँ? हिँड।’

लुरुक्कै मान्यो। नमानोस् पनि किन! म उसको हाकिम थिएँ। र पछिल्लो समय निकै माया पनि पाइरहेको थियो उसले मसँग।’

मैले बाइकमा राखेँ र उसलाई न्यूरोडतिर हुइक्याएँ। गौशालाबाट हामीलाई जानुपर्ने थियो भक्तपुरतिर। बीचबाटोमा उसले सोध्यो, ‘सर, किन यता?’

‘सानो काम छ छोरो, न्यूरोडमा। त्यहाँबाट घर जौँला।’

‘हस्।’

मैले उसलाई न्यूरोडको पशुपति प्लाजा पु¥याएँ। भ¥याङ उक्लँदैगर्दा भनेँ, ‘घरमा मेरो तिमीजत्रै छोरो छ। उसलाई लुगाफाटा किन्दिनु छ। तिम्रो नाप उसको जीउको नापसँग मिल्छ। त्यसैले तिमीलाई पनि लिएर आएको।’

‘हस्,’ उसले भन्यो। उसका आँखामा कुनै उत्साह भने मैले देखिनँ।

प्लाजाका विभिन्न पसलमा गएर मैले एउटा सुन्दर जिन्सको पेन्ट, एउटा टी–सर्ट, एक जोडी  जुत्ता र दुई जोर मोजा किनेँ, उसको नापमा। उसलाई त्यो सामानको झोला बोक्न अनुरोध गरेँ।

त्यसपछि, हामी रामेश्वरम मिठाई पसलमा पुग्यौँ।

‘के खाने?’

ऊ अल्मलियो। मलाई हेरिमात्रै रह्यो। मैले पनि केही बेर हेरेँ उसलाई, र एउटा मेचमा बसाएँ।

‘भन न के खाने?’

‘सर, अघि भर्खरै खाजा खाएको। ‘

त्यस दिन खासै खाजा खाएका थिएनौँ हामीले। मलाई थाह थियो, ऊ भोकाउनुपर्ने समय भैसकेको थियो। तर यसले केही भन्ने छाँट मैले  देखिनँ। त्यसैले, मैले उसको लागि र मेरै लागि पनि समोसा चाट र एक–एकवटा रसबरी मगाएँ।

फर्कँदा कौशलटार चोकको एक किनारमा मैले मोटरसाइकल रोकेँ। ऊ उत्रियो। म पनि उत्रिएँ। साँझ झमक्कै परिसकेको थियो। सडकमा गुडेका गाडीको बत्तीले नदेखिने ठाउँमा लगेँ उसलाई मैले।

हातको सामान मलाई दिँदै भन्यो, ‘सर्, सामान।’

मैले यताउती हेरेँ, उसलाई नजिकै तानेँ, हात समातेँ र भनेँ, ‘छोरो, यो सामान तिम्रो। मैले किनिदिएको।’

ऊ अवाक् भयो। मैले झन् नजिक तानेँ, र अँगालोमा बेरेँ उसलाई। साँझको यस अन्धकारमा मभित्र निरन्तर उठिरहेको पितृत्वको ज्वारभाटाले निथु्रकै भिजाएँ उसलाई, र मनभित्र लामो समयदेखि विद्यमान रहेको एउटा रिक्तता मेटाएँ। अँध्यारोमा मैले उसको अनुहार देखिनँ, तर कल्पना गरेँ मेरो सपनाको त्यही दिव्य अनुहारको, जो मेरो भित्तोमा अहिले विद्यमान थियो, र चित्रकारले हृदयले कुँदेका ती एक जोडी आँखाको, जो मतिर भरोसाले हेरिरहेका थिए, तर तिनको भरोसा मेरो पुरुषत्वले कहिल्यै पूरा गर्न सकेको थिएन र म संसारकै लाचार पुरुषहरूको दर्जामा दर्रिएको थिएँ। मैले एउटा काखे शिशुको भोक–प्यासका सपना पनि पूरा गर्न सकेको थिइनँ।

