म्यादी सपना


काठमाडौं प्रहरी परिसर टेकुको आँगनमा दुई युवती हिक्कहिक्क रोइरहेका छन्। अनुहार हेर्दा लाग्छ, उनीहरू दिदीबहिनी हुन्।  भर्खरै दुई जना युवाले आपसमा कुरा गरे, ‘कठै बिचरा बहिनीहरू, मेरो जागिर यिनीहरूलाई दिन मिल्ने भए कस्सम म दिइदिन्थेँ।’

केही समयपछि रिजल्ट हेर्न आएकाहरू घर फर्के। ती दुई दिदीबहिनीले पनि दोपट्टाको छेउले एकले अर्काको आँशु पुछे। अनि केही नबोली हिँडे कोठातिर।

हिजो राति दिदीले भनेकी थिई, ‘बुझिस् कान्छी, म्यादी प्रहरी भयो भने त दुई महिनामै ३०/३५ हजार कमाइ हुन्छ रे। सहकारीमा दिनभरी पसल–पसलबाट पैसा उठाउँदा जम्मा ७ हजार दिन्छ।’

‘पैसा पाएँ भने सबभन्दा पहिला त्यो अगाडिको पसलको साहुको उधारो तिरिदिन्छु। सामान लिन जाँदा कस्तो खाउँलाझैं घुरेर हेर्छ। अनि आमालाई यत्ति धेरै फलफूल ल्याइदिन्छु। भाइलाई मोटुपत्लुवाला झोला पनि किन्दिन्छु।’

कान्छीले भनेकी थिई, ‘बाबाको स्टकोट च्यातिएको कति दिन भइसक्यो। म त बाबालाई एउटा स्टकोट किन्दिन्छु। कलेजको तीन महिनाको फिस तिरिदिन्छु। अनि पैसा बच्यो भने यो साल तीजमा लगाउन एउटा लेहंगा किन्छु। कान्छो मान्छेलाई जेठो मान्छेको जति दायित्व हुन्न नि है दिदी।’

भुइँमा सुतेकी छोरीहरूका कुरा सुनेर पलङमा पल्टेका बाबाले  खोकेजस्तो गरे।

उनीहरू भोलिपल्ट हिँडेरै सोह्रखुट्टे पुगे। कोठामा पोहोरको भूँइचालोमा परी शरीरको तल्लो भाग नचल्ने भएकी आमा छोरीहरूको बाटो कुरेर बसेकी थिइन्। कोठामा पुग्नासाथ भाइले दिदीहरूको ब्याग खोतल्यो। दिदी अगाडिको पसलमा गई र साँझ पकाउन उधारोमा चामल र सोयबिन बोकेर आई।

छोरीहरूको रिजल्ट सुन्न बा आज अलि चाँडै कामबाट फर्के। कोठाको कुनामा नाम्लो फाले। बाबाको उत्सुक अनुहार देखेर छोरीहरूले फेरि आफ्नो मन थाम्न सकेनन्। हिक्कहिक्क गर्दै दुवैले बाबालाई अँगालो हाले।

बाबाले मैलिएको ढाकाटोपी पलङमा राखे। दुई हातले दुई छोरीको टाउको सुम्सुम्याउँदै भने, ‘गरिबको जिन्दगीमा सपनाहरू म्यादी हुन्छन् छोरी, आज देखिन्छन् पानीको फोका जसरी, भोलि फेरि प्याट्ट फुटी बिलाइजान्छन्।’

बाबाको कुराले छोरीहरुको हिक्हिकी झन् बढ्यो। कार्पेटमा आँशुका थोपा खसिरहे– तप्प…तप्प…तप्प…

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.