तिमीसँग त्यहाँ त्यही समयमा
भेट नभइदिएको भए के हुने थियो?
आकाशमा ताराहरू लाग्ने थिए होला
तर ताराको चमक अलि मधुरो लाग्ने थियो
चन्द्रमा उसै गरी देखिन्थ्यो होला
तर उसमा केही बढी दाग देखिन्थ्यो होला
यो बाटो उसै गरी ओहोरदोहोर गर्दथे बटुवा
तर अलि चिर्चिराहट आउँथ्यो होला उनीहरूको आवाज।
कुरा मिल्ने साथी पाउँदा त
गाडीमा गरेको यात्रा छोटो लाग्छ
तिमी त मन मिल्ने, भाइब्स मिल्ने मान्छे
यो जिन्दगीको समय बहुत छोटो लाग्ने वाला छ!
यो जिन्दगीले तिमी र मेरा लागि
ह्याप्पिनेस अफरमा केही दशक समय बोनस दिनेछ
अनि
तिमीलाई लाग्ने छ अझै केही समय
सँगै बिताउन पाए
तिमिलाई लाग्ने छ अझै केही समय
सँगै बोलचाल गर्न पाए
नछुट्टिन पाए
नटाढिन पाए
तिमी र म!
तिम्रा ती सुन्दर आँखाले
यो सुन्दर संसार थप सुन्दर देख्ने छ
तिम्रा ती ओठले थप मिठो शब्दहरू उच्चारण गर्ने छन्
थाहा छ?
गायकको आवाजले संगीत पाएपछि कति मिठो सुनिन्छ!
चित्रले रंग पाएपछि कति जीवन्त देखिन्छ
कलमले सुन्दर शब्द पाएपछि कति मार्मिक शब्द कोर्छ
तिमी र म उसै गरी
एकअर्काका सहारा हुँदा
समय कति सुन्दर बन्ला?
तिमीसँग त्यहाँ, त्यही समयमा!
घडीमा काटा अस्थिर हुन्छन्
ब्याट्री बिना
सुन्दर रथ अस्थिर हुन्छ
पाङ्ग्रा बिना
यो दिन र रात अपूर्ण हुन्छ
पृथ्वीको गति बिना
तिमी र म?
तिमीसँग त्यही समयमा!
तिमी किताब हुनेछौ
तिम्रा पाठक हुनेछन्
तिमी संगीत हुनेछौ
तिम्रा श्रोता हुनेछन्
तिमी कथा हुनेछौ
तिम्रा दर्शक हुनेछन्
तिमी पात्र हुनेछौ
तिम्रा प्रशंसक हुनेछन्
तर
तिमी प्रेम हुनेछौ
तिम्रो लागि म प्रेमी हुनेछु
जहाँ तिमी हुनेछौ त्यहाँ म हुनेछु
तिमीसँग त्यहाँ, त्यही समयमा!
लेखिएका हर शब्दहरूले किताबको आकार पाउँदैन
बनाइएका हर प्रश्नहरूले प्रश्नपत्रमा स्थान पाउँदैन
सबै खोलाहरू नदीसम्म पुग्ने रहर गर्दछन्
तर
सबै खोला नदीसम्म पुग्न सक्दैनन्
बगिरहने नदीमा कसैले फोहोर नमिसाउँदा
नदी आफै सफा हुँदै जान्छ
पोखरीलाई अरूले साफा गर्नु पर्छ।
मलाई एक फेर रहर छ
सुन्दर एउटा चौतारी
तिमी र म
तिम्रा आफ्नै गन्थन
मेरा आफ्नै रहर
तिम्रो घुर्की
मेरो मौनता
तिम्रो शिर
मेरो हातका औला!
तिम्रो शिरको मुलायम कपाल
मेरो हत्केला
मेरो काँध
तिम्रो शिर
सँगै साथमा
पोखरीको छेउमा
मेरो काख
तिम्रो विश्राम
मलाई फेरि एक फेर रहर छ
त्यही सपना देख्न।