र मैले, च्वाप्प म्वाइ खाइदिएँ, उसका गालामा।

ऊ काठमाडौँ आएपछि घटेको, यसप्रकारको यो पहिलो घटना थियो  सायद। अँध्यारोको बर्को थियो, कसैले देखेन। मैले अनुमान गरेँ, उसका आँखा ओसिला भएका छन्। मेरा आँखा भने सुकेको धेरै भएको थियो। म रोइनँ। भक्कानो थाम्न र थामिरहन बानी परेको थिएँ।

धेरै बेर अँगालोमा बाँधिरहेँ उसलाई, र अन्त्यमा भनेँ, ‘जाऊ छोरो।’

निकै, निकै नै गारोसँग ऊ मबाट छुट्टियो र अध्यारोमा मिसियो। म ठिमीतिर लागेँ, र सधैँझैँ गीत गाउँदै कोठमा पसेँ मानौँ केही भएको छैन बाहिर।

राति उसको अङ्कलको फोन आयो। मैले सबै कुरा खुलस्तै भन्दिएँ। लुगाफाटाका बारेमा पनि स्पष्टीकरण दिएँ। उनी खुसी भए, र छोरोले माया गर्ने अभिभावक पाएकोमा प्रसन्नता व्यक्त गरे। भने, ‘सर्, मलाई भरोसा बढ्यो। हजुर त्यहाँ रहँदासम्म यसको पनि आत्रभाउ रहने भयो। सम्पादकलाई खासै निको मान्दैन। हजुरको कुरा गरिरहन्छ।’

वार्ताकै क्रममा थाह भयो, उनी केटोका आफ्नै काकाचाहिँ होइन रहेछन्। चिनजानका गाउँले रहेछन्। उनलाई पनि दुखदुखै रहेछ, र केटोको उपस्थितिले अतिरिक्त भार थपेको रहेछ।

कुरै कुरामा मैले उसलाई मेरै घरमा आफूसँगै राख्न पाए क्या राम्रो हुन्थ्यो भन्ने आशय व्यक्त गरेँछु। उनले भने, ‘ऊ मान्यो भने त भैहाल्छ नि। ‘

भोलिपल्टदेखि अफिसमा मलाई नयाँ केही अनुभव हुन थाल्यो। लाग्न थाल्यो मेरो छाती हिमपहिरो हो, जो पग्लिरहन्छ, बगिरहन्छ। भएभरको हिउँ सबै बग्छ, एक छिन् चट्टान बन्छ छाती, र फेरि माथिबाट थाकका थाक बर्षन्छ हिउँ र फेरि बग्न थाल्छ हिउँपहिरो, उसै गरी। मेरो कोठाको ढोकाको कापबाट जब जब त्यो केटोलाई यताउती हिँडेको देख्छु, मलाई पुनः मेरो भित्तोको उही चित्रको याद आउँछ, र म फेरि संसारकै कमजोर पुरुष बन्न पुग्छु। म बुझ्दिनँ उसलाई कस्तो हुन्छ, अथवा मेरो अवस्थाको जानकारीसम्म पनि उसलाई छ छैन। यसरी सोच्दा दुःखी पनि हुन्छु।

भोलिपल्ट निकाल्नुथियो परिशिष्टाङ्क। मूल समाचारको काम सकेर म ‘उपपन’ को काममा लागेँ। परामनोविज्ञानका बारेमा एक जना नाम चलेका प्राध्यापकबाट एउटा क्लिष्ट आलेख आएको थियो। भाषिक त्रुटि अनगिन्ती थिए। कुरो के थियो, म आफँै थाहा पाइरहेको थिइनँ। मेरो रसअनुसार त्यस लेखमा कुनै काव्यिकता, कुनै सरसता, कुनै माधूर्य, भाषाको लालित्य, अथवा तर्ककै विलक्षणता — अहँ, केही पनि भेटिरहेको थिइनँ। तर सम्पादकले आफ्नो रस खोज्नु हुँदैनथ्यो आचारसंहिता अनुसार। लागिरहेथ्यो मानौँ, मध्यान्तरमा हलो बिसाएको भोको हली हुँ म, र मलाई निस्ता चिउराको खाजा दिइएको छ, र म खान विवश छु।

छः बजेतिर फ्याट्ट बत्ती गयो। यस्तो भैरहन्थ्यो। बत्ती गएपछि काम अवरुद्ध हुन्थ्यो, र हामी सब छतमा जान्थ्यौँ। अँध्यारो काठमाडौँको दृश्य हेर्दै कोही चुरोट खान्थे, कोही राजनीतिको कुरो गर्थे र कोही पत्रिका प्रशासनको आलोचना गर्थे।

निस्पट्ट अँध्यारो थियो सबैतिर। मोबाइलको बत्ती बालेर मैले केटोलाई आफ्नो कार्यकक्षमा बोलाएँ, र छेवैमा बसाएँ। फेरि जुरुक्क उठाएँ, र काखैमा राखेँ।

फ्याट्ट बत्ती आयो। झलल उज्योलो भयो परिसर। केटो मेरो काखैमा थियो। हरर भवनभित्र दुगुर्नेहरूमध्ये केहीले देखे। मैले केटोलाई हत्तपत्त आफ्नो कुुर्सीबाट फ्याँके, र बाहिर जान आदेश दिएँ। हड्बडीमा ऊ दैलोको ठेलोमा ठोक्कियो र करिडोरमा लड्यो। माथिबाट आउँदै गरेकामध्ये केहीले देखे उसलाई। ऊ उठ्यो, र किचनतिर लाग्यो। मैले चिहाएर हेरेँ, उसको अनुहारमा लाजमिश्रित मन्द हाँसो देखिन्थ्यो।

केटो लड्यो, त्यसमा म पनि दुखी भएँ, तर ऊ मेरो काखमा भएको कुराको के व्याख्या हुने हो भोलिदेखि, त्यसबाट  म बढी दुखी भएँ। त्यस दिन म जानी जानी अबेरसम्म बसेँ अफिसमा ताकि केटो आफ्नै सुरले निस्कियोस्। अबेर घर पुगेर सुतेँ। निन्द्रा परेन।

भोलिपल्ट अफिस सधैँझैँ ‘सामान्य’ नै रह्यो। एउटै असामान्य कुराचाहिँ के भने, मेरो चिया आधा सङ्ख्याले घट्यो।

भोलिपल्ट सम्पादक आइपुगे। मलाई अफिस बोलाएर आफ्नो पनि जिम्मेवारी हेरिदिएकोमा र कुनै बाधाबिना पत्रिका निकालेकोमा धन्यवाद दिए। मैले पनि आमाको हालखबर सोधेँ। सबै कुरा सकिएपछि उनले भने, ‘मैले केही नराम्रो सुनेँ नि। ‘

‘नराम्रो केही होइन सर। चिया लिएर आएको केटो दैलोमा अल्झिएर लढ्यो।’

‘मैले अरु पनि केही सुनेँ।’

‘हजुर, सर?’

‘मैले पहिल्यै भनेको थिएँ, आफू मातहतका कर्मचारीलाई टाउकोमा टेकाउनु हुन्न भनेर। तपाईंले बिर्सनुभयो सायद।’

मैले केही पनि भनिनँ।

‘यो पल्टलाई छोड्दिएँ। फेरिपल्ट यस्तो नहोस्।’

म निस्किएँ। पन्ध्र दिन उसको कामको अतिरिक्त बोझ बोकेको थिएँ। आज आएर यस्तो धम्की पाउँदा मन खिन्न भयो।

भोलिपल्टदेखि मेरो काम गर्ने शैलीमा परिवर्तन आयो। म चिया पनि अब कम खान थालेँ। मैले केटोलाई वास्ता पनि गरिनँ। ऊ पटकपटक आइरह्यो मेरो कार्यकक्षमा। मैल औँलाले इशारा गरेरै उसलाई धपाइरहेँ। ऊ अचम्म मानिरहेको थियो सायद यो एक्कासि आएको परिवर्तन देखेर। मैले व्याख्या गरिनँ।

यसै गरी केही दिन बिते। मलाई यो कार्यालय यातनाशिविरजस्तो लागिरह्यो। काममा मन पटक्कै गैरहेको थिएन। त्यो केटोलाई देख्दा पनि बेलाबेला त झनक्क रिस उठेर आउँथ्यो। फेरि तुरन्तै शान्त पनि भैहाल्थेँ। उसको दोष थिएन आखिर।

केही समयपछि एकदिन, खै के के आयो मनमा, म कार्यकक्षमै रोएँछु। फेसबुकले पुराना याद सम्झाएको थियो। पराक्रम झल्झली आइरहेको थियो आँखामा। हाम्रै काखमा, हेर्दाहेर्दै कसरी ऊ धरती भएको थियो! जति बाँच्यो, केही नमाँगेरै बाँच्यो। र जब गयो, चूपचाप गयो। मैले सोचेँ, ‘बाबू, यी तीन वर्षमा एकपल पनि तिमी आमाबाट टाढा बसेका थिएनौ। तिमीलाई एक्लै बस्ने अभ्यासै थिएन। यत्रो भवसागरको बाटो तिमी एक्लै कसरी गयौ? कसले समाउँछ तिम्रा हात? को छ त्यहाँ? कस्तो अन्धकार होला उता? आमा नभएको ठाउँ तिमी कसरी पुग्यौ बाबु?’

मेरो कार्यकक्षको झ्याल खोलेर पश्चिम हेर्दा पशुपतिको जङ्गल देखिन्थ्यो। त्यहीँ त हो मैले उसलाई धरतीको जिम्मा लाएको! मैले फेरि त्यो निर्जन बन सम्झेँ, जहाँ उसको पार्थीव शरीरलाई मैले माटोको काख दिएको थिएँ। हामी झलमल घरको न्यानो कोठामा थियौँ। ऊ कसरी बसेको होला त्यस निरव वनमा एक्लै…

हजार पृथ्वी आएर बज्रिए छातीमा। मर्यादाका सम्पूर्ण पर्खाल तोडेर बग्यो हृदयको आवेग। म अफिसमै ‘ह्वाँ’ गरेर रोएँछु। केटो दौडँदै कोठाभित्र पस्यो र मलाई समायो। ऊ अँँगालोमा आएपछि म शान्त भएँ। मेरो पराक्रम, मसँग भएको अनुभूति गरेँ।

भोलिपल्ट हाकिमले बोलाए माथि। गएँ।

‘खबर सुनेँ फेरि।’

‘अब यो पनि सुन्नुस्। मलाई खानुछैन तपाईंको जागिर। र त्यो केटो पनि आउँदैन भोलिदेखि।’

चल्दै गरेका काम टेबलमै छोडेर म बिहिरिएँ। साथमा केटोलाई पनि लिएर गएँ।

उसको अङ्कलसँग सल्लाह गरेर उसलाई पनि मैले आफ्नै घर लगेँ। रमालाई त सबै कथा थाहै थियो। उनले आमाको माया दिइन् उसलाई।

हामीले आफ्नै बारीमा बोटबिरुवा, फलहरू र फूलको नर्सरी लागाएका छौँ। ऊ बिहान कलेज जान्छ। एघार बजेपछि नर्सरी पुग्छ। हामी बिरुवाहरूसँग प्रेमपूर्वक खेल्छौँ। हामीसँगै खेल्छन् चराहरू, माहुरीहरू भँवराहरू। हामीसँगै वयली खेल्छ बतास। यहाँ कसैका मर्यादाले कसैलाई छेक्दैन। यी बिरुवाका बीचैबीच उभिएर हामी माया गर्छौं। यी बिरुवाले हाम्रो मायाको पोल कसैलाई सुनाएका छैनन् आजसम्म।

र हरेक साँझ म कोठाको भित्ताका रहेका अनुहारसँग दाँज्छु, मेरो बढ्दै गएको छोरोको अनुहार। ऊ एकदिन ठूलो हुनेछ, तर कहिल्यै बूढो हुनेछैन।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.